जब उनीहरु उठे...
काठमाडौं : कुनै समयको चर्चित गीत हो, ‘तिमीलाई हङकङ पुर्यायो आईडी कार्डले। मलाई घाइते बनायो तिम्रै आइडीले ।’ हङकङ आईडी पाएपछि प्रेमीले धोका दिएको दुखेसो गीतमा चित्रित छ। सत्यकला राईको स्वरमा रहेको यो गीतले समाजको एउटा चित्र देखाउँछ। तर, गीतमा भनिए जस्तै सबै आईडीधारी लाहुरे मायालु र माटो बिर्सने धोकेवाज हुँदैनन्। आईडी पाए पनि कतिपय प्रवासी भने देशको सुखदुःखमा साथ दिइरहेका हुन्छन्। यस्तै साथ दिने व्यक्तिमध्ये एक हुन्, निर्मल श्रेष्ठ (४०) ।
बुटबल गोलपार्कका निर्मल डेढ दशकदेखि पत्रकारिता गर्दागर्दै सन् २००७ मा हङकङ पुगे। त्यहाँ पुगेर ट्राभल एजेन्सीमा म्यानेजरका रूपमा काम गर्न थाले। पत्रकारिता पनि छाडेनन्। नेपालमा पत्रकारिता गरिरहँदा उनलाई समाजसेवाबारे खासै चासो थिएन। जब परदेश पुगे, तब देशले झस्काउन थाल्यो। काम र दाम राम्रै थियो। तर मनमा चैन भएन। भन्छन्, ‘हङकङ पुगेपछि नेपाल र सामाजिक कामबारे चासो बढ्न थाल्यो ।’
२०७२ मा विनासकारी भूकम्प जाँदा निर्मल हङकङमै थिए। प्राकृतिक विपत्तिले देश रोयो। देशसँगै परदेशी मन पनि रोयो। त्यसपछि उनीसहित साथीहरू मिलेर केही रकम संकलन गरी पुनर्निर्माणमा सघाउने योजना बनाए ।
निर्मलसहित हङ्कङमै कार्यरत सुरज गुरुङ, तुलसी गुरुङ, खड्ग परियारलगायत मिलेर ४५ लाख रुपैयाँ संकलन गरे। त्यो हङकङ, मकाउ र चीनमा बसोवास गर्ने नेपालीबाट जुटाइएको थियो। त्यो रुपैयाँले सिन्धुपाल्चोकको कर्थलीस्थित पोखरेमा विपन्न दलित परिवारका लागि ४० धुरी अस्थायी घर निर्माण गरे। त्यहीँ बाल उद्यान पनि बनाए। २१ लाख रुपैयाँ लागतमा सोही गाउँमै प्राथमिक विद्यालय पुनर्निर्माण गरे। साथै विद्यालयमा ३ लाखको छात्रवृत्ति कोष स्थापना गरे ।
पुनर्निर्माणमा जुटिरहँदा निर्मलसहितको टिमलाई लाग्यो, ‘विश्वभर छरिएर रहेका नेपालीबीच भावनात्मक सम्बन्ध गाँस्ने पुलको अभाव छ ।’ त्यसपछि उनीहरू सम्बन्ध जोड्ने सेतुको निर्माणमा जुटे। सकारात्मक सोच भएका नेपालीबीच विश्वव्यापी सञ्जालमा जोड्ने योजना बनाए। निर्मल भन्छन्, ‘सबैलाई भावनात्मक एकतामा जोड्ने साझा अभियानको आवश्यकता मसहुस गर्यौं ।’त्यसपछि नेपालीलाई भावनात्मक सम्बन्धमा जोड्ने र विपत्बाट उठ्न हौसला दिने अभियानको नाम रहन गयो, ‘वी विल राइज’ अर्थात् ‘हामी उठ्ने छौं ।’ त्यसपछि ‘एक नेपाली जो जहाँ भए पनि’ भन्ने नारा अघि सारे।
त्यस्तै ‘हामी नहिँडे को अघि सर्छ ? मुख ताकिरहे देश पछि पर्छ’ जस्ता नारा बनाए। रमण घिमिरेको शब्द, राजु सिंहको संगीत, उदय सोताङ र मलिना सोताङले स्वरमा एउटा गीत पनि रेकर्ड गरे। गीतलाई १० देशमा छायांकन गरेको उनी बताउँछन्। अभियानलाई संस्थागत रूपमा दिँदा ‘वी विल राइज फाउन्डेसन’ नामकरण गरे। निर्मल फाउन्डर म्यानेजरका रूपमा काम गर्न थाले ।
भूकम्पको पीडाबाट नेपाल बिस्तारै उठ्न थाल्यो। त्यसपछि अभियानले कामको दायरा फराकिलो बनाउँदै लग्यो। फाउन्डेसनका अन्य साथी यथावत् काममै फर्किए। आआफ्नो ठाउँबाट फाउन्डेसनमा योगदान गरिरहे। निर्मललाई सामाजिक काममै रुचि लाग्न थाल्यो। उनलाई हङकङ आईडी च्यापेर उतै बसिरहन मन लागेन। भन्छन्, ‘हङकङ पसेपछि छाडेर फेरि नेपाल आउन गाह्रो छ। तर मलाई सामाजिक काममा रुचि लाग्यो। भूकम्पको विपत्ले मलाई सामाजिक काम गर्ने अवसर दिलायो ।’ त्यसपछि निर्मल हङकङ–नेपाल जाने आउने गरिरहे। कहिले लामो बिदा लिएर नेपालतिरै हराउन थाले। बिस्तारै हङकङ कम जान थाले ।
पुनर्निर्माणसँगसँगै फाउन्डेसन अन्य सामाजिक काममा पनि सक्रिय हुन थाल्यो। निर्मल भन्छन्, ‘हामीले फाउन्डेसनलाई नेपालीको विपत्को बेला र नेपालीले गर्व गर्ने ठाउँमा सक्रिय गराउने योजना बनायौं ।’ फाउन्डेसनले २०७३ सालमा आईसीसी अन्डर १९ वल्र्डकपको क्वाइफाइट राउन्डमा सहभागी क्रिकेट टिमलाई सम्मान गर्यो। त्यस्तै ०७३ मै बंगबन्धु कप विजेता नेपाली फुटबल टोलीलाई सम्मान गर्यो। निर्मल भन्छन्, ‘भूकम्पले दुखी बनाएको बेला खेल जगतले थोरै भए पनि खुसी दिलाएको थियो। त्यसैले हामीले ती तीनै खेलाडीलाई सम्मान गर्यौं ।’
