नेपालबाट गायब लिम्पियाधुरा खोज्दै कसले बाल्यो दिउँसै बत्ती ?
काठमाडौं : नेपाली नक्साबाट लिम्पियाधुरा गायब भएको समाचार सार्वजनिक भएपछि ग्रेटर नेपाल राष्ट्रवासी मार्चाले नापी विभागमा धर्ना दिएको छ ।
मोर्चाका संयोजक फणिन्द्र नेपालको नेतृत्वमा विभाग अगाडि बुधबार दिउँसै मैनवत्ती बालेर लिम्पियाधुराको खोजी गरिएको हो।
मोर्चाले बुधबार दिउँसो विभागका उप-महानिर्देशक सुरेशमान श्रेष्ठलाई ज्ञापन पत्र पनि बुझाएका छन् । ज्ञापन पत्रमा नेपालको नक्सामा लिम्पियाधुरा कहाँ छ ? भन्ने लेखिएको छ ।
ज्ञापनपत्र बुझाउँदै नेपालले लिम्पियाधुरा नेपालको नक्सामा कहाँ भनेर प्रश्न गर्दा विभागका उपमहानिर्देशक श्रेष्ठले धेरै पहिलादेखिनै नेपालको नक्सामा लिम्पियाधुरा नभएको बताएका थिए ।उनले लिम्पियाधुरा नक्सामा छुट्नुको कारण खुलाउन चाहेनन् । अन्नपूर्ण पोस्ट्ले नेपालको आधिकारिक नक्सामा लिम्पियाधुरा गायब रहेको समाचार प्रकाशित गरेको थियो । नापी विभाग अगाडि गरिएको धर्नामा सुस्ताबासीको पनि सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस !