नक्कली सीआईडी पक्राउ
कुस्मा : पर्वतको कुस्मा नगरपालिका–७ खरेहामा प्रहरीको सीआईडी हौ भन्दै नगद र मोबाइल लुटपाट गर्ने दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुस्मा नगरपालिका–५ वस्ने १९ वर्षीय सरोज परियार र २७ वर्षीय रसिद दिन छन् । यी दुई युवाले कुस्मा नगरपालिका–७ बस्ने रन्जित पौडेल र अभिषेक परियारलाई प्रहरीको सीआईडी भन्दै कुटपिट गरेर उनीहरुको साथमा रहेका २ वटा मोबाइल सेट, साउन्ड सिस्टम र ४ हजार पाँच सय लुटेका थिए ।
सामान र नगद लुटेर फरार भएका दुई युवालाई लुकीछिपी हिडिरहेका बेला कुस्मा बजारबाट पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । दुई जनालाई चोरी मुद्दा दर्ता गरी सरोज परियारलाई ८ दिन र रसिदलाई ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
परियार यसअघि २ पटक जिल्ला प्रहरी कार्यालय पर्वतबाट केही सार्वजनिक अपराध मुद्दा, १ पटक ज्यान मार्ने उद्योग मुद्दा र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट लागुऔषध मुद्दामा परीसकेका व्यक्ति हुन् । अर्को प्रतिवादी रसिद जिल्ला प्रहरी कार्यालय पर्वतबाट चोरी मुद्दामा संलग्न भई जिल्ला कारागार पर्वतबाट सजाय भुक्तान गरिसकेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !