ट्रम्पद्वारा सेनासम्बन्धी आदेशमा हस्ताक्षर : ट्रान्सजेन्डरलाई प्रतिबन्ध
कोरोनाविरुद्ध भ्याक्सिन नलगाएर बर्खास्त भएकालाई फेरि सेवामा फर्काउने
वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेनालाई पुनर्गठन गर्ने चार कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन्।
उक्त आदेशमा अमेरिकी सेनामा ट्रान्सजेन्डरलाई प्रतिबन्ध लगाउने, सेनाको विविधता, समानता र समावेशीकरण कार्यक्रमहरू समाप्त गर्ने, कोरोनाविरुद्ध भ्याक्सिन लगाउन अस्वीकार गरेको कारण बर्खास्त गरिएका सेनालाई फेरि सेवामा पुनर्स्थापित गर्ने कुरा समावेश छन्।
ट्रम्पले फ्लोरिडाबाट वासिङटन फर्कने क्रममा उडानमा नै उक्त कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेको जनाइएको छ।
रक्षा सचिव पिट हेगसेथले शनिबार शपथ लिएपछि उक्त निर्णयहरु बाहिर आएको हो। हेगसेथले लामो समयदेखि सेनामा परिवर्तन योजना बनाएको बताएका छन्।
ट्रम्पले आफ्नो पहिलो प्रशासनको समयमा २०१७ मा पनि सेनामा सेवा गर्ने ट्रान्सजेन्डर अमेरिकीहरूलाई प्रतिबन्ध लगाएका थिए। तर तत्कालीन राष्ट्रपति जो बाइडेनले २०२१ मा प्रतिबन्ध खारेज गरे।
गत हप्ता आफ्नो दोस्रो कार्यकालको लागि शपथ लिएको केही घण्टापछि नै ट्रम्पले ट्रान्सजेन्डर सदस्यहरूलाई सेवा गर्न अनुमति दिने बाइडेन प्रशासनको २०२१ को कदमलाई खारेज गर्ने आदेशमा हस्ताक्षर गरेका थिए।
२०१८ मा अमेरिकी सेनामा लगभग १४,००० ट्रान्सजेन्डर रहेको एक अध्ययनमा जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !