गोलभेंडाखेतीबाट मनग्गे आम्दानी
सिन्धुली : जलकन्या गाविस ५ चपौली निवासी खडिन्द्र चौलागाई गत वर्ष बेमौसमी गोलभेंडाखेती गरेर आठ लाख रुपैयाँ आम्दानी लिन सफल भए। ६० हजार रुपैयाँ लगानी गरेर १० रोपनी जग्गामा टनेलभित्र गरेको बेमौसमी गोलभेंडाखेतीबाट एक सिजनमै यो आम्दानी भएको हो। यो वर्ष पनि उक्त जमिनमा आफूले बेमौसमी गोलभेंडाखेती गरेको र कम्तीमा सात लाख रुपैयाँ आम्दानी गर्ने उनको सोचाइ छ।
‘सुरुदेखिनै मैले प्लास्टिकको टनेलभित्र गोलभेंडाखेती गर्दै आएको छु। टनेलका कारण चर्को घाम शित पानी, हावा हुण्डरी तथा असिनाबाट जोगाउने भएका कारण उत्पादनमा वृद्धि हुँदो रहेछ। उत्पादन वृद्धि भएपछि खर्चअनुसार आम्दानी पनि राम्रै हुने गरेको छ’, गोलभेंडाखेतीबारे अनुभव सुनाउँदै चौलगाईंले भने।
‘गाउँमा अरु किसानले पनि यस्तै प्रविधिबाट गोलभेंडाखेती गरेका छन्, उनीहरूले पनि राम्रै कमाएका छन्’ ,उनले भने। प्रायः सबैकोमा राम्रै फलेको छ। आफूले एक दिनमा २० हजार रुपैयाँसम्मको गोलभेंडा बिक्री गरेको चौलागाईंले स्मरण गरे।
‘मकै र अन्य बाली मासेर गोलभेंडा लगाएकाले डुबिने चिन्ता परेको थियो, तर त्यस्तो भएन। सोचेभन्दा बढी आम्दानी लिन सफल भए’, उनले थपे।
प्लास्टिक टनेलबाट जलकन्या गाविसमै पहिलो पटक गोलभेंडाखेती गरेकी अर्की कृषक मनमायाँ गौतम समेत चौलागाईं दम्पतीको खेती देखेर छक्क परेकी छन्। टनेल प्रविधिबाट खेती गर्दा त झन् बढी आम्दानी लिन सकिँदो रहेछ’, उनले भनिन्, ‘अर्को वर्षदेखि म पनि खेती विस्तार गर्ने सोचाइमा छु।’
ग्रामीण क्षेत्रमा गरेको बेमौसमी गोलभेंडा खेतीबाट हुने उत्पादन बिक्री गर्ने बजार सदरमुकाम सिन्धुलीमाढी रहेको गोलभेंडा खेतीमा संलग्न जलकन्या गाविस-७ निवासी कृषक डम्बरबहादुर देवकोटा बताउँछन्।
जलकन्या, रतनचुरा, भद्रकाली, भीमेश्वर, रातमाटा, पुरानो झाँगाझोली, कपीलाकोट तथा कमलामाई नगरपालिका क्षेत्रका अधिकांश तरकारीखेती गर्ने कृषकले टनेल प्रविधि प्रयोग गर्दै आएका छन्।
‘व्यापारीको पहिले नै अडर आउँछ, गाउँमै गाडी चल्ने हुनाले टिपेर टोकरीमा हालेर पठाइ दिन्छु’, उनले भने, ‘बिक्री गर्न कुनै समस्या छैन, कमाइ पनि राम्रै हुँदै आएको छ।’ गोलभेंडाखेतीबाट राम्रै कमाइ हुने गरेकोले काठमाडौंमा गरेको व्यापार व्यवसाय छाडेर गाउँमै फर्किएर उक्त खेतीमा संलग्न भएको देबकोटाको भनाइ छ।
यस्ता कृषक र गोलभेंडाखेती विस्तारका उदाहरण जिल्लामा थुप्रैछन्। जिल्ला कृषि विकास कार्यालय तथा विभिन्न गैरसरकारी संघसंस्थाले समेत गोलभेंडाखेतीका लागि टनेल निर्माणमा सहयोग गर्न थालेपछि जिल्लाका ६ सय बढी कृषक यस्तो प्रविधि अपनाउँदै आएका छन्।
जलकन्या, रतनचुरा, भद्रकाली, भीमेश्वर, रातमाटा, पुरानो झाँगाझोली, कपीलाकोट तथा कमलामाई नगरपालिका क्षेत्रका अधिकांश तरकारीखेती गर्ने कृषकले टनेल प्रविधिकै प्रयोग गर्दै आएका छन्।
कमलाखोंच तथा रानीचुरी, भिमस्थान बेलघारीका कृषकसमेत यस्तो प्रविधिको प्रयोग गर्दै मनग्गे आम्दानी लिन सफल भएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत देवराज अधिको भनाइ छ।
टनेल निर्माण गर्न १० देखि २० हजार रुपैयाँसम्म लगानी लाग्ने भए पनि कृषकको लागत, मेहनत, बिउबिजनको लगानी सबै कटाएर पनि राम्रो आम्दानी लिन सक्ने अधिकृत अधिकारीको भनाइ छ। टनेलमा गोलभेंडा खेती गर्ने यहाँका कृषकले कम्तीमा ५० हजार रुपैयाँदेखि आठ लाख रुपैयाँसम्म आम्दानी लिँदै आएका छन्।
राम्रो आम्दानी हुने भएपछि जिल्लामा क्रियाशील विभिन्न गैरसरकारी संघसंस्थाले कृषकलाई बेमौसमी तरकारीखेतीे तालिम दिई आवश्यक प्रविधि तथा बिउबिजन उपलब्ध गराएपछि कृषक त्यसतर्फ थप आकर्षित भएका छन्। सदरमुकाम सिन्धुलीमाढी आउदा प्लास्टिकको झोलामा एक दुई किलो गोलभेंडा ल्याइ छाक टार्ने सबैजसो कृषकको खेतबारीमा यतिखेर गोलभेडा बिक्रीकै लागि उत्पादन हुने गरेको छ।