निर्मला हत्या प्रकरण : बस्न्यात नेतृत्वको अनुसन्धान टोली कञ्चनपुरमा
महेन्द्रनगर : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरण छानबिन गर्न एआईजी धीरु बस्न्यातको नेतृत्वमा गठित छानबिन समिति शुक्रबार कञ्चनपुर पुगेको छ। टोलीले निर्मलाका परिवार र अन्य पीडितसँग भेट गर्नुका साथै शव भेटिएको घटनास्थललगायत निरीक्षण गर्ने कार्यक्रम रहेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेरसिंह कडायतले जानकारी दिए।
टोलीले यसअघि निलम्बित एसपी डिल्लीराज विष्ट, डीएसपीद्वय अंगुर जीसी, ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का, जगदीश भट्ट, रामसिंह धामीसँग सोधपुछ र बयान लिइसकेको छ। सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन र एआईजी बस्न्यात नेतृत्वको अनुसन्धान टोलीकै सिफारिसपछि प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका छन्।
निर्मलाको बलात्कार र हत्याप्रकरणमा प्रहरीको भूमिका शंकास्पद देखिएपछि घटनाको गहन अनुसन्धान गर्न प्रहरीले बस्न्यात नेतृत्वमा ९ सदस्यीय समिति बनाएको हो। समितिमा एसएसपी उत्तम सुवेदी, नरेश शाहीसहित ८ जना सीबीआर र पोलिग्राफ टेस्ट गर्न सक्ने विज्ञ प्रहरी अधिकृत सदस्य छन्।
सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा प्रहरीकै लापरबाही रहेको निष्कर्षसहित प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। साउन १० गते घरबाट साथीकहाँ हिँडेकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त साउन ११ गते मृत अवस्थामा उखुबारीमा भेटिएकी थिइन्।