जहाँ विज्ञानको प्रयोगशालाबाट अन्धविश्वास जन्माइन्छ

जहाँ विज्ञानको प्रयोगशालाबाट अन्धविश्वास जन्माइन्छ

-नरेश रेग्मी शर्मा 

मलाई यस्तो लाग्छ, आज पनि हाम्रो देशमा डाक्टर भन्दा राम्रो आम्दानी झारफुक गर्ने माता र बाबाले गर्छन्। डाक्टरले गल्ती गर्यो भने ठूलो आन्दोलन हुन्छ। तर धामी झाँक्रीले उपचार गर्न सकेनन् भने पनि झाँक्रीको विरुद्धमा आन्दोलन भएको थाहा छैन। 

म पढेको विद्यालय नाम चलेकै विद्यालय थियो। १० कक्षामा पढ्दा हामी सबै होस्टल बस्थ्यौँ। होस्टेल बस्नु अनिवार्य जस्तै थियो। यदि १० कक्षामा पढ्दा तपाईं पनि होस्टेल बस्नु भएको थियो भने एक झलकमा होस्टेल जीवन याद गर्नुस्। मलाई विश्वास छ, अधिकांशको होस्टेल जीवन निकै नै रमाइलो भएको हुनुपर्छ। त्यसमा पनि उमेर नै रमाइलो गर्नु पर्ने किसिमको खेल्ने, पढ्ने, जिस्किने। बिहान पनि साथी, दिउँसो पनि साथी, साँझ र राति साथी नै साथी। हरेक दिन विशेष हरेक दिन नयाँ। छुट्टै खालको रमाइलो भइरन्थ्यो। 

युवाहरु अली बढी बिग्रिने समय पनि यही हो। केही अपवाद घटना बिर्सिने हो भने होस्टेल जिन्दगी रमाइलो समय लाग्छ। हामीले प्राय सबै सरको एउटा जिस्क्याएर बोलाउने नाम राखेका थियौं। त्यो पनि एकदम गोप्य। स्कुले जीवनमा सरको जिस्क्याएर बोलाउने नाम राख्नु एउटा अघोषित चलन जस्तै हुन्छ। सरको कुरा काट्नु पर्यो भने ‘कोडवर्ड’ जस्तै हुन्थ्यो जिस्क्याउने नाम। यस्तो रमाइलो हुँदा हुँदै पनि होस्टेल लाइफका केही डरलाग्दा घटना पनि घटे मेरो जीवनमा।   
होस्टेलको छेउमै एउटा रुख थियो। म त्यसै पनि धेरै रुख चिन्दिन आज पनि त्यो रुख के को थियो भन्ने थाहा छैन। होस्टेल भरी एउटा के हल्ला चलेको थियो भने राति १२ बजेपछि त्यो रुखको माथि बच्चा रोएको जस्तो आवाज आउँछ। 

कतिपय भूत रोएको भन्थे। धेरै पहिला त्यतै कतै एउटा बच्चा मरेको हल्ला पनि थियो। हाम्रो स्कुलको पछाडि शौचलय जाने बाटोतिर झाडी थियो। झाडीले डरमा डर थप्ने काम गर्थ्यौँ। त्यसमा पनि हाम्रो विद्यालयका प्राय भवन पुरानो जमानाका भवन थिए। मोटो मोटो पर्खाल भएका ‘पुरानी हवेली’ जस्ता। 
दिउँसो सामान्य जस्तो लाग्ने त्यो रुख रात परेपछि असामान्य जस्तो लाग्थ्यो। मैले आँफैले चाहिँ बच्चा रोएको सुनेकोे थिइन। तर जो कसैले पनि बच्चा रुन्छ भनेको सुन्दा सुन्दा कहिले काँही त हो कि जस्तो पनि लाग्ने रहेछ। मलाई पनि रात परेपछि त्यो रुखको छेउमा पर्न डर लाग्थ्यो। आजभोलि आएर मात्र बुझें डर लाग्नाको कारण। रातको समयमा रुख र झाडीमा देखिने भूत भन्दा हजार गुणा डर लाग्दो हुन्छ मान्छेको चेतनामा रहेको भूत। मानिसको चेतना मै भूत छ भने राति मात्र होइन दिउँसै भूत देखिन थाल्छ।   

होस्टलको शौचालय होस्टेलको भवन भन्दा अली पर थियो। राति पिसाब लाग्दा बाहिर निस्किनुको विकल्पै थिएन। एक त रातको समय त्यसमा पनि त्यही बच्चा रुन्छ भनिएको रुखैको छेउबाट झाडी हुँदै जानु पर्ने ! बाटोमै पिसाब आउला जस्तो हुन्थ्यो। बाहिर निस्किने डरले प्राय सबैले होस्टलमै बोत्तलको व्यवस्था गरेका थियौं। पिसाब लाग्दा त काम चलिहाल्थ्यो तर दिसा लाग्दा दिमागै खराब हुन्थ्यो। जे होस् हाम्रो चेतनामा एउटा भूत सानैदेखि विराजमान गराइेको हुन्छ। सानैदेखि सुनाइएका ‘हाउगुजी’का कथाले उब्जाएको  डर पछिसम्म रहन्छ। 

जब भागवान र भूतमा विश्वास लाग्न थाल्छ त्यसपछि विस्तारै तन्त्र मन्त्रमा, कालो जादुमा, टुनामुनामा, बोक्सी र बाबामा, भाग्यमा र ज्योतिषमा, उच–निचमा र छुवाछुत, सबैमा विश्वास लाग्न थाल्छ। एक दिन उज्ज्वल नाम गरेको साथीको क्याल्कुलेटर कक्षाबाटै हरायो। धेरै खोज्दा पनि भेटिएन। 

क्याल्कुलेटर कक्षाबाटै चोरी भएको थियो।  भर्खर भर्खरै चल्तीमा आएको क्यासियो कम्पनीको साइन्टिफिक क्याकुलेटर थियो जस्तो लाग्छ। सायद उतीबेलाको सबै भन्दा महँगो। चोरी नै भएको पुष्टी भएपछि कक्षामा हल्ला खल्ला सुरु भयो। त्यतिकैमा पढाउनको लागि शर्मा सर आइपुग्नुभो। उज्ज्वलले क्याल्कुलेटर चोरी भएको कुरा शर्मा सरलाई सुनायो। सरलाई यो कुरा विल्कुलै मन परेन र केही बेर फकाउने शैलीमा कसैले झुक्केर लगेको भए फिर्ता गरिदिन अनुरोध गर्नु भयो। तर क्याल्कुलेटर फिर्ता आएन। 

त्यसपछि उहाँले क्याल्कुलेटर फिर्ता गरिदिन मौखिक चेतावनी दिनुभयो। तर पनि चोरी भएको सामान फिर्ता आउन सकेन। त्यो क्लास झन्डै यही तनावमा बित्यो।
कक्षाको अन्तिमतिर सरले चोर पत्ता लगाउने निकै डर लाग्दो योजना बताउनु भयो। शर्मा सर अत्यन्त आध्यात्मिक किसिममा मान्छे हुनुहुन्थ्यो भन्ने कुरा हामीलाई राम्रोसँग थाहा थियो। चोर पत्ता लगाउन सरले कुनै तान्त्रिकको शैलीमा चामल फुक्ने कुरा गर्नु भयो। एकदम डर लाग्दो शैली थियो जस्तो लाग्छ त्यो। 

सर चामल फुक्ने कुरा यसरी भन्दै हुनुहुन्थ्यो कि मानौं चोरलाई तर्साउन होइन कि उहाँ साँचै नै कुनै तन्त्रमन्त्र गर्ने सुरमा हुनुहुन्थ्यो। 

एकदम गम्भीर भएर सरले चेतावनी दिनुभयो, ‘आज रातिसम्म पनि क्याल्कुलेतर फिर्ता आएन भने म भोलि कक्षामा तन्त्रमन्त्र गरेर पनि फिर्ता गराउँछु। भोलि म कक्षामै ल्याएर चामल फुक्छु र अली अली चामल सबको हातमा दिन्छु। सबैले चामल मुठ्ठी पारेर राख्न लगाउँछु र म मन्त्र पढ्छु।’ सर बोल्दै जानु भयो। कक्षामा सब सुनिरहेका थिए। वास्तवमा भन्नु पर्दा म निकै डराएको पनि थिएँ। सायद अरु पनि डराएकै हुनुपर्छ।  सर बोलिरहनु भएको थियो, ‘अनी जसले त्यो क्याल्कुलेटर चोरेको हो उसको मुठ्ठीको चामल मात्रै रातो हुन्छ र चोरले रगत उल्टी गर्छ। मलाई थाहा छ तिमीहरु मध्य नै कसैले क्याल्कुलेटर चोरेको हो।’

