चार निकायमा अनियमितता भएको सर्तकता केन्द्रको ठहर

चार निकायमा अनियमितता भएको सर्तकता केन्द्रको ठहर

काठमाडौं : राष्ट्रिय सर्तकता केन्द्रले वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय, कलंकी र ललितपुरका मालपोत कार्यालय तथा युवा स्वरोजगार कोषमा अनियमितता र भ्रष्टाचार भएको ठहर गरेको छ। २०७३÷७४ मा ती निकायले सञ्चालन गरेका प्रशासनिक, आर्थिक तथा खरिद जिन्सी व्यवस्थापनमा अनियमितता भएको ठहर केन्द्रले गरेको हो।

केन्द्रका विभिन्न अनुसन्धान टोलीले ४ महिना लगाएर ती निकायको छुट्टाछुट्टै अध्ययन र अनुसन्धान गरेको थियो। अनुसन्धान क्रममा चारवटै निकायमा गम्भीर अनियमितता देखिएको केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले जानकारी दिए। चारवटै निकायमा भएको अनियमितताको प्रतिवेदन कारवाहीका लागि केन्द्रले आइतबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ।

केन्द्रको अध्ययन टोलीका अनुसार वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा खरिद तथा जिन्सी व्यवस्थापनमा व्यापक अनियमितता पाइएको छ। अस्पतालले लामो समयदेखि जिन्सी निरीक्षण गरेको छैन। अस्पतालले खरिद गर्दा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४७ बमोजिम बोलपत्र स्वीकृत नगराइ अनियमितता गरेको केन्द्रको ठहर छ। केन्द्रका अनुसार अस्पतालले टोमोग्राफी मेसिन खरिद गर्दा बिड डकुमेन्ट र बिल अफ क्वान्टिटिज् मा उल्लेख भएको सिभिल वर्कबापत् बोलपत्रदाताको प्रस्तावकै भरमा लागत ६ करोड ६६ लाख रुपैयाँ राखी सम्झौता गरेको फेला परेको छ।

तर सो वर्कको ड्रइङ, डिजाइन र स्पेसिफिकेसन बोलपत्रदाताले पेस नगरेको पाइएको छ। केन्द्रका अनुसार अस्पतालले टोमोग्राफी मेसिनको एएमसीबापत् प्रतिवर्ष २० हजार अमेरिकी डलर व्ययभार पर्ने गरी सम्झौता गरेको पाइएको छ। अस्पतालले प्रक्रिया पूरा नगरी आफूखुसी कर्मचारी भर्ना गरेको पाइएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार अस्पतालमा दरबन्दीबिना नै ९४ जना र ट्रमा सेन्टरमा सय जना गरी १ सय ९४ जना कर्मचारी नियुक्ति गरी अनियमितता गरिएको छ।

केन्द्रका अनुसार युवा स्वरोजगार कोषमा पनि व्यापक अनियमितता भएको छ। कोषले १५ वर्षमा ५५ हजारलाई स्वरोजगार बनाएको दाबी गरे पनि तिनीहरू पहिलेदेखि नै रोजगारमा रहेको पाइएको केन्द्रका सहायक प्रवक्ता अर्यालले जानकारी दिए। कोषले १० प्रतिशत ब्याजदर तोकेकोमा कतिपय सहकारीले साढे १३ प्रतिशतसम्म ब्याज लिएको पाइएको छ। कोषमा २३ दरबन्दीका लागि विज्ञापन गरी नियमविपरीत ३१ जना कर्मचारी नियुक्त गरेको केन्द्रले औंल्याएको छ।

केन्द्रले कलंकी र ललितपुर मालपोतमा कित्ताकाट सम्बन्धमा गरेको छानबिनका क्रममा भूमिसुधार मन्त्रालयको निर्देशनविपरीत कित्ताकाट गरिएको, एक आवमा एक पटक मात्र कित्ताकाट गर्न पाउनेमा दोहोरो तेहरो कित्ताकाट गरेको देखिएको, श्रेस्ता रजिस्टरमा अंशबण्डा भनी जग्गाधनी श्रेस्तामा राजीनामा लिखत गरी रजिस्ट्रेसन गरेको पाइएको छ।

त्रिविमा व्यापक विकृति

सतर्कता केन्द्रले त्रिभुवन विश्वद्यिालयमा पनि व्यापक अनियमितता र विकृति रहेको औंल्याएको छ। शिक्षकहरूले सातामा १२–१५ वटा कक्षा लिनु पर्नेमा ३–४ वटा मात्र लिने गरेको, त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियमावली २०५० को नियमविपरीत पदपूर्ति परीक्षामा असफल शिक्षकहरूको म्याद थपिएको केन्द्रले जनाएको छ। त्रिविमा कार्यरत ७ हजार ९ सय २० जनामध्ये १ हजार ४ सय १० जना शिक्षकले अन्य संस्थामा अध्यापन गर्न अनुमति लिएकाले त्रिविमा अध्यापन गर्न उदासीनता देखाउने गरेका छन्।

प्रयोगशाला अध्ययनको नाममा एक शिक्षक संलग्न रही एकभन्दा बढी शिक्षकले सुविधा लिएको पाइएको केन्द्रले जनाएको छ। आर्थिक अनुशासन पालना नगर्दा स्वीकृत बजेटभित्र र सम्बन्धित शीर्षक÷उपशीर्षकमा रकम खर्च गर्नुपर्नेमा सो नभएको, खरिद योजना तथा खरिद एकाइ गठन नगरी मालसामान खरिद गरिएको, लेखापरीक्षण समयमा नभएको, पेस्की रकम फस्र्यौटमा ध्यान नदिएको, सम्पत्ति खाता व्यवस्थित नराखिएको केन्द्रले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.