नेकपा एकता संसदमै अधुरो

नेकपा एकता संसदमै अधुरो

काठमाडौं  : सत्तारुढ दल नेकपाको एकता तल्ला तहमा मात्रै अल्झेको होइन, संघीय र प्रदेश संसद्मा समेत अधुरै छ । प्रदेश २ बाहेक ६ वटै प्रदेश र संघीय संसद्मा नेकपाकै प्रस्ट बहुमत छ । तर संसद्भित्रकै पदीय जिम्मेवारी बाँडफाँड नहुँदा नीतिगत निर्णय पनि हुन सकेको छैन ।

नेकपा एकता भएको ५ महिना बितिसक्यो । भागबन्डा नमिल्दा कतिपय प्रदेशसभामा नेकपाले संसदीय दलमा अन्तरिम जिम्मेवारी दिएको छ । कतिपयमा प्रदेश सरकार गठन भएको ९ महिना बित्दा पनि मन्त्रिमण्डलाई पूर्णता दिन सकेको छैन ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको संसदीय पदाधिकारी चयन भएको छ । दल नेता प्रधानमन्त्री केपी ओली छन्, उपनेतामा सुवास नेम्वाङ, प्रमुख सचेतकमा देव गुरुङ र सचेतकमा शान्ता चौधरी । तर दलको कार्यालय भने अहिले पनि एउटै हुन सकेको छैन ।

पूर्व एमाले र पूर्व माओवादी केन्द्र दुवैका दलका छुट्टाछुट्टै कार्यालय अहिले पनि प्रयोगमा छन् । दल नेता र उपनेताको कार्यालय तत्कालीन एमालेतर्फको भवनमा र प्रमुख सचेतकको कार्यालय तत्कालीन माओवादी भवनमा छन् ।

राष्ट्रियसभामा दल नेता दीनानाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराई छन् । केही प्रदेशसभामा दलका पदाधिकारी चयन भइसकेका छन् । केहीमा अहिले पनि समानान्तर रूपमा दुवैका दल नेता कायम छन् ।

प्रदेश १ मा संसदीय दलका पदाधिकारीबीच एकता टुंगिएको त छ तर मन्त्रिमण्डलले पूर्णता पाएको छैन । सुरुमा ७ सदस्यीय मन्त्रिमण्डल बनाउने भने पनि अहिलेसम्म मुख्यमन्त्रीसहित ५ जना मात्र छन् । दल नेता मुख्यमन्त्री शेरधन राईलाई यथावत् छन् । उपनेतामा टंक आङबुहाङ, प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी चयन भएका छन् ।

प्रदेशसभामा विषयतगत ११ समिति गठन भएका छन् । तर अहिलेसम्म सभापति चयन भएको छैन । नेकपाभित्रको भागबन्डा नमिल्दा नै मन्त्रिमण्डलदेखि समिति सभापति चयन हुन नसकेको हो । सांसद राजेन्द्रकुमार राईले भने, ‘कहिले मन्त्रिमण्डल बढाउने कुरा आउँछ, कहिले के ? अब मिलाउँछौं भन्नुभएको छ ।’

प्रदेश २ मा दल नेतृत्व चयन भइसकेको छैन । चार सदस्यीय समन्वय कमिटी बनेको छ । तत्कालीन एमालेतर्फबाट सत्यनारायण मण्डल र सुन्दर विश्वकर्मा तथा माओवादीका तर्फबाट रामचन्द्र मण्डल र दीलिप साह रहेको समन्वय कमिटी बनेको सांसद शत्रुघ्न महतोले बताए ।

कर्णाली प्रदेशमा अझ भद्रगोल छ । त्यहाँ अझै नेकपा दलको औपचारिक एकता हुन सकेको छैन । तत्कालीन दुवै घटकका नेताको बुझाइ फरक देखिएकाले दलीय एकताले औपचारिकता पाउन नसकेको नेकपा सांसद यमलाल कँडेलले बताए ।

उनका अनुसार तत्कालीन एमालेका सांसदले दल बैठक बसेर नेता चयन गर्नुपर्ने अडान लिएका छन् । माओवादीले केन्द्रबाटै नेतृत्वको निर्णय हुनुपर्ने तर्क गर्दै आएको छ । एमालेतर्फका दल नेता कँडेल आफंै छन् भने माओवादीतर्फका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ।

सरकार गठनकै बेलामा तत्कालीन एमालेका प्रदेश सांसदले शाहीलाई मुख्यमन्त्री नमान्ने बताएपछि केन्द्रले नै हस्तक्षेप गरी निर्णय लिएको थियो । अहिले दुवै घटकका प्रमुख सचेतक गुलाबजंग शाह र सीता नेपालीले अन्य नेतासँग पनि परामर्शका आधारमा काम गरिरहेका छन् । संसदीय समिति उक्त प्रदेशमा ४ वटा भए पनि भागबन्डा लफडाले सभापति चयन हुन सकेको छैन । अहिले चार वटै समिति ज्येष्ठ सदस्यले चलाउँदै आएका छन् ।

सुदूरपश्चिम प्रदेशमा नेकपाका दुवै घटकबीच एकता भइसकेको छ । मुख्यमन्त्री त्रिलोचन भट्ट दल नेता, प्रकाश शाह उपनेता, तारा लामा प्रमुख सचेतक र अक्कलबहादुर रावल सचेतक चयन भएका छन् । संसद्का ४ समितिमा तत्कालीन एमाले सांसदलाई दुई र माओवादीलाई एक समितिको सभापति भागबन्डा लगाइएको छ । एउटा समिति सभापति कांग्रेसलाई दिइएको छ ।

‘दुई समिति थप्ने तयारी भइरहेको छ’, नेकपा सांसद वीरमान चौधरीले भने, ‘त्यसमा तत्कालीन दुवै घटकलाई एक–एक सभापति भागबन्डा लगाउने छलफल चलिरहेको छ ।’ केन्द्रमा पार्टी एकता भएको महिना दिनभित्रै सुदूरपश्चिम प्रदेश संसदीय दलमा एकता भएको चौधरीले बताए ।

प्रदेश ३ मा दलीय जिम्मेवारी बाँडिएको छ । दल नेता मुख्यमन्त्री डोरमणि पौडेल छन् । उपनेता चयन हुन बाँकी छ । सचेतकमा औपचारिकता नदिए पनि रामेश्वर फुयाँलले काम गरिरहेका छन् । बुद्धिमान माझीले सचेतकको काम गरिरहेका छन् । संसद्मा ५ समिति गठन भएका छन् । तीन तत्कालीन एमाले र एक माओवादीले पाएका छन् । प्रतिपक्षी कांग्रेसलाई एउटा समिति नेतृत्व दिइएको छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दल नेता चयन गरिएको छ । अन्य पदीय जिम्मेवारी अझै टुंगो लागेको छैन । ‘आपसी समन्वयका आधारमा दलीय काम अगाडि बढिरहेको नेकपा सांसद आशा कोइरालाले बताइन् ।

गृहमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापाले सदन र सरकारका काम प्रभावकारी बनाउन केन्द्रदेखि प्रदेशसभाका संसदीय पदाधिकारीलगायत विषयमा स्थायी समितिले छलफल गर्ने बताए । ‘कतिपय प्रदेशमा दल नेतादेखि संसदीय पदाधिकारीहरू निर्धारण भएको छैन । धेरै विधेयक पारित गर्नुपर्नेछ । काम ढिला भइरहेको छ । यी विषयमा स्थायी समिति बैठकमा छलफल गरी टुग्याउँदैछौं’, उनले भने ।

धकेलियो स्थायी समिति

नेकपा स्थायी समिति बैठक भने सरेको सरै छ । पार्टी एकतापछि एक पटक मात्र स्थायी समिति बैठक बसेको छ । त्यसयता पटक–पटक मिति तोकिने र स्थगित हुँदै आएको छ । पछिल्लोपटक सोमबार र मंगलबार तोकिएको बैठक अनिश्चतकालका लागि स्थगित भएको छ ।

‘गृहकार्य नपुगेको कारण जनाउँदै महासचिवले बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराउनुभएको छ’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने ।

७ कात्तिकको सचिवालय बैठकले शक्तिशाली दुई सदस्यीय कार्यदल बनाएपछि स्थायी समिति बैठक सरेको हो । कार्यदललाई एक साताभित्र गृहकार्य सकेर सचिवालयमा प्रस्तुत गर्न भनिए पनि गठन भएको ४ दिनसम्म कार्यदलकै बैठक बस्न सकेको छैन । ‘अब स्थायी समिति बैठक तिहारपछि मात्र बस्छ होला’, नेता पौडेलले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.