यत्तिकैमा कक्षा सकिएको घण्टी बज्यो। सर  निस्किन थाल्नु भयो। निस्किदा निस्किदै उहाँले फेरि भन्नुभयो, ‘जो कसैले लगेको भए पनि सुटुक्क आज रातिसम्म ल्याएर कक्षामा राखिदेऊ नत्र भोलि सबको अगाडि रगत छाद्नु पर्ला र बेज्जत पनि होला।’

शर्मा सर एकदम रिसाउनु भएको प्रष्टै थाहा हुन्थ्यो। त्यसपछि दिनभरी शर्मा सरकै बारेमा गफ भए जस्तो लाग्छ। शर्मा सर होस्टल वार्डेन पनि हुनु हुन्थ्यो। धर्मकर्ममा सार्है विश्वास राख्ने। होस्टलमा बस्ने सबैलाई उहाँले गर्दा सरस्वती बन्दना कण्ठ जस्तै थियो। सर बिहान लाइन लगाएर सबैलाई सरस्वती बन्दना भन्न लगाउँनुहुन्थ्यो। 

कहिले
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ! 
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे 
कहिले
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमणितकरा या श्वेतपदमासना।।

जे होस् शर्मा सर आध्यात्मिक आस्थामा अत्यन्त विश्वास गर्नु हुन्थ्यो। शर्मा सरको  कक्षा कोठामा दिएको चेतावनी सुन्दा त उहाँ तान्त्रिक नै हो कि जस्तो पनि लाग्यो। भूतको कथामा आधरित हिन्दी फिल्मिमा देखाइने तान्त्रिक जस्तो तन्त्रमन्त्र सब थोक जानेको। 

भोलि पल्ट अचम्मै भयो। उज्ज्वलको क्याल्कुलेटर कक्षाकै बेन्चको किताब राख्ने खापामा भेटियो। सब दंग परे। शर्मा  सर आउनु भयो र क्याल्कुलेटर भेटिएको थाहा पाउनु भयो। कक्षामा खासखास खुसखुस चलिरहेको थियो। सरले हल्ला नगर्न आदेश दिनु भयो। हल्का जुँघा मुसार्नु भयो। त्यसपछि कसैलाई केही पनि नभनेर मुसुक्क मुस्कुराउनु भयो र पढाउन थाल्नु भयो। शर्मा सरको जुक्ती भनौं या ज्ञान क्याल्कुलेटर फर्केर आयो। रगत छाद्ने डरले नै क्याल्कुलेटर फर्कियो भन्ने बुझाई नै स्थापित हुन पुग्यो।   

वास्तवमा को हुनुहुन्थ्यो होला त ती तन्त्र मन्त्र नै जानेका शर्मा सर? मैले यती धेरै वयान गरिसक्दा पक्कै पनि दिमागमा शर्मा सरको चित्र बनेको हुनु पर्छ।
भ्रममा नपर्नु होला  शर्मा सर नेपाली वा संस्कृत पढाउने गुरु नभएर विज्ञान पढाउने  शिक्षक हुनुहुन्थ्यो। आठ कक्षालाई विज्ञान पढाउनु हुन्थ्यो र हामीलाई गणित। दाङको एउटा प्रसिद्ध उच्च माद्यामिक विद्यालयमा उहाँ केमेस्ट्री(रशायन शास्त्र) पढाउनु हुन्थ्यो। सार्है राम्रो पढाउनु हुन्थ्यो। आठ कक्षामा उहाँले मलाई कन्केव लेन्स र कन्भेक्स लेन्सको बारेमा पढाएको अझै पनि ताजै छ। 

बाहिरबाट आएको प्रकाशलाई लेन्सको माध्यमबाट हुबहु बाहिरको जस्तै छाँया वहाँले  कोठाको भित्तामा बनाएर देखाउँदा त मलाई जादू नै जस्तो पनि लागेको थियो। 

क्याल्कुलेटर फिर्ता आउनु राम्रो कुरा थियो। यो कोणबाट हेर्दा त उहाँले जे जुक्ति लगाउनु भयो त्यो निकै उत्कृष्ट देखिन्छ। बोलेकै भरमा क्याल्कुलेटर फिर्ता आयो। केही दुःख गर्नु परेन। बस विद्यार्थीरुमा लुकेको डरलाई महसुस गराइदिनु भयो। 

तर यही घटनालाई विज्ञान पढाउने एउटा शिक्षकको कोणबाट हेरौँ एकपल्ट। एउटा विज्ञान पढाउने शिक्षक जसले संसारमा जे छ त्यो भौतिक मात्र छ वा भौतिक जगत भन्दा बाहिर अभौतिक केही पनि छैन भनेर पढाउनु पर्ने हो। तर त्यही शिक्षक विद्यार्थीको मनमा लुकेको अन्धविश्वासलाई हटाउनुको ठाउँमा त्यही अन्धविश्वासलाई झन् मलजल गर्ने काम गर्दै हुनुहुन्थ्यो। कुनै वैज्ञानिक अनुसन्धानात्मक विधिबाट चोर पत्ता लगाउने प्रयास नै नगरी सरले चामल फुक्ने डर बसाल्दै हुनुहुन्थ्यो। विज्ञानका कैयौं उपकरण घरेलु सामान प्रयोग गरेर बनाउन सक्ने शर्मा सरले चोर पत्ता लगाउन कुनै अनुसन्धानसम्म नगर्नुले उहाँको विज्ञान प्रतिको विश्वासमा प्रश्न चिन्ह खडा गर्छ। 

मेकानिकल सिद्धान्तदेखि सामान्य सापेक्षतावादसम्म आइपुग्दा, रसायन शास्त्रका अनेक सिद्धान्तसम्म पार गरिसक्दासम्म आजको दिनमा विज्ञानको कुन नियमले चामल फुक्दा चामल रातो हुन्छ भन्छ होला? कि त चामलमा फेनप्थलिन, इयोसिन वा स्याफ्रानिन जस्ता रसायन दलेको हुनु पथ्र्यो। अनी तन्त्रमन्त्र गरेर  मान्छेले रगत छाद्न सक्छ भन्ने विचार कुन विज्ञानमा आधारित थियो होला?   

मन्त्र पढेर रगत छदाउन सकिन्छ भन्नु  भनेको त त्यस्तै मन्त्र पढेर रगत छाद्ने क्षयरोगको बिरामीलाई निको गर्न सकिन्छ भन्नु होइन र? त्यसो भए किन चाहियो विज्ञान ? किन चाहियो औषधि शास्त्र? विज्ञान पढाउने शिक्षकले विज्ञानमा विश्वास गर्न प्रेरित गर्ने कि विद्यार्थीलाई धामी र झाँक्री बनाउन प्रेरित गर्ने? 

यो लेखको उदेश्य कुनै व्यक्ती विशेष एउटा शर्मा सरलाई आक्रमण गर्ने होइन। हाम्रा स्कुल र क्याम्पसमा शर्मा सरको कमी छैन। सामाजिक शिक्षा पढाउन शिक्षकले नै दलित भन्दै विद्यार्थी कुटेको समाचार अहिले पनि पढ्नु पर्छ। 

एउटा सामाजिक शिक्षा पढाउने शिक्षक जसले छुवाछुत रहित समाज कसरी बनाउने भनेर पढाउनु पर्ने हो त्यही शिक्षकले नै विद्यार्थीलाई स्वयं दलित भन्दै कुट्नु निकै कहालीलाग्दो घटना हो। सामाजिक शिक्षा पढाउने शिक्षक यस्तै गर्छन् भन्ने मेरो दाबी होइन तर तन्त्रमन्त्रमा विश्वास गर्नु, जादुटुना पत्याउनु, धामी झाँक्री धाउनु, छुवाछुत मान्नु, साइत हेर्नु, सबै एउटै दृष्टिकोणका अंश हुन। 

जस्तो सुकै महँगो स्कुल वा कलेज भए पनि, जति नै सुविधासम्पन्न क्याम्पस भए पनि, जति नै अत्याधुनिक विज्ञानको प्रयोगशाला भएको कलेज भए पनि, जति नै लेटेस्ट किताब भए पनि हाम्रो विज्ञान प्रतिको बुझाईमा नै गम्भीर समस्या छ। हाम्रो समाज र हाम्रा विद्यालयमा अधिकांश शिक्षक चाहे विज्ञान पढाउने होउन वा सामाजिक शिक्षा वा अन्य कुनै शिक्षा, कतै न कतै कुनै न कुनै किसिमको अन्धविश्वासमा गाँजिएकै छन्।  हाम्रो शिक्षाको प्रारम्भिक अवधारणा नै अन्धविश्वासबाट उत्पन्न भएको छ। र शिक्षाको मुहानमै समस्या भएपछि यो शिक्षाले उत्पादन गर्ने जो कोही पनि अर्थात् धेरै पढेको मान्छेदेखि अक्षर मात्र चिनेको मान्छेसम्म, धर्मशास्त्र नै पढ्ने विद्यार्थीदेखि भौतिकशास्त्रमा विद्यावारिधि गरेको गुरुसम्म, शिक्षकदेखि विद्यार्थीसम्म, नेतादेखि सर्वसाधारण जनतासम्म, सेना–प्रहरीदेखि कर्मचारीसम्म जो कोही पनि अन्धविश्वासी नै हुन पुग्छन्। 

हिजोका अन्धविश्वास र आजको अन्धविश्वास रूपमा केही फरक देखिए पनि सारमा उस्तै छ। कुनै सफ्टवेयरको नयाँ भर्जन आए जस्तै आजको नयाँ पुस्तामा अन्धविश्वासको नयाँ प्रयोग भेटिन्छ।

आजका अत्याधुनिक स्वचालित हतियारदेखि आणविक एवं रसायनिकसम्म सब  विज्ञानमा भएको विकासको परिणाम हुन।  विज्ञानमा आधारित जति नै सुकै आधुनिक हतियार बोके पनि सेना–प्रहरी भित्र पनि बली हान्ने प्रथा अझै पनि कायम नै छ। र जती नै तर्क गरे पनि बली हान्ने प्रथा अन्धविश्वास नै हो। विज्ञान नै पढेका आजका कर्मचारी किन नहोउन कुनै पनि सरकारी कार्यलयमा पूजा आजा नगरिकन कुनै नयाँ भौतिक परियोजना अगाडि बढ्ने सम्भावना नै छैन। 

डाक्टरहरु स्थेतेस्कोपमा कम र भगवानले दिएको मुटुको धड्कनमा बढी विश्वास गर्छन्। पूजा नगरेर पनि बलियो पुल बन्छ भन्ने इन्जिनियर भेट्नै गार्हो छ।
किनकी हाम्रा स्कुलमा जति नै विज्ञान पढाइए पनि त्यो विज्ञान हाम्रो सामाजिक चेतनामा लागू हुन सकिरहेको छैन। आवरणमा जस्तो देखिए मन मनै आफूलाई कुनै उच्च वा निच जातको मान्छे भनेर बुझ्ने शिक्षकले जातपातमा विश्वास नगर्ने विद्यार्थी उत्पादन गर्न सक्दैनन। 

शिक्षाको मुहानमै समस्या छ। ती आजका शिक्षकहरु नै हुन जो हिजो कुनै दिन विद्यार्थी थिए। आजका विद्यार्थी नै भोलि गएर शिक्षक, कर्मचारी, सेना, प्रहरी, नेता, डाक्टर, इन्जिनियर वा अन्य केही बन्ने हुन। यी विद्यार्थी जुन क्षेत्रमा जान्छन आफूलाई बोकाइएको अन्धविश्वास बोकेर जान्छन। यी विद्यार्थी भोलि जुन क्षेत्रमा पुग्छन उनीलाई कुनै कुनै अन्धविश्वास पहिले नै त्यहाँ पर्खेर बसिरहेको हुन्छ। अनि अन्धविश्वासको अन्धविश्वाससँग मिलन हुन्छ। त्यहा विज्ञान त हुन्छ तर अन्धविश्वासको गर्भ भित्र हुर्किरहेको विज्ञान जस्तो। एकदम निरीह, कमजोर र टिठलाग्दो। 

समाज अन्धविश्वासमा चुर्लुम्म डुबेको छ। स्वाभाविक रूपमा यस्तो समाजबाट एकाएक कोही पूर्ण रूपले भौतिकवादी हुन पुग्नु एकदम विरल घटना हो। यसको लागि मुहानदेखि सफा गर्न जरुरी हुन्छ। 

किन छ त हाम्रो मुहान दुषित? 

शिक्षा प्रति हाम्रो समाजको पहिलो बुझाई के हो भने विद्या भनेको आशिर्वादबाट प्राप्त हुने कुरा हो। सरस्वती माताको आशिर्वाद बिना ज्ञान प्राप्त गर्न सम्भव छैन। हाम्रो हिन्दु समाजको सबै प्रारम्भिक बुझाई हो यो। ज्ञान प्राप्त गर्न सरस्वती माताको कृपा चाहिन्छ भन्ने कुराबाट विरलै कोही मुक्त छ। यो विश्वास होइन अन्धविश्वास हो। ज्ञान भनेको  पढेर, सुनेर, देखेर, बुझेर, भोगेर, मनन गरेर, कल्पना गरेर, प्रश्न गरेर, खोजेर अनुसन्धान गरेर प्राप्त गर्ने बिषय हो भनेर सानैदेखि नै गम्भीर रुपमा सिकाउनु पर्ने बच्चालाई हामी सरस्वती माताको आशिर्वाद पढाइदिन्छौं। त्यो सानो बच्चा जसको भर्खरै चेतना निर्माण हुँदै हुन्छ त्यो बच्चाले सुरु मै यही सिक्छ। उसलाई सुरुदेखि नै किताबमा कम र सरस्वती मातामा बढी विश्वास लाग्न थाल्छ। यसले साना मस्तिष्कमा रहेको विज्ञानलाई स्वागत गर्ने ढोका सुरुदेखि नै बन्द गर्छ।

बच्चालाई पहिलो पल्ट कखरा सिकाउन किन चाहियो त्यही श्रीपञ्चमी(सरस्वती पूजा) ? अरु कुनै दिनबाट कखरा सिक्दा कुन आकाश खस्छ होला हाम्रो समाजमा ? सम्पूर्ण समस्याको सम्पूर्ण कारण यही हो भन्न खोजेको होइन। यहीबाट सुरु हुन्छ शिक्षाको संसारमा बालकको अन्धविश्वासमा आधारित यात्रा। यो प्रारम्भिक कारण हो। यसले हामी कोहीलाई कतै न कतै गाँजेकै छ। जसले गर्दा विस्तारै विस्तारै हवाई जहाजको आविष्कार राइट दाजु भाइले गरे पनि रामायणमा रावणले पुष्पक विमान पहिले नै बनाइसकेको थियो भन्ने बहस गर्न पुगिन्छ। आजको एटम बम र महाभारतमा चर्चा हुने ब्रह्मास्त्र एउटै जस्तो लाग्न थाल्छ। राहु र केतु अँध्यारोमा नदेखिने काला ग्रह हुन। स्टेफेन हकिङ्सले भनेको ‘ब्ल्याक होल’ तिनै हुन भन्न मन लाग्छ। विज्ञान प्रतिको प्रारम्भिक दृष्टिकोण नै अन्धविश्वासमा आधारित भयो भने परिणाम यस्तै हुन्छ।   
 
हाम्रो समाज विज्ञानमा विश्वास गर्दैन। आजको दिनमा आइपुग्दासम्म जो कोहीका आमाबुबाछोराछोरीलाई विज्ञान त पढाउन चाहन्छन तर विज्ञानमा त्यती विश्वास गर्दैनन। विज्ञान पढेपछि जागिर पाउने सम्भावना बढी हुन्छ भन्ने विश्वासले विज्ञान पढाउने आकांक्षा ह्वात्तै त बढ्यो तर विज्ञानको चरित्रलाई समाजले स्वागत गर्न सकेको छैन। 

