ह्युमपाइम घटना : दोषीलाई कारबाही गर्न सरकारसँग माग
वीरगन्ज : वीरगन्जमा सोमबार ह्युम पाइपले च्यापिएर एकको मृत्यु र तीनजना घाइते भएको घटनामा कालिका कन्ट्रक्सन प्रालि दोषी रहेको भन्दै सांसदले कारबाहीको माग गरेका छन्।
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगन्जको लालबंगला परिसरमा असुरक्षित तरिकाले ह्युम पाइप राख्ने कम्पनीलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
मङगलबार अपरान्ह प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेलाई उनकै कार्यकक्षमा भेटेर ज्ञापनपत्र बुझाउदै यादवले बालबालिका खेल्ने स्थानमा असुरक्षित तरिकाले ह्युम पाइप चाङ लगाएर थुपार्ने कम्पनीलाई कारबाही गर्न माग गरेका हुन्। उनले ज्ञापनपत्रमा कालिका कन्ट्रक्सन र त्यहा ह्युम पाइप राख्न दिने निकाय दुवैलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
सांसद यादवलले घाइते बालिकाको निशुल्क उपचार गरिदिन र मृतक बालकका परिवारलाई राहत उपलब्ध गराइ दिन पनि सरकारसँग माग गरेका छन्।
मङलबार नै सांसद यादवले शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईलाइ पनि भेटेर ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझे लगत्तै मन्त्री राईले घटनाका बारेमा छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न मन्त्रालयका सचिवलाइ निर्देशन पनि दिइसकेको सांसद यादवले जानकारी दिए।
कालिकाकै लापरबाहीका कारण दुःखद घटना भएकाले यसको सम्पूर्ण जिम्मेवारी कालिकाले नै लिनु पर्ने यादवको भनाइ छ।
यसअघि मङगलबार बिहान, ह्युमपाइपले च्यापिएर घाइते भइ उपचार गराइ रहेका तीनजना बालिकाको उपचारका लागि भनेर जनही २५ हजार रुपैयाँ प्रदान गरेका छन्।
राजधानीको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार गराइ रहेका अनुष्का चौधरी र अंकिता चौधरीलाई मङगलबार बिहान अस्पतालमै पुगेर सांसद यादवले जनही २५÷२५ हजार रुपैयाँ नगद सहयोग गरेका हुन्।
त्यही घटनामा घाइते भइ वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराइ रहेकी आयुषा यादवलाई पनि सांसद यादवले आफना प्रतिनिधिमार्फत् सहयोग रकम उपलब्ध गराएका छन्।
मृतक बालमुकुन्द राउत चौधरीका आठ वर्षीय छोरा रोहित चौधरीको परिवारलाई भने वीरगन्ज आए लगत्तै ५० हजार रुपैयाँ प्रदान गर्ने सांसद यादवले बताए।
घटनाको विषयमा जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपीक्षय छलफल भएको छ।
छलफलमा उपचार गराइ रहेका दुई बालिकाको उपचारका लागि ठेकेदार कालिका कन्ट्रक्सनले दुई लाख रुपैयाँ उपलब्ध गराएको छ। यस्तै कालिकाले मृतक बालकका परिवारलाई तत्कालका लागि किरिया खर्चको रकम दिने र क्षतिपूर्तिका लागि भने पछि छलफल गरेर रकम दिने सहमति जनाएको छ।
यस्तै वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार गराइ रहेकी अर्की बालिका आयुषा यादवको उपचार खर्च व्यवोहार्ने सहमति पनि कालीकाले जनाएको छ।