भूकम्प र सुनामीका कारण हजारभन्दा बढीको मृत्यु, सहयोग आह्वान

भूकम्प  र सुनामीका कारण हजारभन्दा बढीको मृत्यु, सहयोग आह्वान

पालु : इन्डोनेसियाको सुलावेसी टापुमा गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या सोमबार एक हजारभन्दा बढी पुगेको छ ।

भूकम्पछि अन्तर्राष्ट्रिय सहयोग आह्वान गरिएको छ । खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरूको संख्या अझै बढ्ने जनाइएको छ । उद्धारकर्मीहरूले भूकम्पबाट भत्किएका घरहरूको भग्नावशेषबाट कैयौँ व्यक्तिको शव निकालेका छन् । यद्यपि सरकारी तथ्यांकअनुसार भने यो संख्या ८३२ पुगेको बताइएको छ । भूकम्प गएको चार दिनपछि दुर्गम इलाकामा अझै पनि सम्पर्क हुन सकेको छैन ।

घरका भग्नावशेषबाट जीवितै व्यक्ति उद्धारका लागि उद्धारकर्ताको प्रयास जारी रहेको छ । इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु शहरका भित्री इलाकासम्म उद्धारकर्ता अझै पुग्न बाँकी रहेकाले मृतकको बढ्नसक्ने जनाइएको हो । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पीडितको सहयोगका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग अपिल गरेका छन् । मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीय बासिन्दा रहेका र सयौँ घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीको भनाइ छ ।

सुलावेसीमा एक हजारभन्दा बढी व्यक्तिको अन्त्येष्टिका लागि सामूहिक चिहान खनिएको छ । पालुको पहाडी क्षेत्र पोबोयामा शव गाड्न १ सय मिटर लामो सामूहिक चिहान खनिएका छन् । घाइतेको उपचार गर्न औषधि अभाव भएको छ । अस्पतालका भवनमा पनि क्षति भएकाले खुला ठाउँमा त्रिपाल टाँगेर घाइतेको उपचार भइरहेको छ । लासका कारण रोग महामारी फैलन नदिने प्रयास भइरहेको अधिकारीले बताएका छन् ।

भग्नावशेषमा पुरिएका व्यक्ति र शव निकाल्न पर्याप्त उपकरण नभएको उद्धारकर्ताले बताएका छन् । सरकारले यहाँ १४ दिनको संकटकाल लागू गरेको छ । पालुका एक स्थानीयले भने, ‘केही सहायता मिलेको छैन, हामी भोकै छौं । खान नपाएपछि हामीसँग पसलमा लुटपाट गर्नुको विकल्प छैन ।’

इन्डोनेसियाको तटीय शहर पालुमा शुक्रबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ । प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयंसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका काम पनि गरिरहेका छन् । पालु नगरका भग्नावशेषमा कैयौँ मानिस हराइरहेको अनुमान छ ।      

भूकम्प र सुनामीले बस्ने घर, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायतका भौतिक संरचनामा क्षति पु¥याएको छ । अधिकारीले अझै पनि शक्तिशाली परकम्प आउनेक्रम जारी रहेको बताएका छन् ।

भूकम्प र सुनामीबाट प्रभावितमध्ये १ लाख ९१ हजार जनालाई तत्काल सहयोगको आवश्यकता रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघले उनीहरूलाई अत्यावश्यक मानवीय सहायता तत्काल आवश्यक परेको अनुमान गरेको हो । राष्ट्रसंघीय अधिकारीहरूले मानवीय सहायताका लागि विश्वभरबाट समन्वयकारी काम भइरहेको जानकारी दिएका छन् । प्रभावितमध्ये ४६ हजारजना बालबालिका रहेका छन् भने १४ हजार वृद्धवृद्धा रहेका छन् । उनीहरूले इन्डोनेसियाका ग्रामीण क्षेत्रमा पनि उद्धार तथा राहतका लागि सरकारलाई सहयोग गर्न पनि आह्वान गरेका छन् ।

सयौं कैदी फरार

इन्डोनेसियामा आएको प्राकृतिक विपद्का बेला १ हजार २ सय कैदी जेलबाट भाग्न सफल भएका छन् । भूकम्प प्रभावित क्षेत्रका ३ वटा जेलमा रहेका ती कैदी भागेका हुन् । पालुस्थित एउटा जेलबाट ५ सय ८१ कैदी भागेका छन् । भूकम्पबाट भित्ता चर्किएको थाहा पाएपछि उनीहरू सुरक्षागार्डका आँखा छलेर भागेका थिए ।

गृह प्रशासनका अधिकारी फुग उतामीले भने, ‘शुरुमा सबै कैदी नियन्त्रणमा देखिन्थे । भूकम्प आएको मौका छोपेर उनीहरू जेलबाट भागेका हुन् । भूकम्पपछि अत्तालिएका कर्मचारीले कैदीलाई नियन्त्रण गर्न सकेनन् । यत्तिकैमा कैदी सडकतर्फ कुदे र भाग्न सफल भए ।’ कैदीको जेलबाट भाग्ने पूर्वयोजना नभए पनि प्राकृतिक विपत्तिका बेला भागेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.