छोराछोरीलाई विज्ञान पढाउनु भनेको त सम्पूर्ण अन्धविश्वासबाट मुक्त बनाउनको लागि हो भन्ने चेतना निर्माण हुन सकेको छैन।  विज्ञान भनेको मात्र जागिरको सम्भावना बढाइदिने बिषय बनेको छ। 

यो समस्या विज्ञान पढ्नेको मात्र होइन। द्वन्दात्मक र ऐतिहासिक भौतिकवादमा विश्वास गर्ने भनिएका हामी मार्क्सवादीहरुको पनि हो। हामीले पढेकोे यही हो। स्वर्ग छैन, नर्क छैन। श्राप छैन, आशिर्वाद छैन। भगवान छैन। भूत पनि छैन। पुण्य पनि छैन, पाप पनि छैन, भाग्य पनि छैन। यो जीवन नै पहिलो अन्तिम हो पुनर्जन्म छैन। ब्रहमान्डमा रहस्य छन् तर ती रहस्य खोज अनुसन्धानबाट पत्ता लगाउन सकिन्छ। ब्रह्माण्डमा हरेक वस्तु अर्कामा अन्तरनिहित र गतिशील छन्। यो गति द्वन्द्वबाट उत्पन्न हुन्छ।  

हामीले यही समाजलाई वर्गविहिन, विभेदविहिन समाज बनाउने हो। हामीले विश्वास गर्दै आएको दृष्टिकोणमा यही हो। विज्ञानमा विश्वास नगर्ने मान्छे मार्क्सवादी हुन सक्दैन। मार्क्सवादी दर्शनलाई विज्ञानबाट अलग राखेर बुझ्न् मिल्दैन।   
 
यही दर्शनमा विश्वास गर्ने केही आस्थाका बन्दी लेखनाथ न्यौपानेसँग हिरासतमा भएको बेलामा घटेको घटना हो यो। लेखनाथ दाईसँग बेला बेलामा हुने चिया गफमा सुन्न पाइन्छ यो घटना। जनयुद्ध उत्कर्षमा र मार्क्सवादी चिन्तन उच्चतम बिन्दुमा भएको समय थियो त्यो। 

जेलमा एउटा पिपलको रुख थियो रे। पीपल अर्थात हिन्दु आध्यात्मवादी चेतना अनुसार ग्रह शान्ति एवं दोष निवारण गर्ने एक प्रतिक। यो कथा लेखनाथ दाइसँगै बन्दी अवस्थामा रहेको एक जना साथीको हो। नाम नखुलाइेको उक्त साथीको एउटा अचम्मको बानी रहेछ। एक दिन सबैको आँखा छलिने गरी  त्यो साथी पिपलको बोटको वरिपरि कसैले विचार नगर्ने शैलीमा घुमेछ र पीपलको बोट पनि कसैले नदेख्ने गरी छोएछ। कसैले देख्ला कि भनेर हात गोजीमा हालेर अली पर पुगेपछि पिपल छोएको हात सुटुक्क झिकेछ र ढोगेछ। स्वाहा।

विश्वास र अन्धविश्वास विल्कुलै विपरित बिषय हुन्।  ज्ञान प्रतिको प्रारम्भिक चेतना नै अन्धविश्वासी भए पछि को भौतिकवादी को मार्क्सवादी?
कि त निरन्तर प्रशिक्षण एवं अध्ययनबाट अन्धविश्वासका सम्पूर्ण अवशेष निर्मूल पार्न लागि रहनु पर्या होइन भने जति नै मार्क्सवाद र विज्ञान  पढे पनि अन्धविश्वासम् शरणम् गच्छामी हुने खतरा बढी हुन्छ। त्यसपछि ई बराबर एमसी स्क्वायर (E=mc²) भने पनि, ‘ब्ल्याक होल’ भने पनि, ‘बिग ब्याङ–क्रन्च’ भने पनि, डार्विन भने पनि, मेण्डल भने पनि , गुरुत्वाकर्षण भने पनि अन्तिममा हरि ॐ तत्सत जस्तो लाग्न थाल्छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.