पुनर्गठनको बहसले एमालेमा तरंग
काठमाडौं : पार्टी रूपान्तरण र पुनर्गठनको बहसले एमालेमा तरंग सिर्जना गरेको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरू नै पुनर्गठनको पक्षमा खुलेर बोल्न थालेपछि अध्यक्ष केपी शर्मा ओलीले यस विषयलाई चासो र सतर्कताका साथ हेरिरहेका छन्। पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन भइसकेको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले बेहोरेको निराशाजनक पराजयपछि पुनर्गठनको बहस सतहमा आएको हो। निर्वाचन समीक्षाका क्रममा विगतमा अध्यक्ष ओलीका निकट मानिएका नेताहरूले समेत पार्टी रूपान्तरण र पुनर्गठनको विकल्प नरहेको बताउन थालेका छन्।
२०८२ भदौ २३ र २४ गतेका घटनाको नेतृत्वले समुचित समीक्षा गर्न नसकेको, पार्टी नेतामुखी बनेको तथा नेतृत्वको निवास धाउनेहरूले अवसर पाएका कारण संगठनले क्षति बेहोर्नुपरेको विश्लेषण पार्टीभित्र हुँदै आएको छ।
शनिबार आयोजित बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा कार्यकर्ता भेलामा पनि पार्टी रूपान्तरण र पुनर्गठनको विषय जोडतोडका साथ उठाइएको थियो। अधिकांश नेताहरूले पार्टीलाई पुनर्जीवित गर्न पुनर्गठनको विकल्प नरहेको धारणा राखेका थिए।
भेलापछि अध्यक्ष ओलीले केही नेताहरूलाई आफ्नो निवास गुण्डुमा बोलाएर ब्रिफिङ लिएका थिए। बागमती प्रदेश भेलामा पुनर्गठनको पक्षमा व्यापक आवाज उठेपछि ओलीले त्यसबारे थप जानकारी लिएको स्रोतहरूको दाबी छ। पार्टीभित्र अध्यक्ष ओली पुनर्गठन पक्षधर नेताहरूप्रति केही संशयमा देखिएको चर्चा पनि छ।
स्रोतका अनुसार गुण्डुमा भएको छलफलका क्रममा ओलीले पुनर्गठनको बहसप्रति असन्तुष्टि व्यक्त गरेका थिए। पुनर्गठनको पक्षमा देखिएका नेताहरूलाई लक्षित गर्दै उनले आलोचनात्मक टिप्पणीसमेत गरेको चर्चा पार्टी वृत्तमा छ। केही नेताहरूले अध्यक्ष ओलीले पुनर्गठन पक्षधरहरूप्रति आक्रोशसमेत व्यक्त गरेको दाबी गरेका छन्। यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
तर, गुण्डु बैठकमा सहभागी एमाले नेता महेशकुमार बर्तौलाले पुनर्गठनको विषयमा छलफल भए पनि बाहिर चर्चा गरिएजस्तो कुनै असामान्य अवस्था नरहेको बताएका छन्। उनका अनुसार अध्यक्ष ओलीले एमालेमाथि चौतर्फी घेराबन्दी भइरहेको भन्दै पार्टीभित्र एकता कायम राखेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
‘देश नै संकटमा छ। हाम्रो पार्टी अझै चुनौतीपूर्ण अवस्थामा छ। त्यसैले एकताबद्ध भएर अघि बढ्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै बर्तौलाले भने। उनका अनुसार अध्यक्ष ओलीले विगतमा पनि पार्टीलाई विभाजन गर्ने वा कमजोर बनाउने प्रयास भएको स्मरण गराउँदै आन्तरिक समस्याको समाधानमार्फत संगठनलाई थप मजबुत बनाउनुपर्ने धारणा राखेका थिए।
उता एमाले सचिव महेश बस्नेतले पार्टीप्रति प्रतिबद्ध नेताहरूलाई आरोप लगाएर लोकप्रिय बन्न खोज्ने प्रवृत्तिबाट पार्टी निर्माण हुन नसक्ने बताएका छन्। उनले पार्टी, अध्यक्ष र कार्यकर्तामाथि भइरहेका आक्रमणको एकताबद्ध प्रतिरोध गर्दै जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड
दिएका छन्।
बागमती प्रदेश कमिटीको बैठकपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले अधिकांश सहभागीले पार्टी सुदृढीकरणकै पक्षमा धारणा राखेको उल्लेख गरेका छन्। साथै, फरक दृष्टिकोण राख्ने साथीहरूको सुझावलाई पनि गम्भीरतापूर्वक ग्रहण गर्दै पार्टीलाई थप एकताबद्ध र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको बताएका छन्।
पौडेल र पोखरेलको पुनर्गठन पक्षधर अभिव्यक्ति
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बागमती प्रदेश कमिटीद्वारा आयोजित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागीहरूको सक्रिय योगदानप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको वस्तुगत समीक्षा गरी गुमेको जनमत र प्रतिष्ठा पुनःस्थापित गर्न पुनर्गठन अपरिहार्य रहेको संकेत गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आमनिर्वाचन–२०८२ को वस्तुगत समीक्षा गर्दै नेकपा एमालेको गुमेको जनमत र प्रतिष्ठा पुनःस्थापित हुने गरी पार्टी पुनर्गठनको अभिभारा पूरा गर्न सक्षम हुनेछौं।’
महासचिव शंकर पोखरेलले पनि पौडेलको धारणालाई समर्थन गर्दै जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुन नसक्ने बताएका छन्। उनले जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौं, किनभने जनता नै इतिहासका निर्माता हुन्।’ लामो समयसम्म अध्यक्ष ओलीका प्रमुख रक्षाकवचका रूपमा चिनिएका पौडेल र पोखरेल स्वयं निर्वाचनपछिको समीक्षासँगै पुनर्गठनको पक्षमा उभिन थालेपछि एमालेभित्रको बहसले थप महत्व पाएको छ।
निर्वाचनलगत्तै पार्टी रूपान्तरणको विषय उठे पनि महासचिव पोखरेलले त्यतिबेला अध्यक्ष र पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको भन्दै निर्वाचन समीक्षालाई केही समय पछाडि सार्नुपर्ने धारणा राखेका थिए। यद्यपि, निर्वाचन परिणामको गम्भीर समीक्षा हुनुपर्ने पक्षमा महासचिव पोखरेल सुरुदेखि नै रहेको एमाले नेताहरू बताउँछन्। अब यो बहस सामान्य संगठनात्मक सुधारमै सीमित रहने कि नेतृत्व, कार्यशैली र संरचनागत परिवर्तनतर्फ अघि बढ्ने भन्ने प्रश्नमा पार्टीभित्र चासो बढेको छ।
प्रतिक्रिया दिनुहोस !