२०७४ मा अल्ट्रा धावक मीरा राई नेसनल जियोग्राफी च्यानलको साहसिक वर्ष खेलाडीको सूचीमा परिन्। उनलाई जिताउन फाउन्डेसनले ‘मीरा राई जिताऊँ’ अभियान नै चलाए। निर्मल भन्छन्, ‘नेपालले गर्व गर्ने ठाउँमा थियो त्यो। अन्ततः हाम्रो पनि सहयोगले मीरा प्रथम भइन् ।’
फाउन्डेसनले ०७३ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनसहित संसारका अन्य चार शक्तिशाली राष्ट्र प्रमुखलाई सगरमाथाको ढुंगा उपहार दियो। जलवायु परिवर्तनले हिमाल पग्लिएर कालापत्थर बन्दै गरेको सन्देश दिन अमेरिकी तत्कालीन राष्ट्रपति बाराक ओबामा, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी जिनपिङ र बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनलाई ढुंगा उपहार दिएको थियो ।
पहिले देश अनि विदेश !
फाउन्डेसनले कार्यक्षेत्र झनै फराकिलो बनाउँदै लग्यो। भूकम्पपछि बिस्तारै उठ्दै गरेको नेपालको पर्यटन प्रवद्र्धन गर्न हङकङमा ‘हाइक फर नेपाल’ (लामो दूरीको पैदलयात्रा) को सुरुवात गर्यो। नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष बनाउने योजना अघि सार्यो। त्यसलाई सहयोग गर्न पनि अभियान सुरु गरिएको निर्मल बताउँछन्। ‘विश्वभर छरिएर रहेका नेपालीबीच सुमधुर सम्बन्ध गाँस्ने र पहिला आफ्नै देशलाई चिन्नुपर्छ भन्ने पैदलयात्राको उद्देश्य होे, ‘निर्मल भन्छन्, ‘विदेशमा रहेका लाखौं नेपालीले पहिला आफ्नै देश घुम्नुपर्छ ।’
‘नेपालका लागि सँगसँगै पाइला चालौं’ भन्ने नारा अघि सार्दै ०७३ साउनमा हङकङबाट हाइक फर नेपाल अभियान थालनी भयो। ‘हामी उठ्नेछौं’ भन्ने लोगो टाँसिएको टीसर्ट लगाएर नेपालको झण्डा बोकी सयौं नेपाली हङकङका सहरमा १३ किलोमिटर पैदल यात्रामा निस्किए। ‘हङकङ अब्जर्भेसन ह्विलबाट सुरु भएको पदयात्रा वान चाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क हुँदै समुद्री किनार रिपल्स वेमा पुगी टुंगिएको थियो’, निर्मल सुनाउँछन्।
पदयात्रामा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र गिनिज वल्र्ड रेकर्ड बनाएका थानेश्वर गुरागार्इंको समेत उपस्थिति रहेको उनी बताउँछन्। साथै सो अभियानलाई साउथ चाइना मर्निङ पोस्टलगायत अन्तर्राष्ट्रिय समाचार संस्थाले समेत महत्वका साथ समाचार प्रकाशन गरेका थिए ।
यसै वर्षको साउनमा बेलायतमा पनि हाइक फर नेपाल सम्पन्न भएको छ। नेपाली र विदेशी गरी एक सय ५० जनाको सहभागितामा बेलायतको वेल्सस्थित ब्ल्याक माउन्टेनमा अभियान सम्पन्न भएको निर्मलको भनाइ छ। बेलायतमा रहेको पोखरेली मञ्चले कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रमको समन्वय ‘ब्रेकन नेप्लिज सोसाइटी’ ले गरेको थियो। फाउन्डेसन समग्र कार्यक्रम डिजाइनरका रूपमा रहेको उनी बताउँछन्। ‘बेलायतको सहर करिब चार घण्टा नेपालमय भयो,’ उनी भन्छन्, ‘नेपालका लागि सँगसँगै पाइला चालौं’ भन्ने नाराका साथ करिब १२ किलोमिटरको पैदलयात्रा सम्पन्न भएको थियो ।’ पैदलयात्रामा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले समेत सहभागिता जनाएको उनी बताउँछन् ।
फाउन्डेसनले आगामी मेमा टुँडीखेलमा ‘सांकेतिक सगरमाथा’ बनाउने महत्वाकांक्षी योजना अघि सारेको छ। ८ हजार ८ सय ४८ जना मानिसले एकएकवटा बेलुन बोकेर सांकेतिक सगरमाथा निर्माण गर्ने फाउन्डेसनको योजना रहेको निर्मल सुनाउँछन्। भन्छन्, ‘यो योजनाको उद्देश्य बढ्दै गएको पर्यावरणीय संकटबारे विश्वको ध्यानाकर्षण गराउनु हो ।’
प्रतिक्रिया दिनुहोस !