रुघाखोकीलार्इ वेवास्ता गर्दा प्रधानमन्त्री अस्पतालमा

रुघाखोकीलार्इ वेवास्ता गर्दा  प्रधानमन्त्री अस्पतालमा

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको छातीमा संक्रमण देखिएको छ। उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा भर्ना गरिएको छ। प्रधानमन्त्रीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको मनमोहन सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले बताए। सोमबार बिहान साढे चार बजे उनलाई अस्पताल लगिएको थियो। अहिले आइसोलेसन वार्डमा राखिएको छ।

डा. श्रेष्ठका अनुसार प्रधानमन्त्रीको पछिल्लो परीक्षणको रिपोर्ट सुधारोन्मुख देखिएको छ। उनको अवस्था स्थिर छ। मनमोहन सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमिको नेतृत्वको टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ।

टोलीमा शिक्षण अस्पतालकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह र छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सम्मिलित छन्। उपचारमा संलग्न एक चिकित्सकले भने, ‘स्वास्थ्य अवस्था गम्भीर नभएको भए अस्पताल ल्याउनै पर्दैनथ्यो। कुनै पनि समय स्वास्थ्य बिग्रने हो कि भन्ने डर कायमै छ।’

स्वास्थ्य अवस्था बुझ्न गएका कांग्रेस सभापति शेरबहादुर देउवाले उनीसँग संक्षिप्त कुराकानी गरेका थिए। ‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख पाएँ,’ देउवाले भने। प्रधानमन्त्रीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि दोहोरो कुराकानी गरेका थिए। कस्तो छ ?        भन्ने नेपालको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफूलाई अहिले ठीक भइरहेको बताएका थिए। ‘केही दिनदेखि बिसन्चो भएको थियो। श्वासप्रश्वासमा समस्या थियो। डाक्टरहरूले बढी जिद्दी गरेकाले आउनु पर्‍यो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेपालले भने।

के भएको हो प्रधानमन्त्रीलाई ?       

आइतबार राति नै प्रधानमन्त्री ओलीलाई घ्यारघ्यार भइरहेको थियो। उपचारमा संलग्न एक चिकित्सकले भने, ‘राति बाह्र बजेतिर इन्जेक्सन दिइयो। त्यसकै कारणले होला सुगर असन्तुलन भएपछि अस्पताल ल्याइयो।’

शुक्रबारदेखि प्रधानमन्त्रीलाई रुघाखोकी र ज्वरोले च्याप्दै लगेको थियो। ‘आइतबार राति शरीरमा चिनीको मात्रा एकदमै उच्च देखियो। संक्रमण पनि भएपछि घरमै राखिरहन उचित नलागेर ल्याइएको हो,’ प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले बताइन्। उनले चिनीको मात्रा नियन्त्रण गर्न र एन्टिबायोटिक औषधि दिन सजिलो हुने भएकाले ओलीलाई अस्पताल भर्ना गरिएको जानकारी दिइन्। ‘श्वासप्रश्वास नलीमा संक्रमण भएको छ,’ डा. शाहले भनिन्।

भेटघाटमा रोक

एक दशकअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीसँग सोमबार साँझदेखि चिकित्सक र उहाँकी पत्नीबाहेक कसैलाई भेट गर्न दिइएको छैन। कांग्रेस सभापति देउवा, नेकपा नेता नेपालबाहेक कसैलाई दोहोरो कुराकानी गर्न चिकित्सकले दिएनन्।

ओलीको स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्य लाभको कामना गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू तथा संवैधानिक अंगका प्रमुखहरू समेत पुगेका थिए। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भेट नगरी बाहिरबाटै हेरेर फर्किएका थिए। ‘डाक्टर र परिवारबाहेक अरुलाई भेट्न दिइएको छैन। स्वास्थ्य अवस्थाबारे जानकारी मात्र लिएर फर्कें,’ मन्त्री पण्डितले भने।

एन्टिबायोटिक दिँदासम्म अस्पतालमै

प्रधानमन्त्रीलाई संक्रमणबाट मुक्त राख्न एन्टिबायोटिक औषधि दिइएको छ। ‘एन्टिबायोटिक औषधिको कोर्स सकिएपछि मात्र डिस्चार्ज गरिन्छ। चाँडै डिस्चार्ज गर्ने हो भने आराम गर्नु पाउनु हुन्न। आरामका लागि भएपनि एक दुई दिन राख्छौं,’ डा. शाहले भनिन्।

डा. सायमीका अनुसार एन्टिबायोटिक कोर्स सक्न प्रधानमन्त्रीलाई कम्तीमा तीन दिन अस्पतालमै राखिने छ। कुन एन्टिबायोटिक दिइएको हो भन्ने चाहिँ उनले बताउन चाहेनन्। ‘मुटुमा समस्या भएर वा अन्य कारणले आईसीयूमै राख्नु पर्ने अवस्था चाहिं होइन,’ उनले भने।

ज्वरो आए पनि मन्त्रिपरिषद् बैठकमा

आइतबार चार बजेको मन्त्रिपरिषद् बैठकमा ज्वरो आए पनि उपस्थित प्रधानमन्त्री ओलीले आफू अस्वस्थ रहेको बताएका थिए। ‘आज धेरै लामो बैठक नगरौं। मेरो स्वास्थ्यस्थिति अनुकूल छैन,’ बैठकको सुरुमै उनले भनेका थिए। शनिबार नेकपाको चियापानमा पनि ओली अनुपस्थित रहे।

दसैंको बेला प्रधानमन्त्री ओली धपेडीमा थिए। उनलाई त्यसबेलैदेखि बिसन्चो भएको थियो। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘रुघाखोकी लागेको थियो। तर उहाँले बेवास्ता गरिरहनु भयो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.