जडिबुटीको भर

जडिबुटीको भर

रुकुमकोट : संघीयताले टुक्रिएको रुकुमका दुई खण्डको आआफ्नै पहिचान छ। पूर्व जडिबुटी र पश्चिम बीउबिजन। प्रदेश ५ को एक मात्रै हिमाली जिल्ला पूर्वी रुकुम मुलुककै कान्छो जिल्ला हो।समुद्री सतहबाट ९ सय ४४ मिटरदेखि ७ हजार १ सय ४४ मिटर उचाइसम्म फैलिएको यो जिल्ला महत्वपूर्ण जडिबुटी यार्साको उर्वर भूमि हो। संसारकै बहुमूल्य मानिएको जडिबुटीभित्र पर्ने यार्सागुम्बाका साथै अरू थुप्रै हिमाली र पहाडी जडिबुटीसमेत प्रशस्त पाइने भएकाले यो जिल्लालाई जडिबुटीको बगैंचाका रूपमा मानिएको छ।

रुकुमको चर्चा अहिले त्यतिमा मात्रै सीमित छैन। यसले प्रदेशसभा र मन्त्रिपरिषद् बैठकमा प्रवेश पाएको छ। प्रदेश सभाले रुकुम पूर्वको अल्लो प्रवद्र्धनका लागि सबै सांसदलाई त्यसैको कोट दिएको छ। मेलामहोत्सवमा अहिले अल्लोको चर्चा छ।
जैविक विविधता तथा जडिबुटीको हिसाबले महत्वपूर्ण मानिएको रुकुम (पूर्व) हावापानी तथा भौगोलिक उपयुक्तताका कारण महत्वपूर्ण जडिबुटी प्रशस्त मात्रामा पाइन्छन्। यस क्षेत्रका तीनवटै स्थानीय तहका अधिकांश घरपरिवारको जीविकोपार्जनसँग मात्रै होइन, यहाँको जटिबुटी प्रदेशको समृद्धिसँग जोडिएको छ।

हिमाली बहुमूल्य जडिबुटी यार्सागुम्बाको वासस्थान भएकाले स्थानीय बासिन्दाको महत्वपूर्ण आर्थिक स्रोत हो। यार्सासँगै समायो, अतिस, विषमा, जटामसी, पाँचऔंलेलगायत मुख्य जडिबुटीको उपलब्धताबाट भविष्यमा समेत यस क्षेत्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहने सम्भावना छ। 
जिल्लाको भौगोलिक अवस्थिति तथा यस क्षेत्रको हावापानीको विविधताका कारण यहाँ गैरकाष्ठ वन पैदावारको विविधता प्रशस्त मात्रामा देख्न पाइन्छ। नेपालमा पाइने बहुमूल्य तथा बहुउपयोगी जडिबुटीहरु रुकुम (पूर्व)मा प्रचुर मात्रामा उपलब्ध भएको डिभिजन वन कार्यालय रुकुम (पश्चिम)का बिभिन्न तथ्यांकबाट पुष्टि हुन्छ। कार्यालयको आव २०७४/०७५ देखि आव २०७८/७९ सम्मको पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजनाअनुसार जिल्लाबाट जम्मा ७९ प्रजातिका गैरकाष्ठ वन पैदावार संकलन तथा बिक्रीका लागि जिल्लाबाट बाहिर निकासी गर्न पाइने उल्लेख छ। 

साविक जिल्ला वन कार्यलय रुकुमको पाँच वर्षमा खरिदबिक्री भएको तथ्यांकलाई आधार सूचकका रूपमा मानी यस जिल्लामा संकलन तथा बिक्रीवितरण भएका जम्मा ६१ वटा जडिबुटी पहिचान गरिएको डिभिजन वन कार्यालय रुकुम (पश्चिम)की निमित्त डिभिजन वन अधिकृत अनिता दडेख्याले बताइन्। ती ६१ जडिबुटीमध्ये १० वटा मुख्य जडिबुटीलाई व्यावसायिक हिसाबले प्रवद्र्धन गर्न महत्वपूर्ण प्रजातिका रूपमा मानिएको छ।

रुकुम (पूर्व)को हिमाली क्षेत्रमा पाइने खास जडिबुटी हो— यार्सागुम्बा। यार्साले यस क्षेत्रको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्दछ।

अल्लो, टिम्मुर, कुरिलो, काकडसिंगी, चिउरी, सतुवा, सुगन्धवाल (समायो), अमला, वन लसुन र सिस्नुलाईलाई व्यावसायिक हिसाबले प्रवद्र्धन गर्ने वन कार्यालयको योजना छ। ‘बजार मूल्य, नाफा, भौगोलिक वितरण, पुनरुत्पादन सम्भाव्यता, संरक्षणको अवस्था, प्रशोधन र बजार माग गरी जम्मा १० जडिबुटीलाई व्यावसायिक हिसाबले महत्वपूर्ण मानिएको छ’, उनले भनिन्।

१० जडिबुटी, हजार गुण
व्यावसायिक हिसाबले प्रवद्र्धन गर्न सकिने मुख्य १० वटा जडिबुटीका आआफ्नै गुण र विशेषता छन्। वन कार्यालयले व्यावसायिक महत्वका हिसाबले प्राथमिकतामा पारेका यी १० जडिबुटीका हजार बढी गुण छन्। बहुवर्षीय झारको स्वरूपमा हुने अल्लो १७ सयदेखि तीन हजार मिटर उचाइमा उपलब्ध हुन्छ। ज्वरो, क्षयरोग तथा पिसाबसम्बन्धी रोग निको पार्न, कब्जियत हटाउन, शरीरमा रक्सीको प्रभाव कम गर्ने आदि कामका लागि अल्लोको जराको रस सेवन गरिन्छ।

