सिन्धुलीमा फेरि दुर्घटना : माइक्रो खस्यो, बस पल्टियो, ३२ घाइते
सिन्धुली : बिपी राजमार्गमा शनिबार बस र माइक्रो दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
काठमाडौंबाट उदयपुरतर्फ आउँदै गरेको बा २ ख ५९३४ नम्बरको बस बिपी राजमार्ग अन्तरगत सिन्धुलीको सुनकोसी गाउँपालिका ३ बोहोरे टारमा दुर्घटना भएको हो।
बस दुर्घटना हुँदा ३० जना घाइते भएको सिन्धुली प्रहरीका प्रवक्ता लोक दर्शन थापाले जानकारी दिए। तिव्रगतीमा रहेको बस एक्कासी सडकमै चिप्लिएर दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ।
‘दुर्घटनामा ३० जना घाइते भएका छन्। घाइतेमध्ये त्रियुगा नगरपालिका उदयपुरका २२ वर्षका मिनेश्वर चौधरीको अवस्था गम्भीर छ। उनलाई प्रहरी र स्थानीयले उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको छ,’ उनले भने। अन्य घाइतेहरूको भरोसा अस्पताल रातमाटामा उपचार भइरहेको छ।
सँगै शनिबारनै पूर्वमा यात्रु पुर्याएर काठमाडौँ फर्कदै गरेको इन्द्रेणी यातायातको माइक्रो नेपालथोकमा दुर्घटना भएको छ।
दुर्घटनामा परेको माइक्रोको नम्बर भने खुल्न सकेको छैन्। दुर्घटनामा चालक र सहचालक घाइते भएका छन्। उनीहरुको उपचार धुलिखेलमा भइरहेको छ। माइक्रो सडकबाट १० फिट तल खसेको छ।
बिपी राजमार्गको घुमाउरो र साँघुरो सडकमा यात्रुलाई काठमाडौंबाट घरघरमा पुर्याउन एउटै सवारी साधन दुई पटकसम्म ओहोर दोहोर गराउन व्यवसायि लागि पर्दा बढी दुर्घटना हुने गरेको यात्रुको भनाइ छ।
शुक्रबारमात्र सिन्धुलीको सुनकोशी गाउँपालिका ५ रिठ्ठेभीरमा मरिणबाट काठमाडौं हिड्ेको बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।