बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल : कूटनीति र लगानी आकर्षणमा जोड
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा भएको भ्रमणलाई नेपाल–चीन सम्बन्ध सुदृढीकरण, आर्थिक कूटनीति विस्तार तथा लगानी प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण मानिएको छ।
आइतबार अपराह्न बेइजिङ पुगेका मन्त्री खनाललाई विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
भ्रमणको पहिलो दिन नै बेइजिङस्थित नेपाली दूतावासले उनको सम्मानमा विशेष स्वागत कार्यक्रम आयोजना गरेको थियो। सो अवसरमा मन्त्री खनालले चीनमा बसोबास गरिरहेका नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, विद्यार्थी तथा विभिन्न पेसामा आबद्ध नेपालीहरूसँग अन्तरक्रिया गरेका छन्।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार भ्रमणको मुख्य केन्द्रबिन्दु नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनु, आर्थिक सहकार्य विस्तार गर्नु तथा आपसी हितका क्षेत्रहरूमा साझेदारीलाई नयाँ उचाइमा पुर्याउनु रहेको छ। भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ समकक्षी वाङ यीसँग औपचारिक भेटवार्ता गर्ने छन्। भेटमा व्यापार, लगानी, पर्यटन, कनेक्टिभिटी, पूर्वाधार विकास, ऊर्जा तथा विकास साझेदारीका विषयमा विस्तृत छलफल हुने परराष्ट्र स्रोतले बतायो। नेपालले पछिल्ला वर्षहरूमा वैदेशिक लगानी आकर्षित गर्ने प्रयासलाई तीव्रता दिइरहेका बेला मन्त्री खनालको चीन भ्रमण आर्थिक कूटनीतिको दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।
मन्त्री खनालले भ्रमणकै क्रममा आयोजना हुने लगानी सम्मेलनमा सहभागिता जनाउनेछन्। सम्मेलनमा चिनियाँ लगानीकर्ता तथा व्यवसायी समुदायलाई नेपालका ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा रहेका सम्भावना र अवसरबारे जानकारी गराउने कार्यक्रम छ।
परराष्ट्र अधिकारीहरूका अनुसार नेपालले विदेशी लगानी, प्रविधि हस्तान्तरण तथा रोजगारी सिर्जनामा जोड दिँदै चीनसँगको आर्थिक सहकार्यलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ। यही उद्देश्यअनुसार मन्त्री खनालले विभिन्न व्यावसायिक तथा लगानीसम्बन्धी कार्यक्रममा सहभागी हुँदै चिनियाँ निजी क्षेत्रसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको हो।
नेपाल र चीनबीच लामो समयदेखि रहेको मित्रवत सम्बन्धलाई थप प्रगाढ बनाउने तथा द्विपक्षीय सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने अपेक्षासहित भइरहेको यो भ्रमणलाई कूटनीतिक वृत्तले चासोका साथ हेरेको छ। परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस !