‘मोडलिङमा धैर्य चाहिन्छ’
कुनैबेला उदयपुर, गाईघाटबाट मोडलिङमै करिअर बनाउँन काठमाडौँ आएकी मोडल रेखा राईको मोडलिङ अनुभूति
दुई वर्षदेखि मोडलिङ गर्दै आइरहेकी छु। काठमाडौँ आएपछि सुरुमा काम पाउनै गाह्रो भयो। मेरो विशेष रुचि डान्समा छ। बेली डान्स गर्छु। मैले राम्रो डान्स गर्न सक्छु भन्ने थाहा पाउनेहरूले बोलाएर काम दिन्छन्।
फिल्म ‘छक्का पञ्जा ३’ को प्रमोसन कार्यक्रममा पनि मैले नृत्य गर्ने अवसर पाएकी थिएँ। केही म्युजिक भिडियोमा काम गरेकी छु। मोडलिङका लागि बाहिरबाट काठमाडौँ आउनेहरूलाई यहाँ टिक्न गाह्रो छ। गलत फाइदा उठाउन खोज्नेले यो बनाइदिन्छ, यसो गरिदिन्छु भनेर गफ दिन्छन्।
कसले गफ मात्रै दिइरहेको छ, कसले काम पनि दिन्छ भनेर छुट्याउन सक्नुपर्छ। डान्स गरेर नाम र दाम कमाउन सकिन्छ भन्ने स्थापित गर्न म आफ्नो प्रतिभा निर्खान प्रयासरत छु।
आफूमा क्षमता र धैर्य भयो भने मोडलिङमा लागेर जीवन धान्न सकिने अवस्था छ। म अहिले स्टेज कार्यक्रम तथा म्युजिक भिडियोमा व्यस्त छु। खाली बस्नुपरेको छैन।
शब्द/प्रस्तुतिः सञ्जय रौनियार