सुगमका चिकित्सकलाई मात्र मानपदवी

सुगमका चिकित्सकलाई मात्र मानपदवी

काठमाडौं : सरकारले दुर्गम क्षेत्रमा बसेर स्वास्थ्य सेवा पुर्याउने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको साटो सुगम क्षेत्रमा कार्यरत चिकित्सकलाई मात्रै मानपदवी र पदक दिएको छ। मानपदवी र पदकमा दुर्गम तथा विकट क्षेत्र निल भएको छ।

कर्णाली र प्रदेश ७ मा कार्यरत कुनै पनि स्वास्थ्यकर्मीलाई मानपदवी वा पदक प्रदान गरिएको छैन। गुणस्तरीय स्वास्थ्य सेवा नपुगेको दुर्गम क्षेत्रमा खटिएका बेला सरकारले उचित मूल्यांकन नगरेको स्वास्थ्यकर्मीको गुनासो छ। संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिएका मानपदवी एवं पदकद्वारा विभूषित हुने धेरै चिकित्सक काठमाडौंमै कार्यरत छन्। दुई जना नर्सलाई मानपदवी प्रदान गरिएको छ।

सुप्रबल जनसेवा श्री तृतीय श्रेणीबाट विभूषित चिकित्सकमध्ये ११ जना काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत छन्। राष्ट्रिय चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गणेश गुरुङ, धुलिखेल अस्पतालका प्रमुख डा. राजेन्द्रप्रसाद कोजू, नेपाल प्रहरी अस्पतालकी डा. आशा सिंह विभूषित भएकी छिन्।

यसैगरी महाराजगन्ज मेडिकल क्याम्पसका प्रमुख डा. प्रतापनारायण प्रसाद, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल, आँखारोग विशेषज्ञ डा. रामप्रसाद पोखरेल र त्रिवि शिक्षण अस्पतालकी डा. गीता गुरुङ छन्। कान्ति बाल अस्पतालका निर्देशक डा. गणेशकुमार राई, त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटालाई पनि सुप्रबल जनसेवा श्री प्रदान गरिएको छ।

कर्णाली र प्रदेश ७ मा कार्यरत कुनै पनि स्वास्थ्यकर्मीलाई मानपदवी वा पदक प्रदान गरिएको छैन ।

काठमाडौंबाहिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. पशुपति चौधरी र भेरी अञ्चल अस्पताल नेपालगन्जकी नर्सिङ प्रमुख दुर्गालक्ष्मी श्रेष्ठलाई सोही मानपदवी प्रदान गरिएको छ।

सुप्रबल जनसेवा श्री चतुर्थ श्रेणीको मानपदवी पाउनेमा पनि सुगमकै बाहुल्य छ। काठमाडौंमा कार्यरत आधा दर्जनभन्दा बढी चिकित्सकलाई यो पदवी प्रदान गरिएको छ। वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेत, वीर अस्पतालकै डा. दिलीप शर्मा, त्रिवि शिक्षण अस्पतालका आँखारोग विशेषज्ञ डा. सगुन जोशी, काठमाडौंकै डा. दीपक  श्रेष्ठ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका डा. राम थापा क्षेत्री, वीरेन्द्र अस्पतालकी डा. दृष्टि राज्यलक्ष्मी शाह र सशस्त्र प्रहरी बल अस्पतालका डा. प्रविन नेपालले पनि पदक पाएका छन्।

यही पदकबाट जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन न्यौपाने, जिल्ला अस्पताल धनकुटाका डा. फणीन्द्रराज बराल, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रकी डा. नीलिजा शाक्य, विराटनगरका डा. पवनकुमार कर्ण कायस्थलाई पनि प्रदान गरिएको छ। जिल्ला अस्पताल दाङकी नर्सिङ निरीक्षक राधा पौडेललाई जनसेवा श्री पञ्चम श्रेणीको पदक प्रदान गरिएको छ।

चौबीसै घण्टा ड्युटीमा खटिने नर्सहरूलाई भने सरकारले उपेक्षा गरेको नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. तारा पोखरेलले गुनासो गरिन्। भूकम्पका बेला नर्सहरूले गरेको योगदानको कदर गर्ने संयुक्त राष्ट्रसंघले नर्सिङ संघलाई रिस्क रिडक्सन पुरस्कार—२०१७ दिएको उनको भनाइ छ। तर सरकारले नर्सको अवमूल्यन भएको उनको गुनासो छ। ‘८१ हजारभन्दा बढी नर्स बिरामीको सेवामा खटिएको बेला सरकारले दुईजनालाई मात्र छान्नु दुर्भाग्यपूर्ण हो’, पोखरेलले भनिन्।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले पनि विकट क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई सरकारले उपेक्षा गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.