प्रत्यक्षदर्शी नायक नवल खड्का भन्छन्, भिडियो खिच्दा-खिच्दै गोली चल्यो

प्रत्यक्षदर्शी नायक नवल खड्का भन्छन्, भिडियो खिच्दा-खिच्दै गोली चल्यो

धरान : गोली प्रहार गरी सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा विद्यालय सञ्चालकको हत्या भएको छ । गोली लागेर स्थानीय ४९ वर्षीय खुर्सिद आलम अन्सारीको घटनास्थलमै मृत्यु भएको हो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकल चढी नेपाल प्रवेश गरेको समूहले बिहीबार दिउँसो भुटाहाको व्यस्त बजारमा आलममाथि पेस्तोलबाट गोली प्रहार गरेको थियो । टाउकोसहित विभिन्न भागमा गोली लागेका आलमको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार आलममाथि के कारणले गोली प्रहार भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको उनले बताए ।

स्थानीय मुस्लिम समुदाय अध्ययन गर्ने रहयान पब्लिक स्कुलका व्यवस्थापन समिति अध्यक्ष रहेका आलम नेकपा सुनसरीका जिल्ला सल्लाहकार सदस्यसमेत हुन् । गोली प्रहार गरी भागेको समूह भारतको घुर्ना बजार प्रवेश गरेको स्थानीयले बताएका छन् । भुटाहाबाट गोली प्रहार गरी घुस्की पुगेका उनीहरूलाई प्रहरीले घेरा हाली पक्राउ गर्ने प्रयास गरेको थियो । घुस्की प्रहरीले बाटोमै छेकेर पक्राउ गर्न खोजेपछि हतियारधारी समूहले जवान शिवलाल पौडेलमाथि गोली प्रहार गरेको थियो।

गोली लागी घाइते भएका जवान पौडेलको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दाहिने कम्मर र दाहिने तिघ्रामा गोली लागेका उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । समाजमा राम्रो छवि भएका आलम हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

नेकपा सुनसरीका नेता मुक्साहाङ मेन्याङ्बोले आलम हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग सरकारसँग गरेका छन् । यो घटनाले पार्टीलाई अपूरणीय क्षति पुगेको उनको भनाइ छ ।

प्रहरीले अभियुक्तलाई पक्राउ गर्न नेपाल–भारत सीमा क्षेत्रमा व्यापक जनशक्ति परिचालन गरेको जनाइएको छ । घटनापश्चात् सुनसरीका प्रहरी प्रमुख राजन अधिकारी र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख एसपी सुरेश श्रेष्ठ भारतको सुपोल जिल्लाका सुरक्षा प्रमुखसँग भेट गरी अपराधीलाई पक्राउ गर्न सहयोग गर्न आग्रह गरी फर्किएका छन् । भारतीय सुरक्षा अधिकारीले अपराधीलाई पक्राउ गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको एसपी श्रेष्ठले बताए ।

‘जनता जोगाउन फायर खोलिनँ’

भुटाहामा गोली प्रहार गरी भारतीय मोटरसाइकलमा दुई जनाको समूह घुस्कीतर्फ भागेको सूचना पाउनासाथ प्रहरी टोली हतियारसहित बाटोमा पुगेको थियो । जनतालाई लाग्ने डरका कारण आफूले जवाफी फायर नखोलेको प्रहरी जवान पौडेलले बताए । अभियुक्तसँग जम्काभेट हुनासाथ आफूले मोटरसाइकल रोक्न चेतावनी दिएको उनले सुनाए । प्रहरीको आवाज सुन्नेबित्तिकै बाटोमा स्थानीयको भीड लागेको थियो । त्यही भीडमा हतियारधारी समूहले आफूमाथि गोली प्रहार गरी घाइते बनाएको प्रतिष्ठानमा उपचाररत पौडेलले सुनाए ।

‘सुरुमा आफूसँग भएको राइफल फायर खोलेर अभियुक्तलाई घाइते बनाई पक्राउ गर्ने योजना बनाएँ’, उनले भने, ‘तर, उनीहरूको नजिकै रहेका जनतालाई लाग्ने भएपछि मैले फायर नखोल्दा ममाथि नै गोली प्रहार भयो ।’

अभियुक्तले टाउको ताकेर हानेको गोली आफूले छलेपछि कम्मर र खुट्टामा लागेको उनले सुनाए । ‘गोली लागेर ढल्दा मर्छुजस्तो लागेको थियो’, उनले भने, ‘साथीहरूको सहयोगमा समयमा अस्पताल लगेपछि बाँच्न सफल भएँ ।’

यसैबीच दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।

 भिडियो खिच्दा-खिच्दै गोली चल्यो : नवल खड्का

हामी ‘काँडेतार’ नामक चलचित्रको सुटिङका लागि लोकेसन हेर्न सुनसरी आएका थियौं। हामी यही क्रममा हरिनगरा गाउँपालिकामा पर्ने भुटाहा पुगेका थियौं। यो चलचित्रले नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्छ र सीमा नियन्त्रण गर्नुपर्छ भन्ने विषय उठाएको छ।

हामी तराई क्षेत्रको सीमा हेर्दै सुनसरी आएका थियौं। हामीसँग क्यामेरा थिएन। भुटाहा बजारमा गाडी रोकेर मोबाइलले दृश्य खिच्दै थियौं। भिडियो खिचेर एक राउन्ड घुमाइसक्दा पछाडि गोली चलेको आवाज आयो। भारतीय मोटरसाइकल हुइँकिँदै भागिसकेको थियो। मानिस ढलिसकेको थियो। मोटरसाइकल र हाम्रो गाडी सँगैजसो गुड्दै रहेछ। हामीलाई वास्तै भएन। जब गाडी रोकेर मोबाइलले भिडियो खिँच्दै मात्र थियौं तब गोली चल्यो।

मानिस ढलिसकेपछि भीड जम्मा भयो। प्रहरीहरू पनि आए। पछि मृतकको पहिचान भयो। उनी खुर्सिद आलम नाम गरेका शिक्षा क्षेत्रमा सक्रिय व्यक्ति रहेछन्। त्यहाँबाट भागेका भारतीय बन्दुकधारीलाई नेपाल प्रहरीले बाटोमा भेटेर रोकेछ। तर, प्रहरीलाई नै गोली हानेर बन्दुकधारी भागेछन्। त्यस क्रममा एक जना प्रहरी घाइते नै भएछन्।

हामी फर्किन लाग्दा पनि शव उठाइसकेको थिएन। प्रहरी-प्रशासनका प्रतिनिधि त्यहाँ पुगिसकेका थिए। सायद वार्ता भयो होला। यो घटनाले मलाई चिसोपन भयो। राष्ट्रवादी चलचित्र बनाएकै कारण बेला-बेला मैले भारतीय पक्षको धम्कीसमेत खेपेको छु। मैले ‘क्रान्ति’, ‘आवाज’, ‘दसगजा’, ‘भीमदत्त’जस्ता राष्ट्रभक्तिले ओतप्रोत चलचित्र बनाएको छु। त्यस्तै, अर्को राष्ट्रवादी चलचित्र बनाउनका लागि लोकेसन हेर्न जानु, सोही बेला सोही ठाउँमा भारतीयले नेपालीको हत्या गर्नुले नरमाइलो लाग्यो। (चलचित्रकर्मी नवल खड्कासँग हिमाल दाहालले गरेको कुराकानी)  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.