ललितपुरका पशु बधशालामा मन्त्री पुग्दा यस्तो देखिएपछि
काठमाडौं : सरकारले ललितपुर महानगरपालिकामा सञ्चालित चारवटा पशु बधशालाको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।
कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको टोलीले शुक्रबार बिहान ४ बजेदेखि ललितपुरको लगनखेलमा सञ्चालिन पाँच बधशालाको अनुगमन गरेको थियो। अनुगमनपपिछ मुकेश खड्गीले सञ्चालन गरेको आर. के मिटसप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिटसप तथा देव खड्गी र सुनिल खड्गीले सञ्चालन गरेको पशु बधशालाको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलले जानकारी दिए ।
देव र सुनीलको बधशाला दर्ता पनि नभइ सञ्चालन भएको पाइएको छ । उक्त बधशालाले सरसफाइमा ध्यान नै नदिएको, रागाँ भनेर भैसी काट्ने गरेको, अत्याधिक फोहोर ठाउँमा मासु काट्ने गरेको, यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पनि पालना नगरेको, तालिम दिएर पनि त्यो अनुसार नगरेको पाइएपछि मासु बिक्री वितरणमा रोक लगाइएको निर्मलले जानकारी दिए । ती बधशालामा दैनिक ३० भन्दा बढी रागाँ भैसी काट्ने गरेको पाइएको छ ।
ती बधशाला सञ्चालकहरुसँग थप छलफल गर्नका लागि शुक्रबार नै पशुसेवा विभागमा बोलाइएको छ । काटेको मासु नष्ट गर्नका लागि महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको विभागले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले मानव स्वास्थ्यका हिसाबले उक्त मासु खान अयोग्य रहेकाले सुधार नगर्दासम्म बिक्री वितरणमा प्रतिबन्ध लगाइएको बताए ।
अनुगमनमा कृषि मन्त्रालय, पशुसेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, ललितपुर महानगरपालिका र स्थानीय प्रशासनको सहभागिता थियो । ए वान मिट सपका सञ्चालक सरोज खड्गीले सरकराले जहिले पनि सुधारको मात्र कुरा गरेको भन्दै पहिलेभन्दा सुधार गर्दै लगेको दाबी गरे । उनले सरकारले जग्गा उपलब्ध गराइदिए आफूहरु जग्गा किनेर व्यवस्थित रुपमा बधशाला सञ्चालन गर्न तयार रहेको बताए । कृषि राज्यमन्त्री चौधरीले व्यवसायको नाममा आम मानिसको स्वास्थ्यसँग खेलवाड गर्ने काम भएको भन्दै सुधार नहुँदासम्म अनुगमन र नियमनलाई निरन्तरता दिने बताइन् ।
प्रतिक्रिया दिनुहोस !