राजधानीमा डेंगु, राजविराजमा स्वाइन फ्लु

राजधानीमा डेंगु, राजविराजमा स्वाइन फ्लु

काठमाडौं : पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको भाइरस आठ जना बिरामीमा पाइएको छ। ६ जना महिला र दुई जना पुरुषमा डेंगु ज्वरो देखिएको छ। भाइरसबाट संक्रमित एडिस एजेप्टाई जातको लामखुट्टेको टोकाइबाट काठमाडौं, ढुंगेधारा क्षेत्रका व्यक्ति प्रभावित भएका छन्। दसैंअघि वनस्थलीस्थित एक निजी पोलिक्लिनिकमा उपचारका लागि आएका बिरामीमा डेंगुको लक्षण भेटिएको थियो। सरुवा रोग भएका कारण स्थानीय डराएका छन्।

डेंगु रोगको लक्षण देखिएका बिरामीको विवरण संकलन गरी काठमाडौं जनस्वास्थ्य कार्यालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाएको छ। १८ देखि ४६ वर्ष उमेरका व्यक्ति प्रभावित भएको पाइएको छ। जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक गीता आचार्यले बिरामीको थप जाँच गर्नुपर्ने खाँचो रहेको बताइन्। असोज २१ गते पहिलो पटक ४६ वर्षीय व्यक्तिमा डेंगु पाइएको पोलिक्लिनिकले जनाएको छ। ‘सबै बिरामीमा दसैंअघि डेंगु पाइएको थियो’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक स्वास्थ्यकर्मीले भने।

गत वर्ष भारतसँग सीमा जोडिएका जिल्लामा मात्र डेंगुका बिरामी अत्यधिक पाइएका थिए। काठमाडौंमा भने एक जनामा मात्र डेंगुको भाइरस भेटिएको थियो। गत वर्ष मुलुकभर १ हजार ९ सय ४२ जना डेंगुका बिरामी फेला परेको महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक राजेन्द्र मि श्रले बताए।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार बेस्सरी टाउको दुख्ने,आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, छालामुनि रक्तस्राव हुनेलगायत लक्षण देखिन्छ। ‘सबैमा यस्तो लक्षण नदेखिन पनि सक्छ’, डा. पुनले भने। एडिस लामखुट्टेले टोकेको चारदेखि १० दिनभित्र लक्षण देखा पर्न सक्ने उनले बताए।

घरवरपर पानी जमेको, बाल्टिन, ड्रम, पानी ट्यांकीलगायत ठाउँमा यो लामखुट्टेले फुल पार्ने हुनाले लामो समयसम्म एउटै ठाउँमा पानी जम्मा गरेर राख्न नहुने डा. पुन बताउँछन्। डेंगु ज्वरो भाइरसका कारण हुने भएकाले यसको विशेष किसिमको उपचार छैन। बिरामीमा देखिएका लक्षणका आधारमा उपचार गरिने डा. पुनले बताए। पूरा शरीर ढाकिने कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्न मलम लगाउने, दिउँसो पनि झुलभित्र बस्ने, घरवरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान दिनुपर्ने डा. पुनको सुझाव छ।

यसैगरी, राजविराजको कञ्चनरुप नगरपालिकामा ज्वरो तथा शंकास्पद रोगबाट दुई दिनमा थप दुई जनाको मृत्यु भएपछि स्थानीयमा पुनः ‘स्वाइन फ्लु’ को त्रास फैलिएको छ। कञ्चनरुप–५ का १३ वर्षीय कृष्ण सदाको बुधबार र वडा नम्बर ७ का ६ वर्षीय कृषजंग कटुवालको मंगलबार ज्वरोको लक्षण देखिएपछि मृत्यु भएको थियो।

उनीहरूको मृत्युपछि नगरवासी त्रसित बनेको नगर प्रमुख वसन्त मि श्रले बताए। ज्वरो, बान्ता, टाउको दुख्ने र रगत उल्टी भएर उनीहरूको मृत्यु भएको हो। मृत्युपछि अनुसन्धानका लागि नगरपालिकाले प्रदेश २ को सामाजिक विकास मन्त्रालय, महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकु र जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीसँग आग्रह गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविनराज ढकालले बताए।

यसअघि भदौमा तीन जनाको मृत्यु भएको थियो। त्यसलगत्तै ज्वरो तथा रुघाखोकीले स्थानीय भालसर सरदार र हरिलाल साहमा स्वाइन फ्लुको संक्रमण देखिएको थियो। भदौ अन्तिम साता सञ्चालित स्वास्थ्य शिविरमा एक हजार एक सय २२ जनाले स्वास्थ्य परीक्षण गराएकोमा २४ जनाको रगत र र्‍यालको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा साहमा ‘एचवानएनवान’ को संक्रमण तथा कञ्चनरुपका अन्य चार तथा हनुमाननगरका ६ जनामा ‘एचथ्रिएनटु’ संक्रमण फेला परेको जनाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.