नेकपामा ओली-नेपालको टकराव के हो ?

नेकपामा ओली-नेपालको टकराव के हो ?

फरक पृष्ठभूमि र व्यक्तित्व भएका ओली–नेपालबीच द्वन्द्व देखिए पनि खासखास मुद्दामा सम्झौता हुने गरेको छ


एकै राजनीतिक पुस्ताका नेता हुन्, प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री माधव नेपाल। दुवै नेताको सहयात्रा एकै पार्टीमा निरन्तर छ। ओली नेकपाको सर्वाेच्च पद अध्यक्ष हुन् भने नेपाल पार्टी वरियताको तेस्रो स्थानमा, अर्थात् वरिष्ठ नेताको हैसियतमा।

विपन्न पृष्ठभूमिबाट मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेका नेतामा गनिन्छन्, ओली। आमा गुमाएर टुहुरो भएका उनले बाल्यकालदेखि नै विषम परिस्थितिको सामना गरेका थिए। झापामा भएको अलिकति खेती पनि बाढीले बगाएपछि उनी किशोरावस्थामै कम्युनिस्ट नेता रामनाथ दाहालको आ श्रयमा बसेका थिए। ओलीको बाल्यकाल दुःखैदुःखमा बित्यो। अर्काका घरमा गोठालो बसेर उनले बाल्यकालको शिक्षा लिएका थिए तर उच्च शिक्षा पाएनन्।

ओलीको भन्दा फरक छ नेता नेपालको पृष्ठभूमि। बाल्यकालदेखि नै परिवारको छत्रछायामै हुर्कने र पढ्ने अवसर उनले पाएका थिए। त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक छन् नेपाल। राजनीतिमा आउनुअघि केही समय उनी बंैकका जागिरे थिए। तर ओलीले राजनीतिबाहेक अन्यलाई कहिल्यै पेसा बनाएनन्।

पार्टी संगठनमा भने तल्लै कमिटीबाट जिम्मेवारी लिँदै माथिल्लो सर्वाेच्च पदमा पुगेका नेता हुन् नेपाल। ओली भने २०४४ मा चौधबर्से जेल जीवनपछि केन्द्रीय समितिमा पुगेका थिए। भूगोलको जिम्मेवारी लिएर काम गरेको अनुभव ओलीमा नेपालको तुलनामा कम छ। ओलीका सन्तान छैनन्। नेपालका दुई सन्तान छन्। ओली–नेपाल दुवै राजनीतिको केन्द्रमा रहने र राजनीतिलाई आफूअनुकूल केन्द्रीकरण गर्न चाहने नेता हुन्।

ओलीमा वाक्पटुता छ। उनी आफ्नो विचार र अडानमा स्पष्ट छन्। नेता–कार्यकर्तालाई उखान–टुक्का मिसिएको चखिलो बोली सुन्न उनी बाध्य बनाउन सक्छन्, तर नेपालसँग ओलीको जस्तो वाक्पटुता छैन, लयबद्ध एकै रसको भाषण गर्छन् उनी।

नेपालले आफूलाई समन्वयकारी नेताका रूपमा चिनाएका छन्। सबैसँग मिलेर जान सक्ने क्षमता राख्छन्। तर ओलीमा मनोगतवादी र एकलकाँटे प्रवृत्ति पनि रहेको एमालेकै नेताहरू टिप्पणी गर्छन्। ओली लचकतामा भन्दा दृढतामा जोड दिन्छन्। ओली आफ्नो अडान हतपत छोड्न चाहँदैनन्। तर आवश्यकताका आधारमा नेपाल भने अडानमा लचिलो पनि हुन्छन्। ‘दुवै नेता सरल हुनुहुन्छ, कार्यकर्तालाई माया गर्नुहुन्छ, विकास निर्माणलाई उच्च प्राथमिकता दिनुहुन्छ। पार्टी र समाज परिवर्तनको कामलाई मुख्य ठान्नुहुन्छ’, नेकपा केन्द्रीय सदस्य रामेश्वर फुयाँल भन्छन्, ‘तर सिद्धान्तको विषयमा केपीजत्तिको जोड नेपालको हँदैन। नेपालमा परम्परावादी र ओलीमा नवीन सोच देखा पर्छ।’

