अध्यागमनले बिनाकारण यात्रु फर्काउन नपाउने

अध्यागमनले बिनाकारण यात्रु फर्काउन नपाउने

काठमाडौं : पर्यटक प्रवेशाज्ञा (टुरिस्ट भिसा)मा विदेश हिँडेका यात्रु अब बिनाकारण त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा रोकिनुपर्ने छैन। यात्रा उद्देश्य स्पष्ट हुँदाहुँदै पनि शंकाको भरमा अध्यागमनले यात्रुलाई फिर्ता (अफलोड) गर्न थालेको गुनासो आएपछि गृह मन्त्रालयले अध्यागमन कार्यविधि संशोधन गरी नयाँ व्यवस्था कायम गरेको छ।

संशोधित नयाँ व्यवस्थाअनुसार प्रस्थान अनुमति नदिनुपर्ने स्पष्ट लिखित आधार र कारण खुलाउनुपर्नेछ। साथै अध्यागमन अधिकृतले यात्रुको कागजात रुजु गर्ने र नपुग कागजात यकिन गर्नेछ। विगतमा अध्यागमन अधिृकतले कुनै पनि यात्रुको कागजातमा शंका लागे सीधै फिर्ता गर्न सक्थ्यो। तर अब अध्यागमन अधिकृतले शंका लागेका वा कागजपत्र नपुगेका यात्रुको सबै विवरण वरिष्ठ अध्यागमन अधिृकतसमक्ष पेस गर्नुपर्नेछ। अध्यागमन अधिकृतले बुझाएको कागजपत्रका आधारमा वरिष्ठ अध्यागमन अधिृकतले कुन यात्रुलाई प्रस्थान अनुमति दिने र कुनलाई फर्काउने भन्ने अन्तिम निर्णय गर्नेछ।

कुनै यात्रुलाई फर्काउनुपरे वरिष्ठ अध्यागमन अधिकृतले अध्यागमन प्रमुखको समेत स्वीकृति लिनुपर्ने अनिवार्य प्रावधान बनाइएको छ। कुनै पनि व्यक्तिको यात्रा र कागजात शंकास्पद भए कारबाही तथा थप अनुसन्धान गर्नुपरेमा वरिष्ठ अध्यागमन अधिकृतले रायसहित प्रमुख अध्यागमन अधिकृतकहाँ पेस गर्नुपर्ने व्यवस्था संशोधित कार्यविधिले गरेको छ।

संशोधित कार्यविधिले यात्रु फिर्ता गर्न एकल निर्णयभन्दा सामूहिक निर्णयलाई महत्व दिएको छ। टुरिस्ट भिसा वाहकको यात्रालाई थप सहज बनाउन अध्यागमन कार्यविधि सामान्य संशोधन र परिमार्जन गरिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए। ‘पर्यटक भिसा वाहकको यात्रा नियमन गर्न स्पष्ट प्रावधान बनाएका छौं’, उनले भने, ‘त्यसको कडाइका साथ लागूसमेत गरिसकेका छौं।’

कुनै कर्मचारीले विगतमा झैं जथाभावी अफलोड र प्रस्थान अनुमति दिएको पाइए कडा कारबाही गर्छौं। ईश्वरराज पौडेल, महानिर्देशक, अध्यागमन विभाग

संशोधित कार्यविधिमा कुनै पनि यात्रु फर्काउनुपरे त्यसको आधार र कारणसहित खुलाई सम्बन्धित व्यक्तिलाई लिखित पत्र दिनुपर्नेछ। लिखित पत्रको एक थान अध्यागमन विभाग र अर्को एक थान सम्बन्धित कार्यालयमा राख्नुपर्नेछ। कुनै यात्रुलाई फर्काउनु वा कारबाही गर्नुपरे दैनिक रूपमा अद्यावधिक गरी सम्बन्धित अध्यागमन कार्यालयले अध्यागमन विभागमा बुझाउनुपर्नेछ। अध्यामगन विभागले संशोधित व्यवस्था कार्यान्वयनका लागि त्रिवि विमानस्थललगायत सबै अध्यागमन कार्यालयमा पत्राचार गरिसकेको छ। ‘कुनै कर्मचारीले विगतमा झैं जथाभावी अफलोड र प्रस्थान अनुमति दिएको पाइए कडा कारबाही गर्छौं, महानिर्देशक पौडेलले भने।

अध्यागमन कार्यविधिको परिच्छेद ३ मा कुनै पनि यात्रुले पेस गरेको राहदानी वा भिसा वा यात्रा सम्बन्धित अन्य कागजात वैध नभए÷शंकास्पद भए निजलाई अलगै राखी अनुसन्धान प्रक्रिया अघि बढाउने र निजलाई प्रस्थान अनुमति नदिने व्यवस्था थियो। तर अहिले थपिएको कार्यविधिमा यात्रु फर्काउनुपर्ने स्पष्ट प्रावधान र कुन तहको व्यक्तिले यात्रु फर्काउन पाउने भन्ने प्रावधानसमेत समेटिएको छ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गर्दै अध्यागमन कार्यविधि २०६५ संशोधन गरेका हुन्। अध्यामगन कार्यविधिको परिच्छेद ३ को दफा ३.१ को उपदफा ३ मा भएको प्रावधानमा संशोधन गरी थप व्यवस्था गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.