नपाक्दै जुनार बजारमा
सिन्धुली : सिन्धुलीको जुनार सिजन अघि नै बजारमा ल्याइएको छ। कृषकले महँगो मूल्यमा बिक्री गर्न पाइने भन्दै पाक्दै नपाकेको काँचो जुनार बजारमा बिक्री गर्न ल्याएका हुन्। सामान्यतय मंसिर दोस्रो साताबाट फल खानयोग्य हुने जुनार चाडवाडको मौका छोपी कृषकले आफूखुसी बजारमा बिक्री गर्न ल्याउन थालेको जुनार विकास संघ सिन्धुलीका अध्यक्ष कर्णबहादुर आलेले गुनासो गरे।
‘प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तरगत ‘जुनार जोन’ परियोजना सञ्चालन भएका सिन्धुली र रामेछाप जिल्ला अन्तरगतका विभिन्न कृषकले नै हरियोमै जुनार टिपेर बिक्री गर्ने गरेका छन्’, आलेले भने। परियोजनाले लाखौं रुपैयाँको आर्थिक तथा प्राविधिक र विभिन्न औजार प्रदान गर्दै आएका ‘जुनार जोन’ परियोजना समेत आबद्ध कृषकले काँचोमै जुनार टिपेर बजार बिक्री गर्न थालेकोले जुनारको जिल्ला भनेर परिचित सिन्धुली र रामेछापमा पहिचान र गुणस्तरमै प्रश्नचिन्ह उठाउने काम गरेको भन्दै आलेले आक्रोस समेत व्यक्त गरे।
‘आफूहरूले पटकपटक कृषकलाई सिजन नै नभइ जुनार बजारमा बिक्री गर्न नल्याउन भने पनि कृषकले मानेका छैनन्। उनीहरूलाई जुनार जोन र जुनार विकास संघले पनि सहयोग गर्दैन’, उनले भने। व्यापारीले बँगैचामै पुगेर राम्रो मूल्य दिएर कृषकलाई फकाउँदै बजारमा ल्याएर बिक्री गर्ने गर्दा जुनारको स्वाद र गुणस्तर भने नहुँने जुनार संघका निवर्तमान अध्यक्ष तिलक थापाको भनाइ छ। उक्त परियोजना अन्तरगत उत्पादित जुनारलाई गुणस्तरीय र रोग किरा रहित उत्पादन गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत खपत गराउने लक्ष्य लिएको भए पनि कृषकले लापरबाही गर्दै जुनार सिजन अघिनै बजारमा ल्याउँदा गुणस्तरमा समेत समस्या आउने जानकार बताउँछन्।
सिन्धुलीको खनियाँखर्क, जलकन्या, बाँसेश्वर, भुवनेश्वरी, तीनकन्यालगायतमा जुनारको व्यावसायिक खेती गरिँदै आएको छ। तर, कृषकले असोजदेखि नै बीपी राजमार्गका विभिन्न सडक र जिल्ला सदरमुकाम तथा खुर्कोट, मन्थली, रामेछापलगायत बजारमा पुर्याएर बिक्री गर्ने गरेको बताइएको छ।
उता हरियो जुनारनै बजारमा ल्याएर बिक्री गर्न थालेको भन्दै जुनार जोन परियोजनाले त्यस्ता कृषकलाई परियोजनाले प्रदान गर्दै आएको कुनै पनि सुविधा नदिने चेतावनी दिएको छ। जुनारको गुणस्तरका लागि समेत सिजन सम्म पर्खनुपर्ने भन्दै सिजन अघि नै जुनार बिक्री गरेर बँगैचा रित्तो बनाउनेलाई कुनै पनि सुविधा प्रदान नगर्ने भन्दै सार्वजनिक सूचना नै जारी गरेको छ।
राम्रोसँग जुनारको फल नपाके पनि व्यापारीले राम्रो मूल्य दिएपछि आफूहरूले बाध्य भएर काँचो जुनार बिक्री गर्नु परेको कृषकको भनाइ छ। चाडबाडका कारण जुनार फलको माग बढेका कारण आफूहरूले हरियो नै भए पनि जुनार बिक्री गरेको जुनार कृषक वासु श्रेष्ठ बताउँछन्।