ओली मिर्गौला रोगी छन्। दुवै मिर्गौला खराब भएपछि २०६४ मा उनको मिर्गौला प्रत्यारोपण गरिएको छ। त्यसयता उनी नियमित औषधि सेवन गरिरहेका छन्। नेपाललाई भने देखिने गरी कुनै रोग लागेको छैन। उनी नियमित योग गर्छन्।

एक वर्ष १५ दिन जेठा ओली

वरिष्ठ नेता नेपालभन्दा एक वर्ष १५ दिन जेठा छन्, प्रधानमन्त्री ओली। २००८ साल फागुन ११ गते तेह्रथुमको इवा गाउँमा जन्मिएका थिए ओली। नेपाल भने २००९ साल फागुन २६ मा रौतहटको गौरमा जन्मिएका हुन्। एकै पुस्ताका समकालीन राजनीतिज्ञ ओली–नेपाल दुवैले कम्युनिस्ट पार्टीको सदस्यता एकै साल २०२६ मा लिएका हुन्।

ओली २०२८ को ‘वर्गशत्रु सफाया क्रान्ति’ का नामले चिनिएको झापा आन्दोलनका प्रमुखमध्येका एक नेता थिए। त्यही वर्ष उनी जेल परे। २०२८ देखि ०४४ सालसम्म १४ वर्ष लामो समय उनले जेलमा बिताए। १४ वर्षको बीचमा नौपटक त उनलाई जेल नै सारिएको थियो।

वरिष्ठ नेता नेपाल भने सुरुमा माले मोरङमा आबद्धता जनाउँदै झापा आन्दोलन समूहसँग मिसिएर पार्टीमा स्थापित हुन पुगेका थिए। ओलीको जस्तो लामो जेल अनुभव त नेपालसँग छैन, तर उनले पनि २०३२ मा राजकाज मुद्दामा दुई वर्ष जेलमा बिताएका थिए।

अघि–अघि नेपाल, पछि–पछि ओली

पार्टीदेखि सरकारको मोर्चाको नेतृत्व गर्ने सन्दर्भमा नेपाल अघि–अघि छन् भने ओली पछि–पछि। नेपालले सीपी मैनाली, झलनाथ खनाल र मदन भण्डारी महासचिव हुँदा दोस्रो नेताका रूपमा पार्टीमा काम गरे। ३ जेठ २०५० मा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय मृत्युपछि उनले निरन्तर १५ वर्ष बढी पार्टीको नेतृत्व गरे। २०६४ को संविधानसभा चुनावमा पार्टी र आफूलगायत शीर्ष नेता पराजित भएपछि असफलताको नैतिक जिम्मेवारी लिँदै उनले महासचिव पद त्यागेका थिए। त्यसयता उनी पार्टीको सर्वाेच्च पदमा पुग्न सकेका छैनन्।

नेपालले नेतृत्व लिएको २० वर्षपछि मात्रै ओली पार्टीको सर्वाेच्च पदमा पुग्न सके। तर संयोग ओली वरिष्ठ नेता नेपाललाई नै पराजित गरेर २०७१ यता पार्टी अध्यक्षको जिम्मेवारीमा छन्। सरकारको सर्वाेच्च कार्यकारी पद प्रधानमन्त्रीमा पनि ओलीभन्दा नेपालले नै अघि आसीन हुने अवसर पाए। २०६६ जेठमा संविधानसभा चुनाव हारे पनि संसद्मै पुगेर प्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हाल्न पाए। ओलीलाई भने त्यो अवसर दोस्रो संविधानसभाको चुनावपछि २०७२ मा मात्र जु¥यो। ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको बागडोर सम्हालिरहेका छन्।

२०३५ सालमै तत्कालीन मालेका तीन शीर्षमध्ये एक नेता भइसकेका थिए नेपाल। त्यसबेला उनी पार्टीमा पोलिटब्युरो सदस्य थिए। तर ओली २०४४ मा जेलबाट छुटेपछि मात्र केन्द्रीय समितिमा आएका हुन्। २०४९ मा स्थायी समिति सदस्य भएका ओली २०७१ को नवौं महाधिवशेनबाट मात्र पार्टी अध्यक्ष भएका थिए।

खास–खास मोडमा एकै ठाउँ

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालका बीचमा खास–खास अवस्थामा सहकार्य भएका छन्। बाहिरबाट हेर्दा आपसमा मिल्नै नसक्नेजस्तो देखिए पनि राजनीतिक मुद्दामा भने यी दुई नेताका बीचमा समानता छ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार, मुख्य मुद्दामा ओली–नेपाल जहिल्यै एकै ठाउँमा छन्। ‘उहाँहरू (ओली–नेपाल) का बीचमा आन्दोलनका मूलभूत एजेन्डामा समानता र सहकार्य हुँदै आएको छ’, नेपाल प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य रिजाल भन्छन्, ‘जनताको बहुदलीय जनवाद, महाकाली सन्धि, पार्टी एकता र तत्कालीन माओवादीलाई हेर्ने दृष्टिकोणसम्ममा उहाँहरू एकै ठाउँमा उभिँदै आउनुभएको छ।’

माओवादीलाई हेर्ने दृष्टिकोणमा तत्कालीन एमालेभित्र दुई धार थियो। नेपाल–ओलीको एउटा धार र नेता झलनाथ खनाल र वामदेव गौतमको अर्काे धार। खनाल बुटवल महाधिवशेनबाट अध्यक्षमा निर्वाचित भएपछि माओवादीलाई हेर्ने दृष्टिकोणमा ओली–नेपाल सधैं एकै ठाउँमा उभिइरहे।

अतिवामपन्थतर्फ आकर्षित खनाल–गौतम समीकरण पार्टीको नेतृत्वमा रहे पनि त्यसलाई नेपाल–ओली समीकरणले ‘चेक’ गरेको थियो। पछिल्लोपटक पार्टी एकता, एकताका क्रममा ‘जबज’ लाई हेर्ने दृष्टिकोणलगायत मुद्दामा ओली–नेपाल एकै ठाउँमा उभिएका थिए।

गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिणामपछि दलको नेता चयनमा ओलीलाई नेपाल स्वयम्ले सर्वसम्मत दल नेताको प्रस्ताव गरेका थिए। राष्ट्रपति निवासबाट धुम्बाराहीस्थित पार्टी कार्यालयसम्म ओलीकै गाडीमा गएर बैठकमा नेपालले ओलीलाई संसदीय दल नेताको प्रस्ताव गरेका थिए। माओवादीसँग एकताको वार्ता चल्दै गर्दा जबजका विषयमा दुवै नेताले एकै मत राखेका थिए। त्यसले दुई नेतालाई एकै ठाउँमा ल्याइदिएको थियो।

मदन भण्डारीको रहस्यमय निधनपछि पार्टी महासचिव बन्ने बेला २०५० मा नेपाललाई ओलीले नै साथ दिएका थिए। नेपालले पनि ओलीलाई आवश्यकता पर्दा गुन लगाएकै देखिन्छ। आफ्नो समूहका नेताहरूको असन्तुष्टि र विरोध हुँदाहुँदै पनि नेपालले पनि ओलीलाई परेको बेलामा सहयोग गरेका छन्।

०५४ सालमा महाकाली सन्धिको विषयमा पार्टी विभाजित हुन पुग्दा नेपाल–ओली एकै भएर पार्टीको रक्षामा उभिए। ०६२/०६३ को जनआन्दोलनताका आन्दोलनबाट कहीं पुगिँदैन भनेर निस्क्रिय हुँदा ओली त्यसबेला आलोचित थिए। तर आन्दोलन सफल भएपछि नेपालले ओलीलाई नै उपप्रधानमन्त्रीसमेतको जिम्मेवारी दिलाएर सरकारमा पठाए। नेपाल समूहले नै ओलीलाई सरकारमा पठाउने निर्णयको विरोध ग¥यो। केही नेताहरूले समूह छोड्ने चेतावनी पनि दिए। त्यसबेला नेपालसँगै रहेका अमृत बोहोरा, ईश्वर पोखरेललगायतका नेताहरूले उनलाई छोडिदिए। तर नेपाल निर्णयबाट डग्मगाएनन्।

२०६६ मा नेपाल प्रधानमन्त्री बन्दा संसदमा प्रतिपक्षी माओवादी बलियो अवस्थामा थियो। उसले नेपाल नेतृत्वको सरकारलाई ‘कठपुतली’ को संज्ञा दिँदै चर्काे सडक आन्दोलन गरिरहेको थियो। पार्टीभित्रै माओवादी मुद्दा सम्बोधन गर्नुपर्नेमा वामदेव गौतम–झलनाथ खनाल देखिन्थे। तर ओलीले नै नेपाल नेतृत्वको सरकारको पक्षमा रक्षाकबचको काम गरेका थिए।

बुटवलको आठौं महाधिवशेनमा पनि नेपाल आफू अध्यक्षमा नउठेपछि उनले ओलीलाई सघाए। ओलीनिकट नेता रामेश्वर फुयाँल भन्छन्, ‘पार्टी ०५४ सालमा विभाजन हुँदादेखि अन्य अप्ठेरा–अप्ठेरा स्थितिमा दुवै नेताको जोडकोण फरक देखिए पनि राजनीतिक निर्णय प्रक्रियामा एकै ठाउँमा छन्।’

असन्तुष्टि पनि उत्तिकै

मुद्दाका आधारमा एक ठाउँमा देखिए पनि यी दुई नेताका बीचमा बेमेलका पनि अनेकन किस्सा जोडिएका छन्। पछिल्लोपटक पार्टी एकतापछि आफ्नो समूहका नेताहरूलाई पेल्ने रणनीतिमा ओली लागेको भन्दैै नेपाल असन्तुष्ट छन्। ५ असोजको सचिवालय बैठकले गरेको प्रदेश पदाधिकारी चयन आफू विदेश गएको मौकामा परामर्शबिनै गरिएकाले नमान्ने चेतावनी नेपालले दिएका छन्।

त्यति मात्र होइन, उनले ओली नेतृत्वको सरकारविरुद्ध संसदमै देश डुब्न लागेको भन्दै माझीको खोजीसमेत गरे। उनले पार्टी स्थायी समिति सदस्यहरूको भेला डाकेर सचिवालयको निर्णयमा सार्वजनिक असन्तुष्टि नै पोखेका छन्। यसले नेपाल–ओली सम्बन्धमा तीक्तता बढाएको छ। शीर्ष नेताहरूमा देखिएको यो विवाद तन्किएर दोस्रो पुस्ताका नेतासम्म पुगेको छ, जो आपसी आरोप÷प्रत्यारोपमा उत्रेका छन्।

तर प्रधानमन्त्री ओलीले ०२९ देखि नै नेता नेपालसँग आफू घनिष्ट सम्बन्धमा रहेको भन्दै अहिले देखिएको समस्या ठूलो नभएको दाबी गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभा र कोस्टारिकाको भ्रमणपछि स्वदेश फर्किने क्रममा प्रधानमन्त्री ओलीले विमानस्थलमा नेपालसँगको सम्बन्ध खोल्दै भने, ‘उहाँ (नेपाल) सँग मेरो २०२९ देखि लगातार सम्बन्ध छ। घनिष्टता र मित्रता छ। सँगै काम गरेको अनुभव छन्। यो ठूलो विषय होइन।’

