नेपाल–भारत सीमामा सुरक्षा चौकी थपिँदै

नेपाल–भारत सीमामा सुरक्षा चौकी थपिँदै

काठमाडौं : नेपाल–भारत सीमामा अतिक्रमण बढ्दै गएपछि सरकारले सीमा सुरक्षा पोस्ट थप्ने भएको छ। सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले सीमा सुरक्षा पोस्ट (बीओपी) थपेर २ सय पुर्‍याउने योजना बनाएको छ।

भारतसँगको १ हजार ८ सय ८० किलोमिटर लामो सीमामा नेपालका जम्मा ८९ वटा सीमा चौकी छन्। एउटा सीमा चौकीमा कम्तिमा इन्स्पेक्टरको नेतृत्वमा ३५ जना सशस्त्र खटिएका छन्। सीमा सुरक्षाकै लागि २१ वटा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयसमेत छन्। सीमा कार्यालयमा एसपीको नेतृत्वमा ६ सय ५० सशस्त्र प्रहरी परिचालित छन्। सशस्त्र प्रहरी बलका अनुसार हाल सीमा सुरक्षामा प्रत्यक्ष र अप्रत्यक्ष गरी १३ हजार सुरक्षाकर्मी परिचालित छन्। औसत १० देखि २० किलोमिटर दूरीमा सीमा पोस्ट छन्।

सशस्त्रका प्रवक्ता  प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले सीमामा क्रमशः सुरक्षाकर्मी थप्दै जाने बताए। ‘जनशक्ति र बीओपी थप्ने योजना छ’, उनले भने। उनका अनुसार सशस्त्र दशगजा अतिक्रमण नियन्त्रण, सीमा स्तम्भको दिनहुँ निगरानी, रेखदेख र अभिलेख राख्नेलगायत काम गर्दै आएको छ।

सीमा पोस्टलाई दशगजाको एक किलोमिटरभित्रै निर्माण गरिने भएको छ। त्यसका लागि जग्गा किन्ने तयारी पनि सशस्त्रले गरेको छ। सशस्त्र प्रवक्ता पाण्डेका अनुसार सीमानजिकै सकेसम्म ५ सय मिटरभित्र बीओपी बनाउने तयारी भइरहेको छ। अहिले सीमा पोस्ट दशगजाबाट ४/५ किलोमिटर टाढा छन्।

उनले सीमामा सशस्त्र परिचालनपछि दशगजा अतिक्रमण, सीमा स्तम्भ हराउनेदेखि सीमामा हुने क्रस बोर्डर आपराधिक क्रियाकलाप घटेको दाबी गरे। ‘पहिलेदेखि नै दशगजा अतिक्रमण गरी खेतीपाती गर्ने, छाप्रो बनाउने, स्तम्भ भत्काउने काम हुँदै आएको छ, तर नेपाल–भारत दुवैतर्फ सुरक्षाकर्मीको उपस्थितिले अहिले दशगजा सुरक्षित भएको छ’, उनले भने।

उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग मिलेर नियमित संयुक्त गस्ती गरिरहेको जानकारी दिए। जनशक्तिको कमीले सीमा सुरक्षामा केही समस्या रहेको उनले बताए। नेपालको तुलनामा भारततर्फ धेरै संख्यामा सीमा पोस्ट र एसएसबी छन्। भारततर्फ ३ सय ३० बोर्डर पोस्ट छन्। भारततर्फ २ देखि अढाइ किलोमिटर दूरीमा सीमा सुरक्षा बलका चेकपोस्ट छन्। भारतले नेपालसँगको सीमामा ४५ हजारभन्दा बढी सीमा सुरक्षा बल (एसएसबी) तैनाथ गरेको छ।

सशस्त्र प्रवक्ता पाण्डेले सीमामा सुरक्षा चुस्त र मजबुत बनाउन ५० हजारभन्दा बढी सुरक्षाकर्मीको परिचालन गर्नु पर्ने बताए। सशस्त्रले २०५८ सालमा सीमा सुरक्षा गर्न थालेको हो। व्यवस्थित रूपमा २०६३/६४ देखि कार्यालय नै स्थापना गरेर सीमा सुरक्षा गरिरहेको उनले बताए। सशस्त्रभन्दा पहिले सेनालाई सीमा सुरक्षामा खटाइएको थियो।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ सीमामा सुरक्षा पोस्ट थप्नु पर्ने बताउँछन्। उनले पर्याप्त संख्यामा सुरक्षा पोस्ट नहुँदा सीमा अतिक्रमण बढेको दाबी गरे। ‘सीमामा फौज थोरै भएकै कारण नेपालको जग्गा मिच्ने काम भइरहेको छ’, उनले भने, सीमा सुरक्षाका लागि चौकी थप्नु पर्छ।’ उनले सीमा सुरक्षामा नेपालतर्फ अत्यन्त न्यून संख्यामा सुरक्षाकर्मी तैनाथ रहेका बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.