रात्रिकालीन क्रिकेटमा दर्शकको आकर्षण : दिउँसोको भन्दा धेरै दर्शक
इटहरी : इनरुवाका शिवु यादव केही समयअघि फूलबारी क्रिकेट क्लबबाट क्रिकेट खेल्न भारत पुगेका थिए। उनले त्यहाँ पहिलोपटक रात्रिकालीन क्रिकेटको अनुभव लिए। त्यही अनुभवले उनलाई पनि नेपालमा रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना गर्ने इच्छा जाग्यो।
उनले त्यसको पहल पनि सुरु गरिहाले। पहिलोपटक हुँदै गरेको रात्रिकालीन प्रतियोगिता र सो प्रतियोगिताका लागि जुटाउनुपर्ने आर्थिक सहयोगका कारण यो अभियान पूरा गर्न कम चुनौतीपूर्ण थिएन। यद्यपि प्रतियोगिताका लागि राम्रो प्रायोजन जुटे। इनरुवा नगरपालिकाले नै गर्ने भयो प्रतियोगिताको मुख्य प्रायोजन। ‘पुरानो सदरमुकाम बजार भए पनि इनरुवा सुविधाका हिसाबले पछि परेको ठाउँ हो। त्यसैले इनरुवालाई केही कुरामा खास बनाउन सकिन्छ भनेर रात्रिकालीन क्रिकेट आयोजना गर्ने योजना बनायौं। आर्थिक हिसाबले हाम्रा लागि चुनौतीपूर्ण थियो’, यादवले भने, ‘यद्यपि राम्रै प्रायोजन जुटे। त्यसले केही हौसला पनि बढ्यो र प्रतियोगिता आयोजनामा लाग्यांै।’ प्रतियोगिता आइतबार अबेर राति सम्पन्न भएको छ।
प्रतियोगिता सफल रूपमा सम्पन्न हुँदा उनलाई पनि खुसी महसुस भएको छ। उनी भारतमा आफूले लिएको अनुभवबाट इनरुवामा पहिलोपटक रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना गर्न सहज बनेको बताउँछन्।
‘प्रतियोगिता सफल रूपमा सम्पन्न भएको महसुस गरेको छु। यसअघि भारतमा खेल्न जाँदा बटुलेको अनुभवले प्रतियोगिता आयोजनामा निकै सहज बन्यो’, यादव भन्छन्, ‘ड्युज बल प्रयोग गर्दा राम्रो लाइट र ग्राउन्ड चाहिने भएकाले यसअघि नेपालमा लन टेनिसको बल प्रयोग गरेर क्रिकेट गराइएको थियो। यद्यपि हामीले लाइटको राम्रो व्यवस्था गरेर ड्युज बलमै प्रतियोगिता गरायौं।’
त्यसले प्रतियोगिताको खर्च भने बढाएको छ। प्रतियोगिता सम्पन्न गर्न २२ लाख रकम खर्च भएको बताएका यादवले बत्तीकै लागि दैनिक झन्डै दुई लाख तिर्नु परेको सुनाए। उनले प्रतियोगिताका लागि सुनसरी, मोरङ र भारतबाट समेत बत्ती जुटाएको बताए।
आफूले गरेको मेहनत र खर्चअनुसार प्रतियोगिता भव्य रूपमा सम्पन्न हुँदा भने उनलाई निकै खुसी मिलेको छ। प्रतियोगिताको फाइनल खेल हेर्न मात्रै २० हजार दर्शक उपस्थित भएका थिए। उनले छोटो समयका कारण दर्शकका लागि प्यारापिटको व्यवस्था भने गर्न नसकिएको बताए।
‘हामीले सोचेको भन्दा बढी दर्शकको उपस्थिति भयो’, उनी भन्छन्, ‘यद्यपि दर्शकका लागि प्यारापिटको व्यवस्था भने गर्न सकिएन। छोटो अवधिमा प्रतियोगिता आयोजना गर्नु परेका कारण प्यारापिट निर्माण गर्न सकेनौं। आगामी प्रतियोगितामा पक्कै निर्माण गर्ने छौं।’
रात्रिकालीन क्रिकेटको उपाधि पुलिसलाई
सुनसरीको इनरुवामा भएको प्रथम मेयर कप रात्रिकालीन टिट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ। फाइनल खेलमा विराटनगरलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो। जितसँगै पुलिसले एक लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। विराटनगरले भने ७५ हजारमा चित्त बुझायो।
टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगर १७.६ ओभरमा ८४ रनको झिनो योगफलमै समेटिन पुग्यो। ८५ रनको सामान्य लक्ष्य पुलिसले १६.१ ओभर मात्रै चार विकेट गुमाएर पार गरेको थियो। पुलिसको जितमा अमित श्रेष्ठले अविजित ४८ रनको महत्वपूर्ण योगदान दिए।
फूलबारी क्रिकेट क्लबको आयोजना तथा इनरुवा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिता नेपालको पहिलो रात्रिकालीन क्रिकेट प्रतियोगिता हो। यो प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिइने इनरुवा नगरपालिकाका मेयर राजन मेहताले जानकारी दिए।