पाटन नगरपालिकाको बजेट ४६ करोड ६३ लाख
बैतडी : बैतडीको पाटन नगरपालिकाको चौथो नगरसभा बिहीबार सम्पन्न भएको छ। गत असारमै नगरसभा सम्पन्न गर्नुपर्ने भएपनि विविधि कारणले नगरसभा सम्पन्न हुन सकेको थिएन्।
नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीका अनुसार नगरसभाले चालु आर्थिक बर्षका लागि ४६ करोड ६३ लाख १६ हजारको अनुमानित बजेट पारित गरेको छ। चालु खर्च तर्फ ३२ करोड ७३ लाख ६२ हजार २ सय ९० पारित गरेको छ भने पूँजीगत बजेट तर्फ १३ करोड ८९ लाख ५३ हजार एक सय ११ रुपैयाँ विनियोजन गरेको छ।
आर्थिक विकासतर्फ एक करोड ४१ लाख ९१ हजार ४०, सामाजिक विकासतर्फ ६ करोड ८२ लाख ३१ हजार ४ सय ७० रुपैयाँ विनियोजन गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए। उनले भने, ‘हामीले सामाजिक विकासतर्फ नगर स्वयंसेवक शिक्षकका लागि एक करोड २० लाख विनियोजन गरेका छौं। यसले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान हुने हाम्रो विश्वास छ।’
यस्तै भौतिक पूर्वाधार विकासतफ ६ करोड ४५ लाख ८३ हजार पाँच सय ४०, वातावरण तथा विपद् व्यवस्थापन तफ ४२ लाख ७६ हजार दुई सय ८० र सस्थागत विकासतर्फ ३८ लाख ६६ हजार ९ सय बिनियोजित भएको छ।
नगरसभाले नगरक्षेत्रभरी कुल चार सय ४७ योजना निर्माण गर्ने निर्णय पारित गरेको छ। नगरपालिकाले गत असारमै नीति तथा कार्यक्रम पारित गरेको भएपनि जनप्रतिनिधिबीच कुरा नमिल्दा ढिलो गरी नगरसभा सम्पन्न भएको हो।
नगरसभाले पारित गरेका योजनालाई शीघ्र कार्यान्वयनमा लैजानका लागि सबै प्रतिनिधिलाई आग्रह गरिएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए। उनले भने, ‘विविध कारणले हामीले ढिलो गरी बजेट ल्याएका छौं। बजेटलाई पूर्ण रुपमा कार्यान्वयनका लागि हामी सबैले लाग्नुपर्छ।’
नगरसभामा बजेट प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले यो बजेट नगर क्षेत्रका महिला, दलित, बालबालिका लगायत सबै क्षेत्रका बासिन्दालाई सहयोग पुग्ने बताइन्। उनले भनिन्, ‘नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रमको आधारमा बजेट आएको छ। बजेटले नगरलाई समृद्ध बनाउन सहयोग गर्नेछ।’
प्रतिक्रिया दिनुहोस !