'स्कुल जान त मन लाग्छ'

'स्कुल जान त मन लाग्छ'

जन्मदर्ता नभई स्कुलले लिएन, घरमा शौचालय नभई जन्मदर्ता बनेन । र, पवित्राले पढ्न पाइनन् ।

सर्लाही ईश्वरपुर नगरपालिका–२ की पवित्रा ब्लोनले १३ वर्षको उमेरमा एक महिना मात्रै स्कुल टेकेकी छन् । महिना पुगेपछि स्कुलले भर्ना गर्न ‘जन्मदर्ता लिएर आऊ’ भन्यो । भोलिपल्ट बिहानै उनका बुवा सत्यसिंह ब्लोन–तामाङ जन्मदर्ताका लागि भक्तिपुर गाविस भवन पुगे । सचिवले कडा स्वरमा भने, ‘घरमा ट्वाइटेल छ ? ’ सत्यसिंहले मुन्टो हल्लाउँदै भने, ‘अहँ ।’ ‘ट्वाइलेट नबनाएसम्म जन्मदर्ता बन्दैन ।’ पवित्राका बुवा खिन्न मन लिएर फर्किए । त्यसपछि बन्द भयो, पवित्राका लागि एक किलोमिटर परको स्कुलको ढोका ।

गाविस सचिवको त्यही वाक्य सुनेर फर्किएको ४ वर्ष बित्यो । पवित्राका बुवाले न ट्वाइलेट बनाउन सके, न छोरीलाई स्कुल पठाउन । जन्मदर्ता, ट्वाइलेट, स्कुल, गरिबी यी चार शब्दको वरिपरि रिँगिरह्यो पवित्राको स्कुल जाने सपना । उनको बालस्मृतिबाट स्कुल गएका दिन बिस्तारै मेटिँदै छन् ।

पूर्वपश्चिम राजमार्गको सागरनाथ चोकबाट करिब ४ किलोमिटर जंगलको बाटो हिँडेपछि पवित्राको गाउँ मियाँखोर पुगिन्छ । गाउँको मुखैमा छ वरपीपलको रूख । त्यसैको छायामा छ एउटा दोकान । त्यही दोकान र वरपीपलको छहारीले बताउँछ, गाउँको कथा ।

दशमीको टीका सकिएको दुई दिन बितिसक्यो । तर यो गाउँमा पुग्दा दसंैको मध्यदिन चलिरहेझैं लाग्छ । बूढो वरपीपलको छहारीमा पलेँटी कसेर बसेका छन् गाउँले । कोही खैनी मोलिरहेका, कोही चुरोटको धूवाँ उडाइरहेका, कोही तास खेलिरहेका । कच्ची सडकमा उडिरहेको धूलो । चरनमा निस्किएको बाख्राको बथान । मोटरसाइकलको घुइँघुइँ ।

चौताराको पूर्वपट्टि एउटा देहाती दोकान छ । दोकानमा राखिएका छन्, जम्बो कोकका रंगीचंगी बोतल । चौतारामा तीनवटा तासको खाल छ । खेल्नेभन्दा हेर्नेको बाक्लो भीड । दोकानदारलाई भ्याइनभ्याइ छ ।

बालकहरू साइकलको टाङमुनि खुट्टा छिराएर किरिङकिरिङ पार्दै धूले सडकमा साइकल बेपत्ता कुदाउँछन् । बाख्राको बथान र मोटरको धूलोले चौतारा छोपिन्छ एकछिन । धूलोले छाडेपछि फेरि देखिन्छ, उस्तै कोलाहल ।

तास खेलिरहेका खेलाडी हौसिएर बुरुक्क उफ्रिन्छन्, बेलाबेलामा । कोही खेल्दाखेल्दै जुरुक्क उठ्छन् अनि दोकानको ठीक पछाडि गएर पिसाब फेर्छन् । हो, ठीक त्यही दोकानको पछाडि छ, पवित्राको जन्मघर । टायलले छाएको, माटोले टालेको, तला नभएको १० धुर ऐलानी जमिनमा बनेको भुइँघर ।

घरमा छिन् पवित्राकी सुस्त मनस्थितिकी आमा । उनको नाम दाङ्मो योञ्जन हो । उमेर कति पुग्यो उनलाई थाहा छैन । किनकि उनको नागरिकता छैन । कान कम सुन्ने बुवा छन्, ४५ वर्षीय । ३ कक्षा मात्रै पढेर छाडेका १५ वर्षीया दाइ गलैंचा बुन्न काठमाडौं गइसके ।

सत्यसिंहले ट्वाइलेट बनाउन १५ देखि २० हजार जति लाग्ने हिसाब निकाले । चारचौरास भौंतारिए पनि ट्वाइलेट बनाउन सकेनन् । हातमुख जोर्न धौधौ हुने अवस्थामा १५ हजारमा ट्वाइलेट बनाउनु निकै महँगो ठाने । त्यसपछि इँटाभट्टामा काम गरी पैसाको जोहो गर्न काठमाडांै हिँडे ।

पवित्रा स्कुल जान नपाएपछि घरमा त्यत्तिकै बसिरहिन् । आमाले स्कुल जाऊ भनिनन् । पवित्रा पनि स्कुल फेरि फर्केर गइनन् । ‘जन्मदर्ता नलिई कसरी जानु ? ,’ उनी सुस्तरी भन्छिन् । स्कुल नगएरै पवित्राको महिना बित्यो, वर्ष बित्यो । अब त स्कुल जानुपर्छ भन्ने पनि उनलाई लाग्न छाड्यो । बिस्तारै स्कुलको चौरमा साथीसँग खेलेका क्षणहरू धमिलो हुँदै गयो । बेलाबेलामा गाउँका साथीहरू स्कुल गइरहेको देख्दा उनी झस्किन्छिन् ।

इँटाभट्टाबाट सत्यसिंह फर्किए । तर त्यस वर्ष पैसा कमाइ भएन । ट्वाइलेट बनाउने अनि जन्मदर्ता बनाएर छोरीलाई स्कुल पठाउने योजना अधुरै रह्यो ।

पवित्रा जब १० वर्षकी भइन्, स्कुल होइन बुवासँगै इँटाभट्टामा काम गर्न काठमाडौं गइन् । एउटा चिसो हिँउद भक्तपुरको इँटाभट्टामा बिताइन् । बुवालाई सघाइन् । काँचो इँटा बोकिन् । फर्माको सहाराले इँटा बनाइन् । भन्छिन्, ‘इँटा बनाउन मलाई पनि आउँछ ।’

भट्टामा एक याम जाडो सहेपछि बाउछोरी गाउँ फर्किए । उनलाई आशा थियो, अब घरमा ट्वाइलेट बन्ने छ अनि जन्मदर्ता बन्नेछ । त्यसपछि कापी कलम च्यापेर स्कुल जान पाइनेछ । तर उनको आशा अधुरै रह्यो ।

गाउँ पुग्दा आमा बिरामी थिइन् । आमाको स्तनमा देखापरेको सानो डल्लोले ठूलो रूप लियो । गाउँलेले क्यान्सर हुन सक्ने आशंका गरे । कमाएको पैसाले नपुगेपछि गाउँलेले सहयोग गरे । केही पैसा जोहो गरेर गाउँको स्वास्थ्य चौकी, सहरको अस्पताल हुँदै भरतपुर क्यान्सर अस्तालसम्म श्रीमतीलाई देखाए । महिनौं बित्यो । रिपोर्ट आयो । धन्न क्यान्सर होइन रहेछ । सत्यसिंह भन्छन्, ‘ढुक्क त भएँ । तर औषधि खाइन्जेल ठीक हुने, खान छाड्नेबित्तिकै घाउ ठूलो हुँदै जाने भइरहेको छ ।’

डाक्टरले घाउ ठूलो हुँदै गए अपरेसन गर्नुपर्छ, नत्र क्यान्सर हुन सक्छ भनेका छन् उनलाई । भन्छन्, ‘अपरेसन गर्दा झन् समस्या होला । खै के गर्ने, के नगर्ने ।’ उनलाई छोरी पढाउन नसक्नुभन्दा अब श्रीमतीको रोगले पिरोलेको छ । ट्वाइलेट बनाउने अनि छोरीलाई स्कुल पठाउने सपना बिस्तारै झनै मधुरो हुँदै गएको छ ।

गत वर्ष सत्यसिंहलाई अर्को पनि समस्या थपियो । गाउँको छेउमा एक कठ्ठा जमिनमा झुपडी बनाएर बसिरहेका थिए । घरबारविहीन मुसहर परिवार गाउँमा आइपुग्यो । गाउँलेले मिलेर छेउमा झुपडी बनाउन एक वर्षका लागि मात्रै दिन सत्यसिंहलाई आग्रह गरे । उनले नकार्न सकेनन् । जहाँ पैसा जोहो गरेर ट्वाइलेट र पानीको कल राख्न चाहन्थे उनी, त्यही बन्यो मुसहरको झुपडी ।

पवित्राका लागि अब स्कुलको ढोका झनै दूरदूर हुँदै गयो ।

स्कुल नजाने यहाँ उनी मात्रै एक्ली होइनन् । जन्मदर्ता भए पनि स्कुल नजाने बालकालिका गाउँमा धेरै भएको सत्यसिंह बताउँछन् । गलंैचा बुन्न काठमाडौं जानु, रक्सी पार्नु, त्यो रक्सी बोकेर बारा, पर्सासम्म पु¥याउनु, इँटाभट्टामा काम गर्न जानु मियाँखोर गाउँको बाध्यता र जीविकोपार्जनको माध्यम बनेको छ । मियाँखोर गाउँमा मात्रै करिब ८० घर तामाङ जातिको बसोवास रहेको वडा सदस्य लीलबहादुर ब्लोन बताउँछन् । मियाँखोर गाउँका कैयन् घरमा दसैंतिहारपछि ताला लाग्छ । कैयन स्कुले बालबालिका अविभावकसँगै नाइट बस चढी काठमाडौं पस्छन् अनि इँटाभट्टाको चिसोमा दिन बिताउँछन् । पवित्राको टोलभन्दा तल्लो टोल छ, मगरहरूको । त्यहाँका मानिस स्कुले छोराछोरी नै बोकेर कामको खोजीमा दिल्ली जाने गरेको श्री प्राथमिक विद्यालयकी शिक्षिका शिवकुमारी गुरुङ बताउँछिन् ।

स्कुलबाट पवित्रा झन्झन् टाढा हुँदै गएको एउटा वर्ष गाउँमा गलैंचा बुन्न जाने हल्ला चल्यो । पवित्रालाई पनि जाऊँजाऊँ लाग्यो । त्यसपछि उनी गाउँलेसँगै मिसिएर काठमाडौं आइन् । गलैंचा बुनिन् । ६ महिना सिकेपछि गलैंचा बुन्न पारंगत भइन् । भन्छिन्, ‘सादा गलैंचा बुन्न आउँछ ।’

शिक्षिका शिवकुमारी जन्मदर्ता नभएकै कारण भर्ना नलिने नियम स्कुलले हटाएको बताउँछिन् । उनी अविभावकप्रति गुनासो गर्छिन् । भन्छिन्, ‘अविभावक जागरुक नभएसम्म बालबालिका स्कुल आउँदैनन् ।’ वडा सदस्य लीलबहादुर ट्वाइलेट नभएकै कारण जन्मदर्ता नदिने नियम अहिले हटाइएको प्रस्ट पार्छन् । तर ती दुवै कुरा ब्लोन परिवारले कसरी थाहा पाऊन् ?

नगरपालिकाले प्रस्तुत गरेको २०७५÷७६ को नीति तथा कार्यक्रममा यसै वर्षबाट नगरलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने उल्लेख छ । नगरका १५ वटै वडामा साक्षरता अभियान सञ्चालन गरी विद्यार्थीलाई पोसाक, कापीकलम वितरण गर्ने पनि योजना छ । तर यी सबै नीति पवित्राको झुपडीसम्म पुगेको छैन ।

नेपालको संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था छ । जहाँ ‘प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ’ भनिएको छ । त्यस्तै धारा ३९ मा भनिएको छ, ‘प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक हुनेछ ।’ तर सबै अधिकार र मौलिक हकबाट पवित्रा टाढा छिन् ।

गत वर्ष शिक्षा मन्त्रालयले गरेको सर्वेक्षणमा सर्लाहीसहित प्रदेश–२ का आठ जिल्लामा १ लाख ९१ हजार २२१ बालबालिका विद्यालयभन्दा बाहिरै रहेको देखाएको छ । त्यसमा बालिकाको संख्या धेरै छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सुरु गरे । तर उनकै प्रदेशमा लाखौं बालबालिका शिक्षाबाट वञ्चित छन् । पवित्रा त्यसको एउटा उदाहरण मात्रै हुन् ।

सर्लाहीका जिल्ला शिक्षा अधिकारी चेतकुमार पोखरेल स्कुलबाहिरका बालबालिकालाई २०८५ सम्म स्कुलभित्र पु¥याइसक्ने र त्यसभन्दा पछाडि मात्रै स्कुल नआए अविभावकलाई राज्यको सुविधाबाट वञ्चित गर्ने योजना रहेको बताउँछन् । भन्छन्, ‘ट्वाइलेट छैन भने नगरपालिकाले बनाइदिनुपर्छ । तर विद्यार्थीलाई स्कुल जानबाट रोक्नुहुन्न । कुन स्कुलले रोकेको हो नाम दिनुस्, तुरुन्तै भर्ना गरिन्छ ।’

नगर प्रमुख मनोजकुमार देवकोटा नगरलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न लागिएको बताउँछन् । उनी ट्वाइलेट नभएकै कारण जन्मदर्ता बनाउन नपाइने व्यवस्था तोडिएको प्रस्ट्याउँछन् । भन्छन्, ‘अहिले त्यो बाध्यकारी छैन । दलित तथा विपन्न परिवार भनी वडाले सिफारिस गरेपछि ट्वाइलेट बन्छ ।’ २ नम्बर वडाध्यक्ष सुरेन्द्र कार्की नगरलाई खुला दिसामुक्त क्षेत्र बनाउन कडाइ गरिएको बताउँछन् । तर योजना सफल नभएपछि बाध्यकारी व्यवस्था हटाइएको सुनाउँछन् । भन्छन्, ‘पवित्रालाई तुरुन्तै स्कुल भर्ना गर्ने वातावरण बनाइन्छ ।’

यता पवित्राका बुवा अरु वर्ष जस्तै यस वर्ष पनि तिहारपछि इँटाभट्टामा जाने योजनामा छन् । घरमा त्यत्तिकै राख्नुभन्दा छोरीलाई पनि लिएर जाने सोचमा छन् । भन्छन्, ‘ट्वाइलेट पनि बनाउन सकिएन । खै छोरीलाई कसरी पढाउनु अब ।’ पवित्रा मसिनो स्वरमा भन्छिन्, ‘स्कुल जान त मन लाग्छ नि ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.