करिब १५ वर्ष महासचिवको रूपमा पार्टीको नेतृत्व गर्दा पनि नेपालको पार्टीभित्रको प्रतिस्पर्धा ओलीसँगै चल्यो। २०५६ को संसदीय चुनाव र सातौं महाधिवशेनका बेलामा पनि ओली–नेपालका बीचमा अन्तरविरोध देखा परेको थियो। त्यसबेला ओलीले पार्टी महासचिव नेपाल भएकाले दलको नेता आफू बन्न चाहेका थिए, तर नेपालले दिएनन्। त्यसपछि नै ओलीले पार्टीभित्र गुट बनाउँदै आफूलाई शक्तिमा ल्याउने प्रयास थालेको नेताहरूको बुझाइ छ।

०७० को संसदीय दलको चुनावपछि पनि यी दुई नेताका बीचमा तीक्तता देखियो। पार्टीको आठौं महाधिवेशनमा ओलीलाई काँध थापेका नेपाल दलको चुनावमा तत्कालीन अध्यक्ष खनालको पक्षमा थिए। तर बाजी मारे ओलीले। ‘नेतृत्व हस्तान्तरण, उमेर पुगेका नेताहरूको अवकाश र नयाँ पुस्तालाई अवसर’ भन्ने नारा लिएर ओली दलको चुनावमा खनालसँग भिड्न पुगेका थिए।

तर ०४८ यता पार्टी नेतृत्वमा रहेका व्यक्ति नै दलको नेता पनि बन्ने परम्परा एमालेमा थियो। त्यो ओलीले भंग गरिदिए। खनाल पार्टी अध्यक्ष हुँदाहुँदै पनि उनले खनाललाई चुनावमा पराजित गरिदिए।

ओलीको पहिलो प्रधानमन्त्रीको कार्यकालमा सत्ता सहयात्री तत्कालीन माओवादीले समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गरायो। त्यसबेला नेपालले ओलीको बचाउ गर्नुको सट्टा संसदमा कार्यशैलीगत कमजोरीको प्रश्न मात्रै उठाइदिए। त्यसपछि त झन् ओली–नेपाल द्वन्द्व अस्वाभाविक चुलियो।

नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, ‘ओली नेपालको मिलापदेखि विवादसम्म खासगरी पदीय विषयकै केन्द्रविन्दुमा हुने गरेको छ।’

परिवर्तनप्रति अनुदार रबैया, वामपन्थी मान्यताको साटो लोकतन्त्र मात्र भन्ने, नैतिक आचरणमा लचकता, तथाकथित ‘अतिवाद’ सँगको निकटता जस्ता कारणले ओलीमा दक्षिणपन्थी रुझान रहेको देखाउँछ। प्रतिस्पर्धी दलहरूसँग मुद्दाअनुरूप सन्तुलित सहकार्य वा विरोध, सामाजिक न्यायसहितको लोकतन्त्रमा जोड, राजनीतिमा अपराधीकरण, भ्रष्टाचार तथा गलत आचरणको सख्त आलोचना र तदनुरूपको व्यवहारले नेपाल ओलीभन्दा भिन्न चरित्रका देखिन्छन्।

गतिशील, घुलमिल हुन सक्ने खुबी तथा कूटनीतिक क्षमता नेपालका प्रमुख गुण हुन्। निर्णय क्षमताको अभाव, अरूबाट छिट्टै प्रभावित हुने अवगुण पनि उनमा भएको नेपाल निकट नेताहरू नै स्वीकार गर्छन्।

