प्रचण्डले पिङ खेलेपछि स्थानीयले भने, प्रचण्ड त भर्खरको पो देखिँदा रै'छन्
ललितपुर : ढोलाहिटीमा पिङ खेल्दै नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले टोलबासीसँग दसैंको शुभकामना आदानप्रदान गरेका छन्। टोलबासीले बनाएको पिङ उद्घाटन गर्दै दाहालले गाउँको याद दिलाएको बताएका छन्।
दाहाल निवासबाट करिब सय मिटर नजिकै कान्तिनगर टोलविकास समितिले घटस्थापनाका दिन पिङ हालेको थियो। पिङ बनाएपछि त्यसमा ताल्चा लगाइँदा धेरै जना चकित भएका थिए। पिङमा ताला लगाउनुको कारण भने दाहालले उद्घाटनको पर्खाइ थियो। पिङ उद्घाटनपछि शनिबारदेखि सर्वसाधारणाका लागि खुला गरिएको हो। पिङमा एकछिन मच्चिएपछि उनले भने, ‘सहरमा पिङ खेल्दा गाउँको याद आयो।’ पिङ संस्कृतिसँग जोडिएको र यसलाई जगेर्ना गरेको भन्दै दाहालले टोलवासीको प्रशंसा गरे।
स्थानीयको विकासप्रतिको उत्सुकता देखेर खुसी भएका दाहालले सडक, खानेपानीलगायत समस्या तुरुन्त समाधान गर्ने आश्वासन दिए। एउटै टोलमा बसे पनि नेता दाहाललाई नदेखेका स्थानीयले प्रत्यक्ष भेट्न पाउँदा खुसी भएका थिए। ढोलाहिटी बस्दै आएकी मनकुमारी राईले भनिन्, ‘प्रचण्ड त भर्खरको पो देखिँदा रै’छन्।’
कान्तिनगर टोल विकास समितिका अध्यक्ष लीलाराज वान्तवाले केही वर्षदेखि टोलबासीबीच सुमधुर सम्बन्ध कायम गर्न पिङ हालिँदै आएको बताए। यसै बहानामा पिङ खेल्दै दसैंको शुभकामना आदानप्रदान गर्ने गरेको उनले बताए। यो वर्ष विधिवत् रूपमा पिङको उद्घाटन भयो’, वान्तवाले खुसी व्यक्त गरे। कार्यक्रममा उपस्थित १५ नम्बर वडाका अध्यक्ष सुदर्शन मि श्रले टोलबासीको संस्कृतिप्रतिको मोह लोभलाग्दो भएको बताए। साथै उनले तिहारअघिसम्म चापागाउँ–ढोलाहिटी सडक कालोपत्रे गरिसक्ने योजना बनाइएको बताए।
प्रतिक्रिया दिनुहोस !