चालकको घेराबन्दीमा उपभोक्ता
काठमाडौं : ढुवानी चालकको आन्दोलनका कारण उपभोक्ता दसैंको मुखमा सास्ती व्यहोर्न बाध्य छन्। सार्वजनिक यातायात तथा ढुवानी चालकको आन्दोलनका कारण खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको चर्को अभाव देखा पर्यो। सर्वसाधारण सवारी साधन प्रयोगबाट पनि बञ्चित भए।
चालकको आन्दोलनका कारण समयमा ढुवानी नहुँदा किसानले मल पाएका छैंनन् भने तरकारी, फलफूल र खाद्यान्न आपूर्तिमा समेत अवरोध भयो। चालकले मंगलबारदेखि पूर्वी र पश्चिमी क्षेत्रमा यातायात ठप्प पारे। आन्दोलनमा सहभागी नहुने कतिपय चालकलाई जुत्ताको माला र कालो मोसो दलेर अभद्र व्यवहार गरियो। सवारी सञ्चालनमा अवरोध सिर्जना गरियो।
उद्योगी, व्यवसायी र चालकले दसैंको मुखमै विविध माग राखेर छुट्टाछुट्टै आन्दोलन घोषणा गरी सरकारलाई गलाउने नीति लिए। संसद्मा पेश भएको सवारी दुर्घटनासम्बन्धी विधेयकको विरोधमा चालक उत्रिएसँगै दैनिक उपभोग्य बस्तुको ढुवानी ठप्प छ।
अत्यावश्यक सेवा ऐनमा अत्यावश्यक वस्तुमा उपभोक्तालाई समस्यामा पारी आन्दोलन गर्न नपाइने व्यवस्था छ। दैनिक उपभोग्य बस्तु ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दाल, चामल, नुन तेलजस्ता वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरणलाई अवरोध गर्न नपाइने व्यवस्था छ। अत्यावश्यक सेवामा अवरोध पुर्याए एक वर्षसम्म कैद तथा क्षतिभन्दा दोब्बर जरिवानाको व्यवस्था छ।
‘हाम्रो आन्दोलनमा कुनै संघ संगठनको समर्थन र ऐक्यवद्धता छैंन्’, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने, ‘सरकारले ल्याउन लागेको सवारी दुर्घटनाविधेयकमा विमति राखेर आन्दोलन सुरु गरेका हौं। माग पुरा नहुँदासम्म यथावत रहन्छ।’
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रक्सौल युनिट एनओसी रुट इकाई समितिका अध्यक्ष पशुपति पाठक भने आफूहरू सरकारले ल्याउन लागेको नयाँ व्यवस्थाको विरोधमा नरहेको बताउँछन्। उनले दुर्घटनापछि प्रहरीले नियतवश: दफा १६१(२) को साटो दफा १६१(३) र दफा १६१(३) को सट्टा दफा १६१(२) लगाउने गरेकाले विरोध गराएको बताए।
दफा १६१ (२) मा चालकको लापरवाहीले मृत्यु भए तीन वर्षदेखि १० बर्षसम्मको कैद, ३० हजारदेखि एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। यसअघिको ऐनमा दुईदेखि १० वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको व्यवस्था थियो। यस्तै दफा १६१ (३) मा चालकको लापरवाहीले दुर्घटना निम्तिए न्यूनतम ६ महिनादेखि एक वर्ष कैदको व्यवस्था गरिएको छ। यसअघि एक महिनादेखि एक वर्षको मात्रै कैदको व्यवस्था थियो।
‘गल्ती नहुँदा पनि नियतवश: कडा दफा लगाएर हामीलाई कारवाही गर्ने प्रवृत्ति छ। सबै चालक खराब छैंनन्। तर एकै डालोमा हालेर फसाउने प्रवृत्तिविरुद्ध हामी आन्दोलित भएका हौं’, पाठकले अन्नपूर्णसित भने।
चालकको आन्दोलनका कारण पछिल्लो दुई दिनदेखि भारतबाट पेट्रोलियम पदार्थका साथै खाना पकाउने ग्यासको आपूर्ति पूर्ण रुपमा ठप्प भएको निगमले जनाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार मंगलबार रातिदेखि भारतबाट पेट्रोलियम पदार्थ आपूर्ति नभएको जानकारी दिए। यस्तै बुलेट चालकले पनि भारतबाट ग्यास बोकेर बुलेट सञ्चालन गरेका छैन्न। बुधबार साँझदेखि उपभोक्ता इन्धन र ग्यासका लागि डिपोमा लाइन बस्न थालेका छन्।
‘दुई दिनदेखि एक थोपा पनि इन्धन आपूर्ति भएको छैंन्’, निगमका प्रवक्ता गोइतले भने, ‘हामीसँग जे जति स्टकमा छ, त्यो वितरण गर्दैछौं। तर धेरै दिन ढुवानी ठप्प भयो भने समस्या चर्कन्छ।’
निगमसँग अहिले ४५ हजार किलोलिटर इन्धन सञ्चिती छ। आपूर्ति सुचारु नभए पेट्रोलले तीन दिन र डिजेल पाँच दिन मात्रै धान्छ। निगमले ढुवानी सम्झौता गरी आन्दोलनमा गएका चालकको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। देशभर पेट्रोलियम पदार्थ अभाव हुन नदिन निगमले विकल्पमा २० वटा ट्याँकरमार्फत ढुवानीको ब्यवस्थापन गर्न लागेको छ।
नेपाली चालकको आन्दोलनमा भारतीय चालकले समर्थन जनाउँदा भारतबाट लोड भएको ग्यासको बुलेट पनि तीन दिनदेखि रक्सौंलमै थन्किएको छ। लोड भएका एक सय ५० बुलेट रक्सौंलमै थन्किएका छन्।
‘नेपाली चालकको आन्दोलनमा भारतीय चालकले ऐक्यवद्धता जनाएपछि लोड भएको बुलेटसमेत तीन दिनदेखि आएको छैंन’, संघका अध्यक्ष गोकुल भण्डारीले भने।
देशभर दैनिक ७० हजार सिलिण्डर खपत हुन्छ। यसका लागि दैनिक ५५ वटा बुलेट ‐एक हजार टन ग्यास) आवश्यक पर्छ। निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले शुक्रबारदेखि ढुवानीको साधन सञ्चालन नगर्ने चालकबाट सवारीको साँचो खोसेर कडा सुरक्षाका साथ इन्धन आपूर्ति गरिने बताए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिहीबार रातिसम्म भएको छलफलमा स्थानीय प्रशासनको सहयोगमा साँचो खोसेर ढुवानी गर्ने विषय टुङगो लागेको छ। गृह मन्त्रालयमा राति नै बसेको बैठकले शुक्रबारदेखि सुरक्षाकर्मीको सहयोगमा ढुवानीका साधन परिचालन गरी इन्धनलगायतका अन्य अत्यावश्यक वस्तुको आपूर्ति नियमित गर्ने निर्णय लिएको छ। निर्णयमा चालकले सहमति जनाएका छैनन्।
सवारी दुर्घटना ऐनअन्तर्गत हालै सरकारले बढाएको सजाय र जरिवानाको दायराको विरोध गर्दै देशभरका यात्रुवाहक सवारी साधन तथा ढुवानी सवारी साधनका चालकले यातायात तथा ढुवानी क्षेत्र ठप्प पारेका छन्।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले आन्दोलनका कारण बिहीबार बिहान धादिङ, काभ्रे, पालुङ, सर्लाही, मकवानपुरबाट तरकारीको आपूर्ति नभएको बताए। खुद्रा व्यापार समितिका अध्यक्ष पवित्र बज्राचार्यले आफूहरूसँग भएको खाद्यान्न बजारमा पठाइरहे पनि नियमित आपूर्ति नभए अभाव हुने बताए।
अग्रिम टिकट बुकिङ नखुल्ने
वृद्धि भएको इन्धन मूल्य फिर्ता लिनुपर्ने माग राख्दै आन्दोलनमा ओर्लेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंको अग्रिम टिकट बुकिङ शुक्रबारदेखि बन्द गर्ने भएको छ। मूल्य वृद्धि फिर्ता लिन दिएको २४ घण्टे अल्टिमेटमप्रति सरकारले चासो नदिएको भन्दै महासंघले शुक्रबारदेखि बुकिङ नखोल्ने निर्णय लिएको महासचिव सरोज सिटौलाले जानकारी दिए। महासंघले सरकारलाई गलाउँदै यसअघि रोक्का भएका सम्पूर्ण खाता फुकुवा हुनुपर्ने र भाडा समायोजन गर्नुपर्ने माग राखेको छ।
प्रतिक्रिया दिनुहोस !