पाइन छाडे लिंगे पिङ
जाजरकोट : केही वर्ष अघिसम्म जाजरकोटका विभिन्न गाउँबस्तीमा दसैंको अवसरमा जताततै लिंगे पिङहरू हालिन्थे। युवादेखि वृद्धवृद्धासम्म पिङमै रमाउँथे। तर अचेल गाउँबस्तीमा दसैंको अवसरमा हालिने यस्ता पिङ देखिन छोडेका छन्। सदरमुकामका बजार र बस्तीहरूसँगै दुर्गम गाउँका विकट बस्तीमा पनि दसैंं तिहारमा लिंगे पिङ र चंगा उडेको मज्जाले देख्न पाइन्थ्यो ।
दसैंंको घटस्थापनासँगै गाउँगाउँमा लिंगे पिङ बनाउन प्रतिस्पर्धा हुने गथ्र्यो। युवतीहरूले जंगलबाट खर काटेर ल्याउने गर्थे भने युवा बाँसका लिंगे ल्याएर पिङ बनाउने काम गर्थे। पिङले मनोरञ्जनका साथै भाइचारा र संस्कृतिको विकासमा पनि टेवा पुर्याउने काम गर्ने भए पनि उक्त परम्परा हराउँदै गएकोमा भरी नगरपालिका ३ का ८१ वर्षीय तेजविक्रम शाह चिन्ता व्यक्त गर्छन्। ‘आज भोलि कतै पनि दसैंंमा लिंगे पिंग बनाएको र गाउँमा रमाइलो गर्दै रंगीविरंगी चंगाहरू उडाएको देखिँदैन’, उनले भने, ‘सबै कुराको नक्कल गर्ने नयाँ पुस्ताको चलनले पुरानो मौलिक परम्पराको रूपमा रहेका सबै चलन बिस्तारै हराउँदै गएको छ। युवा पुस्ताले समयमा संरक्षणमा ध्यान नदिने हो भने हाम्रा मौलिक परम्परा र संस्कृति लोप भएर जानेछन् ।’
गाउँमा चंगा उडाएको, मौलिक स्थानीय गीतसंगीत र बाजाहरूको आवाज घन्किएको र लिंगे पिंग मच्चिएको देखिन छोडेपछि दसैंं तिहार लगायतका पर्वको रौनक घट्दै गएको बुढापाका बताउँछन्। अघिल्लो पुस्ताका मानिसका चलन र परम्परालाई नयाँ पुस्ताका युवाले निरन्तरता नदिँदा मौलिक चलनहरू ओझेल पर्नेमात्र नभइ हराउने खतरा रहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। उनले स्थानीय सरकारहरू, युवा र सर्वसाधारणले संस्कृति संरक्षणतर्फ ध्यान नदिएका कारण हाम्रा चाडपर्व निरस बन्न पुगेको गुनासो गरे ।
जिल्लाका विभिन्न बस्तीमा मौलिक परम्पराको रूपमा रहेका लिंगे पिङ खेल्ने, चंगा उडाउने, स्थानीय लोकबाजा तथा गीत संगीतहरूको प्रयोग गर्ने, सिंगारु, सरिङ, ख्याले, टप्पा लगायतका नाचहरू हराउँदै गएको पाइन्छ। मुलुकमा संघीयता कार्यन्वयनमा आएपछि झन् स्थानीय सरकार, समुदाय र युवा पुस्ताले कला, संस्कृति, परम्परा र चलनको संरक्षण गरी आउने पुस्तामा हस्तान्तरणको तयारी गर्नुपर्नेमा आफैंले भुल्दै गएको बुढापाकाको भनाइ छ ।
यसैबीच, जिल्लाका गाउँबस्तीमा लिंगे पिङ हराउन थालिसकेका छन् तर नेपाली सेनाले भने संस्कृतिको जगेर्ना गर्ने भन्दै दसैंमा लिंगे पिङ हाल्ने परम्परालाई निरन्तरता दिएको छ। सदरमुकाम खलंगास्थित ज्वालादल गणले दसैंको अवसर पारेर पिङ हालेको हो। स्थानीयवासी सेनाको ब्यारेकको पिङ खेल्न जाने गरेका छन्। सेनाले हरेक वर्ष ब्यारेकभित्रै पिङ हाल्ने गरेको सेनानी निरञ्जन कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस !