तेजाब र हतियार प्रहारबाट महिला गम्भीर घाइते

तेजाब र हतियार प्रहारबाट महिला गम्भीर घाइते

नारायण अधिकारी/चितवन : तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ। कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब छर्किएर धारितो हतियार प्रहार गरेका थिए। अस्पतालका वरिष्ठ सर्जन डा. सुरेश प्रधानका अनुसार राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो।

प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो। छातीमा करङ छेडिएको थियो। दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ। चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको छ। परियारको अनुहार घाँटी, छाती र दुवै हातमा तेजाबले पोलेको छ। प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ। 

अस्पतालको सघन उपचार कक्षमा उपचाररत उनको अवस्था गम्भीर रहेको प्रधानले बताए। परियार राति ८ बजे तरकारी किनेर घर फर्कने क्रममा छिमेकी ३७ वर्षीय विमल सिर्पालीले तेजाब छर्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार तेजाब छर्केर आक्रमण गर्ने सिर्पाली नेपाली सेनाका भगौडा हुन्। उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो। 

पक्राउ परेका उनले बिहे गर्न अस्वीकार गरेपछि आक्रमण गरेको प्रारम्भिक बयान दिएको लामिछानेले बताए। विदेशमा रहेका उनी निज परियारसँग बिहे गर्ने भन्दै घर फर्किएको जनाइएको छ। परियारसँगको उनको सम्बन्धका कारण श्रीमतीले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गरी माइतमा बस्दै आएको प्रहरीले जनाएको छ। माइतमा बस्दै आएकी श्रीमतीसँग चार वर्षका बच्चा छन्। 

घाइते परियारको विदेशमा रहेका श्रीमान् फर्किएलगत्तै निज सिर्पालीसँगको सम्बन्ध तोड्न खोजेपछि घटना भएको प्रहरीले जनाएको छ। परियारको ११ वर्षीया छोरी रहेको लामिछानेले बताए। उनीहरू छिमेकी हुन्। 

पाँच महीनामा ५६५ गुण्डागर्दीका मुद्दा 

जिल्ला प्रहरी कार्यालय चितवनले गएको पाँच महीनामा गुण्डागर्दी गर्ने ५६५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। गएको वैशाख महीनामा जिल्लालाई सुरक्षित र शान्त बनाउने अवधारणास्वरुप विशेष अभियान सुरु गरिएको थियो। गुण्डागर्दी गर्नेलाई नियन्त्रण गर्न विशेष अभियान थालिएको हो। 

गुण्डागर्दी गर्नेको खोज्ने, बढार्ने र छान्ने यस अभियानलाई प्रहरीले सर्च, स्वीप एण्ड स्क्रिनिङ अप्रेशन नामाकरण गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार अभियानअन्तर्गत विभिन्न ठाउँमा एक हजार ७०० लाई नियन्त्रणमा लिइएको थियो। उनीहरुमाथि छानबिन गरी दोषी देखिएका माथि मुद्दा दर्ता गरिएको हो। 

जिल्लामा पाँच प्रकारका गुण्डागर्दी गर्ने रहेका छन्। जसलाई फ्याउरे, टोले, संरक्षित, राजनीतिक र व्यावसायिकरुपमा प्रहरीले वर्गीकरण गरेको छ। पछिल्लो समय प्रहरीले अभियान थालेसँगै राजनीतिक र व्यावसायिक गुण्डा पूर्णरुपमा नियन्त्रणमा रहेको उनले बताए। अन्य प्रकारका गुण्डा भने अझै रहेका छन्। 

यसअघि गुण्डागर्दीमा संलग्न भएर अहिले सामान्य जीवनयापन र व्यवसाय गरिरहेका १७ जनामाथि प्रहरीले निगरानी राखिरहेको जनाएको छ। प्रहरीले जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी प्रहरी चौकी र प्रहरी बिट मातहतका क्षेत्रमा गुण्डागर्दी नियन्त्रण अभियानअन्तर्गत काम गरेको हो। 

जिल्लामा ६३ ठाउँमा प्रहरीका एकाइ छन्। ती एकाइले शङ्कास्पद ठाउँमा घेराहाली छानबिन गरेर गुण्डागर्दी गर्नेलाई नियन्त्रणमा लिने गरेको छ। पक्राउ परेकालाई सामान्यतया सार्वजनिक हितविरुद्धका ऐनदेखि सङ्गठित अपराधसम्मका मुद्दा चलाइएको ढकालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.