दैत्यकाे संहार गर्ने देवी तकटी अजिमा
ती सबै भयंकर क्रोधमा थिए। शरीर पनि पूरै कापिरहेको थियो। ठूल्ठूला आँखा तर्दै रिसले नाकको फोरा फुलाउँदै थिए। त्यसमाथि दुवै हातले पाया (खड्ग) समातेर आकाशतिर तेस्र्याएका थिए। ठ्याक्कै पशुलाई बलि दिँदा मार हान्न लागेको ‘पोजिसन’ थियो त्यो। टीकाको साँझ कोहिटीको पाया खड्ग जात्रामा सहभागीहरूको देखिएको दृश्य हो यो।
असत्यमाथि सत्यको जितको रूपमा काठमाडौं उपत्यकामा खड्ग जात्रा मनाइन्छ। कोहिटीका स्थानीयले यही परम्परालाई निरन्तरता दिएका थिए। टेबहाल, महाबौद्ध, ओटु र कंकेश्वरी (चर्खा) मा खड्ग जात्रा सम्पन्न भएपछि अन्त्यमा साँझपख कोहिटीमा यो जात्रा मनाइन्छ। एउटा खड्ग जात्रा नसकी अर्को सुरु नगर्ने काठमाडौंको यो जात्रालाई सुव्यवस्थित गरिएको जात्राका गुठियारहरू बताउँछन्।
फरकजात्रा कोहिटीको ओरालो बाटो छेउमै छ ढुंगेधारा। सँगै छ द्यःछेँ (देवता घर)। साँझको ठीक ७ बजे द्यःछेँबाट एक व्यक्ति बाहिर निस्किए। उनको हातमा भुयु फसी (कुभिण्डो) थियो, जसमा दैत्यको चित्र कोरिएको थियो। त्यही दैत्यको संहार गर्र्न नीलवाराही देवी (तकटी अजिमा) आउने विश्वास गरिँदै थियो। मान्छेको खचाखच भीडले लाग्थ्यो, त्यहाँ ठूलै मान्छेको सवारी हुँदैछ। यत्तिकैमा सिपाहीजस्तै एक व्यक्ति हुर्रेर देवता घरबाट निस्केर बाटोका मान्छेहरू पन्छाउन थाले। पहेँलो वस्त्र पहिरिएका उनको हातमा ढाल र खड्ग थियो। स्थानीयहरू नेवारी भाषामा भन्दै थिए, ‘का बेताल ओल’ (ल बेताल आयो। सडकमा द्यःबाजँ (देवताबाजा) बजाउनेहरू देवीदेवताको स्वागत गर्न थाले।
कुभिण्डो समातेका व्यक्ति भीडबाट अगाडि बढेपछि उनलाई पछ्याउँदै देवीदेवताको अवतारमा १२ जना व्यक्ति लहरै बाटो छेउ आए। हातमा पाया (खड्ग) समातेर। ती नीलो, रातो, सेतो र सिन्दुरे रंगको पोसाकमा सजिएका थिए। स्थानीय उत्साहित हुँदै भन्न थाले, ‘का पाया जात्रा पिकात’ (ल खड्ग जात्रा सुरु भयो)। दशमीको त्यो रात शिरमा फेटा, शरीरमा जामा, पटुका लगाएका नीलवाराही (तकटी अजिमा), चामुण्डा, भैरवनाथ, गणेश, ब्रह्मायणी, महेश्वरी, नरसिंह, कुमारी, चण्डेश्वरी, नारायणी, इन्द्रायणी, शिवदूत हातमा खड्ग लिएर दैत्यहरूको संहार गर्न कोहिटिबाट सीधै भीमसेनथानतिर लागे। साथमा देउताबाजा र धिमे बाजा बजाउनेहरू पनि सँगसँगै थिए।
सबै देवहरूले भीमसेनथानबाट चिकमुगलको गल्ली, मजिपात हुँदै जैसीदेवल दोबाटोसम्म यात्रा गरे। बाटोभरि नै ती देवदेवीहरूले दैत्यलाई लखेटेको दृश्य साँच्चै रोमाञ्चक लाग्थ्यो। अन्त्यमा दैत्यको चित्र कोरिएको कुभिण्डोलाई जैसीदेवल ल्याइयो। र कोहिटी जाने ओरालोे बाटोको ठीक बीचमा राखियो। १२ जना देवीदेवताले उक्त कुभिण्डो मार हानेको दृश्य हेर्न मान्छेहरूको तँछाडमछाड नै चल्यो। जात्रा हेर्न आउनेहरू देवताहरूको मनोबल बढाउँदै थिए। कोही देवतालाई ढोग्न खोज्दै थिए।
कोहिटीबाट निकालिएका बाह्रैजना देवीदेवताहरूमा नीलवाराही (तकटी अजिमा) सबैभन्दा शक्तिशाली हुन्। अर्को हो चामुण्डा र तेस्रोमा भैरवनाथ। तकटी अजिमाको रूप धारण गरेका थिए स्थानीय बेखानारायण महर्जनले (४३)। २०४७ साल देखि सत्रवर्षे उमेरदेखि उनले यो काम सम्हाल्दै आएका छन्। नेवार समुदायमा पनि महर्जन जातिले मनाउने कोहिटीको खड्ग जात्रामा गुठीका सदस्यले मात्र देवता बन्न पाउने परम्परा भएको गुठीका सदस्य मचाबाबु महर्जन बताउँछन्।
दशमीका दिन खड्ग जात्रा निकाल्न अष्टमी, नवमी र दशमी गरी तीन दिनसम्म लगातार द्यःछेँमा पूजा चल्छ।
तकटी अजिमाको महिमा
कोहिटीबाट निकालिने खड्ग जात्रामा १२ जना देवीदेवता भए पनि सबैभन्दा शक्तिशाली देवी तकटी अजिमा हुन्। उनी भैरवनाथकी कान्छी श्रीमती भएको विश्वास गरिन्छ। जेठी श्रीमतीको नाम चामुण्डा हो। स्थानीयका अनुसार बेखानारायण महर्जनको परिवारले मात्र तकटी अजिमा बन्न पाउँछन्।
गुठीका सदस्य त्रिरत्न महर्जन भन्छन्, ‘बेखानारायण र उनकी श्रीमती यहाँका नाय–नकी हुन् अर्थात् राजारानी जस्तै। जसले यो जात्रासँग जोडिएका थुप्रै कुराहरू सम्हाल्नुपर्ने हुन्छ।’ भन्छन्, ‘द्यःछेँमा जमरा राखेपछि गुठीका अन्य सदस्यहरूको घरमा पनि जमरा राख्नु पर्दैन।’
बेखानारायणका छोरा हाल नौ वर्षका भए। उमेर पुग्नेबित्तिकै उनले आफ्नो बुवाको स्थान लिनेछन्। बेखानारायणलाई देवता बन्दाको अनुभव बताउन नमिल्ने जनाउँछन्। देवता बन्ने दिन गुभाजूले मन्त्र फुकेर बनाएको जन्तर लगाइने हुनाले मनमा कुनै कुविचार नआउने गरेको भने उनले सुनाए। भन्छन्, ‘देवता बनेको दिन कुनै कुरा मनमा खेल्दैन। दिमाग शून्यप्रायः हुन्छ’।