कोशीमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन
विराटनगर : कांग्रेसमा बढ्दो आन्तरिक विवाद, क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियामाथिको असन्तुष्टि र आगामी महाधिवेशनको तयारीका बीच संस्थापन इतर पक्षले विराटनगरमा छुट्टै भेला गरेको छ। इतर पक्षले ‘कोशी प्रदेशस्तरीय बृहत् एकता भेला’ नाम दिएर आयोजना गरेको भेलालाई पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व संघर्षको स्पष्ट संकेतका रूपमा देखिएको छ।
भेलामा सहभागी नेताहरूले एकातिर कांग्रेसलाई कुनै पनि हालतमा फुट्न नदिने प्रतिबद्धता जनाएका छन् भने अर्कोतर्फ पार्टी नेतृत्वको ‘निरंकुश’ शैली स्वीकार्य नहुने चेतावनी पनि दिएका छन्। नेताहरूको स्पष्ट सन्देश थियो, ‘पार्टी फुट्न दिन्नौं, तर निरंकुशता पनि सहन्नौं।’
कोशी प्रदेशका १४ वटै जिल्लाबाट नेता, कार्यकर्ता र प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको भेलालाई कांग्रेसभित्रको आन्तरिक शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ। पछिल्लो समय सभापति शेरबहादुर देउवा पक्ष र संस्थापन इतर समूहबीच बढ्दो दूरी तथा महाधिवेशनको तयारीलाई लिएर देखिएको मतभेदको पृष्ठभूमिमा आयोजित भेलालाई कांग्रेसको भावी राजनीतिक दिशासँग जोडिएको महत्वपूर्ण घटनाका रूपमा विश्लेषण गरिएको हो।
भेलालाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले कांग्रेसलाई कुनै पनि हालतमा विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै पार्टीभित्र निरंकुशताको संकेत देखिन थालेको आरोप लगाए। वडा सभापतिहरूलाई मौखिक रूपमा हटाउने कार्यलाई उनले निरंकुश प्रवृत्तिको सुरुआतको रूपमा चित्रण गरे।
उनले पूर्वसभापति शेरबहादुर देउवासँगको समन्वयमा वर्तमान सभापति गगन थापासँग भएको छलफलपछि तयार गरिएको पाँचबुँदे प्रस्ताव अझै कार्यान्वयनमा नआएको भन्दै असन्तुष्टि पनि जनाए। कांग्रेस कमजोर हुँदा राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक प्रणाली नै जोखिममा पर्ने भएकाले पार्टी एकताको विकल्प नरहेको कोइरालाको भनाइ थियो। नेता विजयकुमार गच्छदारले कांग्रेसको वर्तमान मनोविज्ञानमाथि प्रश्न उठाए। पञ्चायती व्यवस्था र दशक लामो माओवादी सशस्त्र द्वन्द्वको समयमा समेत नडराएको कांग्रेस अहिले कोसँग डराइरहेको छ भन्ने प्रश्न गर्दै उनले कार्यकर्तामा आत्मविश्वास र राजनीतिक साहसको खाँचो रहेको औंल्याए। विराटनगरको ऐतिहासिक राजनीतिक विरासत जोगाउन र संगठनलाई पुनः ऊर्जाशील बनाउन गच्छदारले आहान गरे।
नेता कृष्णप्रसाद सिटौलाले नेतृत्वलाई लक्षित गर्दै अनावश्यक राजनीतिक नाटक बन्द गरेर स्पष्ट निर्णय लिन आग्रह गरे। उनले विगतका अभ्यास र नजिरलाई आधार बनाएर महाधिवेशनको प्रक्रियालाई छिटो निष्कर्षमा पु¥याउनुपर्ने धारणा राखे।
सिटौलाले पार्टीभित्र आफ्नै साथीहरूमाथि अमानवीय व्यवहार हुनु दुःखद् भएको उल्लेख गर्दै नेतृत्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरे। कांग्रेस संकटमा रहेको र कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने सिटौलाको चेतावनी थियो। पूर्वमहामन्त्री डा. सशांक कोइरालाले पार्टी व्यवहारतः दुई धारमा विभाजित भइसकेको टिप्पणी गरे। उनले एकताका लागि दुवै पक्ष लचिलो हुनुपर्ने आवश्यकता औंल्याउँदै कुनै एक व्यक्तिले एक्लै पार्टी सञ्चालन गर्न खोज्नु भ्रम मात्र हुने बताए।
नेता मोहनबहादुर बस्नेतले वर्तमान नेतृत्वकै कारण कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको आरोप लगाए। त्यस्तै, नेता मिनेन्द्र रिजालले ‘म’ केन्द्रित राजनीति र व्यक्तिगत अहंकार त्याग्न सके पार्टीभित्रका अधिकांश विवाद स्वतः समाधान हुने धारणा व्यक्त गरे। नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक भए पनि निर्वाचनपछि सबै एउटै पार्टीभित्र रहनुपर्ने उनको भनाइ थियो।
नेता मीन विश्वकर्माले संसद्को दोस्रो ठूलो दल कांग्रेसको राजनीतिक प्रभाव खस्किएको टिप्पणी गर्दै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वदलीय बैठक बोलाउनुपर्ने अवस्था आउनु कांग्रेसका लागि लज्जास्पद भएको बताए। उनले नेतृत्वलाई गम्भीर आत्मसमीक्षा गर्न आग्रह गरे। नेता रामहरि खतिवडाले गुटबन्दी अन्त्य नभए आगामी निर्वाचनमा कांग्रेसले ७७ वटै जिल्लामा अपमानजनक हार बेहोर्नुपर्ने चेतावनी दिए। नेतृ सरिता प्रसाईंले पार्टी एकताको अभियानमा अवरोध सिर्जना नगर्न उपसभापति विश्वप्रकाश शर्मालाई चेतावनी दिँदै कार्यकर्तालाई बेवास्ता गरेर चुनाव जित्न नसकिने बताइन्।
नेताहरू भीम पराजुली, उमेशजंग रायमाझी, केदार कार्कीलगायतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वमाथि पार्टीलाई एकताबद्ध बनाउने थप जिम्मेवारी रहेको बताएका थिए। कांग्रेस प्रदेशका महामन्त्री भूपेन्द्र राईले कार्यक्रम कुनै व्यक्ति वा समूह विशेषको स्वार्थका लागि नभई पार्टीभित्र एकताको वातावरण निर्माण गर्न आयोजना गरिएको दाबी गरे। कांग्रेस अहिले विभिन्न गुट र उपगुटमा विभाजित भएको तथा नेतृत्वले कार्यकर्ताको भावना र सुझावलाई पर्याप्त महत्व नदिएको उनको आरोप थियो। उनका अनुसार भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका प्रतिनिधि तथा कार्यकर्ता र नेताहरूले पार्टीको वर्तमान अवस्था, क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया, महाधिवेशनको तयारी र पार्टीभित्र देखिएका समस्याका बारेमा धारणा राखेका छन्।
विशेषगरी पछिल्लो समय विवादको केन्द्रमा रहेको सदस्यता अध्यावधिक प्रक्रियामाथि गम्भीर छलफल भएको राईको भनाइ छ। इतर पक्षका नेताहरूले लामो समयदेखि सदस्यता व्यवस्थापनको नाममा सक्रिय कार्यकर्तामाथि अन्याय भइरहेको आरोप लगाउँदै आएका छन्। पार्टीको विचार, सिद्धान्त र मूल्यसँग असम्बद्ध व्यक्तिहरूलाई प्रवेश गराएर संगठनको चरित्र नै कमजोर बनाउने प्रयास भइरहेको उनीहरूको दाबी छ। यही विषय आगामी महाधिवेशनको शक्ति समीकरणसँग प्रत्यक्ष रूपमा जोडिएको विश्लेषण कांग्रेसभित्र भइरहेको छ। विराटनगरको भेलालाई प्रदेशस्तरीय संगठनात्मक कार्यक्रम मात्र नभई आगामी महाधिवेशन अघिको राजनीतिक सन्देशका रूपमा पनि हेरिएको नेताहरूले बताएका छन्। नेताहरूले सार्वजनिक रूपमा पार्टी फुट्न नदिने प्रतिबद्धता दोहोर्याए पनि उनीहरूका अधिकांश अभिव्यक्तिले वर्तमान नेतृत्वप्रति गहिरो असन्तुष्टि रहेको संकेत गरेको छ।
प्रतिक्रिया दिनुहोस !