जोर्नी र टाउको दुखेमा यसको ताज रस दलिन्छ। त्यस्तै झाडी स्वरूपमै हुने टिमुर ९ सयदेखि २५ सय मिटर उचाइमा उपलब्ध हुन्छ। टिमुर फलको बोक्रा, सम्पूर्ण फललाई वायु, पेटसम्बन्धी रोग, दाँतको दुःखाइ, जंगली जुका हटाउने र पेटभित्रको जुका खसाल्ने औषधिका रूपमा प्रयोग गरिन्छ। 
कुरिलो (सतवारी)। काँडेदार झाडी स्वरूपको यो जडिबुटी १ सय ५० देखि २१ सय मिटर उचाइसम्म पाइन्छ। काँकडसिंगे। बहुवर्षीय झारको स्वरूपमा रहेको यो जडिबुटी ६ सयदेखि २४ सय मिटरको उचाइसम्म पाइन्छ। यसको पातको गाँठो खोकी, अनियन्त्रित श्वासप्रश्वास तथा रगतमासीको औषधीका रूपमा प्रयोग गर्ने गरिन्छ। अर्को जडिबुटी हो—

चिउरी। रुख स्वरूपमा हुने यो बिरुवालाई पनि जडिबुटीका रुपमा प्रयोग गर्न सकिन्छ। ४ सयदेखि १४ सय मिटर उचाइमा यो उपलब्ध हुन्छ। चिउरीको फलमा औषधीय गुण हुनुका साथै वनस्पति घिउ, मैनबत्ती तथा साबुन उत्पादनमा यसको प्रयोग गरिन्छ।
रुकुम (पूर्व)मा नै पाइने १० मुख्य जडिबुटीमध्ये अर्को हो, सतुवा। बहुवर्षीय झार स्वरूपमा हुने यो बिरुवा १ हजार ८ सयदेखी ३ हजार ५ समय मिटर उचाइमा उपलब्ध हुन्छ। उच्च रक्तचाप, श्वासप्रश्वास, मिर्गौला र खुट्टामा खराबी, पेटमा जुका र कीरा परेमा, ज्वरो आएको, टाउको दुःखेको, पोलेको घाँउ, चोट लागेको तथा शक्तिवद्र्धक औषधिका रूपमा सतुवाको प्रयोग गरिन्छ।

त्यस्तै अर्को जडिबुटीका रूपमा प्रयोग हुने बिरुवा हो, सुगन्धवाल। यसलाई स्थानीय नाममा समायो पनि भनिन्छ। स्वरूपका हिसाबले यो पनि बुहवर्षीय झरकै रूपमा हुन्छ। १५ सयदेखि ३६ सय मिटर उचाइमा पाइने सुगन्धवाललाई स्थानीय स्तरमा धूप तथा सुगन्धित तेलका लागि प्रयोग गरिन्छ। त्यस्तै, छारे रोग, किस्टेरिया, कब्जियत, हैजा, चर्मरोग, कपाल झर्ने, पाचन शक्ति बढाउनेजस्ता धेरै समस्याको निराकरणका लागि पनि यसको प्रयोग गरिन्छ।

 रुकुमपूर्वमै पाइने अर्को जडिबुटी हो, वन लसुन। झार स्वरूपमा हुने यो बिरुवा २४ सयदेखि ४७ सय मिटर उचाइमा पाइन्छ। मूत्रवद्र्धक, ज्वरो कम गर्ने र दमको उपचारका लािग यसको प्रयोग गरिन्छ।  त्यस्तै अर्को हो, सिस्नो। डिभिजन वन कार्यालयले व्यवसायिक हिसावले प्रवद्र्धन गर्न यीलगायत मुख्य जडीबुटीको सूचीमा राखेका १० जडिबुटीको संरक्षण, संवद्र्धन तथा व्यावसायिक  विकास आवश्यक छ। 

रुकुम (पूर्व)को हिमाली क्षेत्रमा पाइने खास जडिबुटी हो, यार्सागुम्बा। यस क्षेत्रका मानिसको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएका धेरै जडिबुटीमध्ये प्रमुख मानिने यार्सागुम्बा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मूल्यवान् मानिन्छ। यार्साले यस क्षेत्रको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्दछ।

रुकुम पूर्वको ढोरपाटन सिकार आरक्ष र आसपासमा पाइने जडिबुटी यार्सागुम्बा। 

नेपालका करिब २५ वटा हिमाली जिल्लामा पाइने यार्सागुम्बाबाट हरेक वर्ष करोडाैं राजस्व उठ्ने गरेको छ। साथै यसको संकलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौंले रोजगारीसमेत पाएका छन्। हाल देशका १२ वटा जिल्लाबाट यसको व्यावसायिक संकलन भइरहेको छ। रुकुम  (पूर्व)बाट समेत वार्षिक ५० देखि १ सय किलोग्रामको परिमाणमा यसको संकलन भइरहेको डिभिजन वन कार्यालय रुकुम (पश्चिम) जनाएको छ।

तिब्बतीहरूले यार्सगुम्बाको प्रयोग दुई हजार वर्षदेखि शक्तिवद्र्धक औषधिका रूपमा गरेको देखिन्छ। यार्सागुम्बाको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै अन्य धेरै रोगको उपचारका लागि पनि यार्सगुम्बा अत्यन्त उपयोगी जडिबुटी मानिन्छ। प्राकृतिक हिसाबले लेक, बेसी, पहाड र हिमाल गरी चार प्रकारको भौगोलिक स्वरूप रहेको रुकुम (पूर्व) जिल्लामा पाइने यिनै जडिबुटीको व्यावसायिक प्रवद्र्धन गर्दै यस क्षेत्रलाई जडिबुटीको हबका रूपमा विकास गर्न सकिन्छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.