एक, दुई, तीन, बन्जी ! भोटेकोसीमा खस्दाको त्यो क्षण
दुईतिर हरिया जंगलले ढाकेका विशाल पहाड। त्यसैको तल बेस्सरी सुसाइरहेको भोटेकोसी। भोटेकोसी माथि झोलुङ्गे पुल। हेर्दै कहालीलाग्दो उचाई अनि गहिराई।
पुल मान्छेको पदचापमा दायाँबायाँ हल्लिन्छ। मेरो ज्यान उसैगरी हल्लिएको छ। पुलको बिचतिर पुगेपछि झल्याँस्स हुन्छु– यो पुलका डोरीहरू सहीसलामत त छन् ?
गत सोमबार।
भोटेकोसी गाउँपालिकामा छु, साथीहरूसँग। यहाँ आउनुसँग केही रहरहरू जोडिएका छन्। भोटेकोसीको पुलमा पुगेपछि डरपनि मिसियो। डर र रहरको अनौठो संयोगले दिमागलाई रिंगाइरह्यो। पुल कटेर पारी पुगियो। पछाडि फर्किएर हेरेँ, फलामे डोरी बलिया रै’छन्।
‘द लास्ट रिसोर्ट’ पुग्नासाथ होटलका जनरल म्यानेजर भुवन शर्मा भन्छन्, ‘यो रिसोर्टमा तपाईंहरूलाई स्वागत छ।’
भुवन दाइलाई ‘धन्यवाद !’ भनेर म 'ब्याकप्याक' थन्क्याउन लागेँ। फर्किएर आउँदा त्यहाँ अचम्मको दृष्य चलिरहेको थियो। चौरमा साथीहरू नाचिरहेका थिए।
अघिल्तिर बसेकी एक युवतीले ठूलो स्वरमा अर्डर दिई, ‘डान्स !' साथीहरू त टकटक हिँड्न पो थाले।
एकछिनपछि उसले फेरि आदेश दिई, ‘वाक’(हिँड्नु) ! साथीहरू नाच्न थाले।
म अलमलमा परेँ। अंग्रेजीको नियमलाई चुनौती दिने यो के ‘एक्सरसाइज’ गराइरहेकी छे ऊ ?
हिँड्न आदेश दियो, साथीहरू नाच्न थाल्छन्। ऊ नाच्न निर्देश गर्छे, साथीहरू हिँड्न थाल्छन्। मलाई लाग्यो, रिसोर्टको अंग्रेजी फरक छ। म त्यही हुलमा मिसिएँ।
उसले ‘क्ल्याप्’ भनी, मैले थपडी बजाएँ। उसले ‘नेम’ भनी, मैले मसिनो स्वरमा आफ्नो नाम भनेँ। अरुले पनि त्यही गरे।
थाहा छैन, उसले के सोची। यसपटक भने आग्रहको शैलीमा भनी, ‘क्ल्याप भन्दा आफ्नो नाम भन्नुस्। नेम भन्दा ताली बजाउनुस्।’
करिब १० मिनेटपछि खेला सकियो।
‘गाह्रो भयो होला है ?,’ उसले प्रश्न गरी र आँफैले उत्तर दिई, ‘एउटा ट्रेन्डबाट बाहिर निस्कन सजिलो छैन। फरक ढङ्गबाट सोच्न सक्नुपर्छ भनेर तपाईंहरूलाई यो सबै गराएको हो।’
चारवटा साहसीक खेल खेल्नु थियो– बन्जी, क्यानोइङ, रक क्लाइम्बिङ र एब्सेलिङ।
नाम सुनेको हो, कुनैपनि खेलको अनुभव थिएन। बन्जीका भिडियोहरू युट्युआमा हेरेको हो। बाँकी खेलमा के–के गरिन्छ, थाहा थिएन। अरु साथीहरूको पनि पारा उही। सोमबारको दिन रक क्लाइम्बीङ र एब्सेलिङ गर्ने योजना थियो। दुबै साहसीक खेलमा असफलताको ट्याग लागेन। लाग्यो– मसँग पनि साहस रहेछ।
भोटेकोसीको अग्लो पहाडलाई नाघेर घाम कतै हरायो। चिसो सिरेटोले अन्धकारका अवयवहरूलाई पनि सँगै ल्यायो। लञ्चपछि क्याम्प फायर चल्यो। आगो ताप्नुभन्दा सिरक ओढ्नु बेस। आखिर, ओच्छ्यान त जानु नै छ। मेरो लागि सुत्ने व्यवस्था गरिएको थियो, टेन्ट नम्बर १३ मा।
भोटेकोसीको गड्गडाहट ओच्छ्यानसम्मै आइपुग्छ। म त्यही पुल सम्झिन्छु जुन पार गरेर यहाँ आइपुगेको थिएँ। शरीरमा काँडा उम्रिन्छ, डरले। भोलि त्यही पुलबाट हामफाल्नुछ।
बिहान उठेर साथीहरूलाई सोधेँ, ‘बन्जी गरेर कोही ‘तलमाथि’ परेका छन् कि छैनन् ?’
नेपालमा त्यस्तो रेकर्ड भटिएन। बाहिरी देशको बारेमा खासै चासो देखाइनँ।
बन्जी गर्न तयार भइयो। किनकी बन्जी बिहानै गर्ने योजना थियो। बन्जीका बारेमा मास्टरले सम्पूर्ण कुरा बताए। नियमित औषधि लिएको, हात खुट्टा भाँचिएको छ भने बन्जी नगर्न सल्लाह दिइयो। प्रेसर लगायतका समस्या छन् भनेपनि बन्जीप्रतिको आशक्ति नदेखाउन भनियो।
‘१०५ किलो भन्दा माथिकाले बन्जी गर्न मिल्दैन,’ भुवन दाइले भने। मैले आफ्नो ज्यानलाई तराजुमा राखेँ। रातो नम्बर झिमिक–झिमिक गर्दै स्थिर भयो। हेरेँ– ७३ किलो।
रातो मार्करले कसैले हातमा तौल लेखिदियो। बन्जी गर्न कुनै रोकतोक रहेन। रोगब्याधीले सताएको थिएन। मापदण्डभन्दा ३२ किलो कम थिएँ।
फेरि हिजो आएको पुल सम्झिएँ। साथीहरूलाई भनेँ, ‘ठिकै ठिकै मोटाउनु हानीकार रहेछ। १०६ किलोको भएदेखि अहिले पलपल पुल सम्झिनु पर्ने थिएन।’
बन्जी गर्न अघि बढियो। हिजोका साहस हराइसकेको थियो। भोटेकोसीबाट आएको आवाज कानमा तिख्खर भयो। साथीहरू एकपछि अर्को गर्दै खोलामा हामफाल्न थाले।
‘७३ किलो’ बोलाइयो। मेरो पालो आयो। झोलुङ्गे पुलको डोरीमा समाएर तल हेरेँ।
‘जाँदाजाँदै बेहोस् भइयो भने के गर्ने ? कोसीको ढुङ्गामा टाउको बज्रने सम्भावना हुन्छ कि हुँदैन ? मलाई अड्काउने डोरी मोटो मात्र हो कि बलियो पनि छ ?’
खुट्टामा डोरी अड्काइयो। फाल हाल्न सबै तयारी पुरा भयो। एउटा केटोले क्यामेरा तेर्स्याउँदै सोध्यो, ‘कस्तो फिल भइरहेछ ?’
मैले भने, ‘आइ एम एक्साइटेड। ह्याभ यु सिन एनी फियर इन माइ फेस ? इट इज रियल्ली इन्ट्रेस्टिङ।’
डर कति छ भन्ने कुरा यो मनलाई थाहा छ। क्यामेरामा ‘थम’ देखाएर अघि बढेँ।
‘एक, दुई, तीन, बन्जी’ भनेपछि हामफाल्न अह्राइएको थियो। झोलुङ्गे पुलको बार कटेर हामफाल्ने ‘स्लोप’मा पुगेँ। मलाई कसैले पछाडिबाट समाइरहेको थियो। तल हेरेँ, भोटेकोसी बहाब सानो छैन। सास रोकिएला जस्तो भयो। मुटु ढक्क भयो। मलाई पछाडि समाइरहेको मान्छेले भन्यो, ‘तल नहेर्नुस्। पर हेर्नुस्।’ पर डरमर्नु भीर थियो।
‘एक, दुई, तीन, बन्जी,’ आवाज सुनेँ। अचानक, खुट्टाले भर छाड्यो। आँखा चिम्म भयो।
आँखा खोल्दा भोटेकोसीको निलो पानी नजिकै देखिन्थ्यो।
१६० मिटरमाथिबाट खसेको म तल पुगिसकेको थिएँ। तल पुगेर तीनपटक झट्कार्दा आँट आइसकेको थियो कि- मसँग डोरी छ। अब भने मजा आउन थाल्यो।
करिब तीन मिनेटको यो 'एडभेन्चर' सकिन समय लागेन। आँट जुटाउन पो बेर।
‘बालबाल बाँचियो,’ माथि आएर साथीहरूलाई भनेँ। साथीहरू साहसी बनेर गम्म परिरहेका थिए।
म पनि के कम। बन्जी गरेर आएको मान्छे।
अन्य साथीहरू हामफाल्दै थिए। हामफाल्ने दूरी नजिकिएसँगै उनीहरूको अनुहारको चमक एकाएक हराउँथ्यो। बन्जी गरिसकेका साथीहरू जिस्काउँथे, ‘मान्छेको पुर्खा छेपारो रहेछ क्यारे। कति छिटो रङ फेर्न सकेका !’
बन्जी गरेर क्यानोइङतिर हिँडियो। पहाडमा झरनाको पानीसँगै डोरी समातेर तल झर्नुको रमाइलो बेग्लै। डर त बन्जी गर्दै सकिएछ। अग्लाअग्लो भिरोलोमा पानीसँगै खेल्दै ओर्लिनु कम्ता कस्टकर छैन। तर, मजा पनि छ। पानीको छाँगोले ज्यानमा हिर्काउँदा दुखाइ महसुस हुँदैन, आनन्दको अनुभुति हून्छ। सास फेर्न मुस्किल हुँदा पनि हाँस्न मन लाग्छ।
चारवटा साहसीक खेल सकिँदा लगभग ३ बज्न आँटेको थियो। एउटा अनौठो अनुभूति र दृढता बोकेर हामी काठमाडौं फर्किँदै थियौँ।
डराउँदै बन्जी गरेकाहरू अरु पनि के के साहसीक खेल हुन्छन् भनेर गुगल गर्न थालेका थिए। पत्रकार विनिता दाहालले स्कुबा डाइभ (समुन्द्रमुनी खेलिने साहसीक खेल) खेलिसकेको अनुभव सुनाउँदै थिइन्। कोही सबैभन्दा अग्लो मकाउको बन्जी जाने रहर गर्दै थिए।
म भनेँ आफैंसँग मक्ख थिएँ। किनकि मसँग पनि साहस रहेछ।