ओली कार्यकर्ताका कुरा लामो समयसम्म पनि सुन्न सक्छन्। कार्यकर्ताका समस्यामा समाधान पनि खोज्न रुचाउँछन्। तर नेपाल कार्यकर्ताको पालो पु¥याउने गरी मात्र सुन्न रुचाउने गर्छन्। नेपाल सक्रिय रहने, समयअनुसार चल्ने स्वभावका छन् भने ओली निष्क्रिय र लामो कुराकानी गर्ने, समयको हेक्का नराख्ने छन्। आनीबानी हेर्दा दुई नेता विपरीत धुव्रका छन्। त्यसो त चुनौतीपूर्ण अवस्थाको समाधानमा चाल्ने कदममा पनि ओली–नेपालका दृष्टिकोण फरक हुने गरेको नेता फुयाँल बताउँछन्।

सरकारका सम्बन्धमा वरिष्ठ नेता नेपालले संसदमा गरेको सम्बोधन, प्रदेश पदाधिकारी चयनमा नेपालले जनाएको असहमति र उनले स्थायी समिति सदस्यका लागि आयोजना गरेको चियापान र त्यसलगत्तै स्थायी समति र केन्द्रीय समिति बैठक बोलाउन गरेको मागले नेकपाको राजनीति तरंगित छ।

‘चुनौतीको अवस्थामा ओली बहुमत-अल्पमत हेर्दैनन्’ फुयाँल भन्छन्, ‘तर नेपाल समग्र परिस्थिति हेरेर कति चुनौती मोल्ने भन्ने लेखाजोखा गर्छन्।’

अब कसरी जालान्?

तत्कालीन एमाले–माओवादीले जेठ ३ मा पार्टी एकता गरेपछि एउटै कम्युनिस्ट पार्टी बनाएका छन्, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)। पूर्वघटकका बीचमा खास असहमति र विवाद देखिएको छैन, जति अहिले नेकपाभित्र ओली–नेपालका बीचमा मतभेद देखिएका छन्।

सरकारका सम्बन्धमा वरिष्ठ नेता नेपालले संसदमा गरेको सम्बोधन, प्रदेश पदाधिकारी चयनमा नेपालले जनाएको असहमति र उनले स्थायी समिति सदस्यका लागि आयोजना गरेको चियापान र त्यसलगत्तै स्थायी समति र केन्द्रीय समिति बैठक बोलाउन गरेको मागले नेकपाको राजनीति तरंगित छ।

यहीबीचमा विदेशमा रहेका दुवै नेता बिहीबार स्वदेश फर्केका छन्। प्रदेश पदाधिकारी चयन र सरकारको गतिशीलताका विषयमा नेता नेपालले उठाएको प्रश्नलाई ओलीले चित्त नबुझ्दाको अभिव्यक्ति मात्र ठानेका छन्।

‘मान्छेमान्छेके बीचमा कहिले–कहिले के कुरामा अलिकति चित्त बुझेको हँदैन। कवि मनले कवितात्मक ढंगले, लयात्मक ढंगले केही भनिहालियो भने त्यसैलाई समातेर कुद्नुपर्ने छैन’ प्रधानमन्त्रीले नेपालबारे टिप्पणी गर्दै भने, ‘मैले त सबै सुनेको छैन। अलिक कवितात्मक ढंगले एउटा पुरानो गीत सम्झनुभयो भन्ने छ। बोल्दै जाँदा त्यस्तो पुरानो गीत सम्झना हुन सक्छ। त्यसलाई ठूलो कुरा बनाउनुपर्ने केही छैन।’
ओली, पुष्पकमल दाहाल र नेता नेपालसमेत स्वदेश फर्किसकेको अवस्थामा अब एकदुई दिनभित्रै सचिवालयको बैठक बोलाउने र मतभेदका विषयमा छलफल हुने नेकपा नेताहरूले बताएका छन्। ‘सचिवालय बसेपछि देखिएका मतभेदको सहजीकरणको दिशामा जान्छ होला’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.