नेकपामा बाेली बाझिँदै : कोही सरकारको बचाउमा, कोही विरोधमा

नेकपामा बाेली बाझिँदै : कोही सरकारको बचाउमा, कोही विरोधमा

काठमाडौं : ‘बर्खाको हिलोमा गाडी एक गियरमै चल्छ। अब मौसम फेरिएको छ, सरकारले २,४ गियरमा मात्रै होइन, उडान नै भर्नेवाला छ। यसमा विश्वस्त हुनुस्।’ –पुष्पकमल दाहाल, अध्यक्ष नेकपा।

‘चुनाव घोषणापत्र बनाउने संयोजक म आफैं थिएँ। तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा त्यसको केही आएन। दुईतिहाइको बहुमतले कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन। मेलमिलापमै जानुपर्छ।’ –वामदेव गौतम, सचिवालय सदस्य नेकपा।

०००

यी दुई बोली नेकपाका दुई शीर्ष नेताका हुन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल सरकारको समर्थनमा जुन दिन बुटवलमा बोल्दै थिए, त्यही दिन काठमाडौंमा सचिवालय सदस्य वामदेव गौतमले विरोध गरिरहेका थिए। अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकारबारे नेकपा नेताका स्वर बाझिएका हुन्। दाहालले पार्टीको प्रदेश ५ कमिटीले गरेको कार्यक्रममा पुगेर प्रधानमन्त्री ओलीको समेत प्रशंसा गरे। गौतमले भने ओखलढुंगाका शिक्षक गुरु लुइँटेलको स्मृति सभामा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका थिए।

‘चुनाव घोषणापत्र बनाउने संयोजक मै थिएँ तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा घोषणापत्रमा उल्लेख विषय आएनन्, चुनावी घोषणापत्र कार्यान्वयन गर्नैपर्छ,’ गौतमले भने, ‘दुईतिहाइको बहुमत त हामीसँग छ, काम हुन सकिरहेको छैन। त्यो दुईतिहाइको कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन। मेलमिलापमै जानुपर्छ। कांग्रेस सभापति देउवाले भने जस्तै।’

चुनावअघि तत्कालीन एमाले र माओवादीले गौतमलाई नै संयुक्त चुनावी घोषणापत्र बनाउने जिम्मा दिएका थिए। पार्टी एकतापूर्व पार्टी एकता संयोजन समितिले सुशासन र विकासका प्राथमिकता सम्बन्धमा सुझाव दिन पनि नेता गौतमकै नेतृत्वमा कार्यदल बनाएको थियो। त्यही कार्यदलले चुनावी घोषणपत्र बनाएको थियो। विकास र सुशासनका खाका पनि तयार पारेको थियो।

आफू नेतृत्वको कार्यदलको रिपोर्ट सरकारले ग्रहण गर्न नसकेको भन्दै शनिबार गौतमले असन्तुष्टि पोखेका हुन्। गौतम मात्र होइन, नेकपामा सरकारको कार्यशैलीप्रति असन्तुष्टि चुलिँदो छ। केही समयअघि वरिष्ठ नेता माधव नेपालले संसद्मै उभिएर सरकारको आलोचना गरे। त्यसयता जिम्मेवार नेताहरूबाटै सरकारप्रति असन्तुष्टि पोख्ने क्रम बढ्दो छ।

सचिवालयभित्रै वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सरकारको गतिमा सन्तुष्ट देखिँदैनन्। अध्यक्ष दाहाल भने सार्वजनिक रूपमा खुलेरै सरकारको पक्षमा बोलिरहेका छन्। शनिबार उनले भने, ‘अब सरकारले उडान नै भर्नेवाला छ। यसमा विश्वस्त हुनुस्।’

दाहालले बजेट आएको थोरै समय भएको र यो अवधिमा सरकार मौलिक कानुन निर्माणमा जुट्नु परेको कारण जनतामा सरकारको काम देखिन नसकेको बताएका थिए। ‘अब देखिन्छ ढुक्क हुनुहोस्,’ दाहालले दोहो¥याउँदै भने, ‘यो राजनीतिक उपलब्धि कुनै साम्राज्यवादी र प्रतिक्रियावादीले दयामाया गरेर आएको होइन, यसमा १४ वर्ष वनवास र १४ वर्ष कारावासको भूमिका छ, दुई ठूला कम्युनिस्ट एकतासँगै मुलुक समृद्धिको दिशामा अघि बढेको छ।’

नेताहरूकै यस्ता विरोधाभासपूर्ण अभिव्यक्ति आइरहँदा पार्टी कार्यकर्ता भने अन्यौलमा देखिएका छन्। पार्टी नेतृत्वको सरकारका पक्षमा नेता–कार्यकर्ता पनि लाग्न सकिरहेका छैनन्। प्रधानमन्त्रीले त्यही महसुस गरेर सरकारको प्रतिरक्षा गर्न नेता–कार्यकर्तालाई बेलाबेला निर्देशन दिइरहेका छन्। एकपटक त उनले कार्यकर्तालाई अरिंगालझैं आक्रामक हुन आह्वान गर्दा आलोचित बने।

नेकपा स्थायी समिति सदस्य वेदुराम भुसालले सरकार र पार्टीबारे आपसमा बाझिने बोलीलाई नेताका निजी अभिव्यक्तिका रूपमा अथ्र्याए। ‘बैठक बसेर साझा धारणा बनाउन सकिएको छैन, यस्तो बेला नेताका फरक धारणा देखिनु नौलो होइन’, भुसालले भने। एकतापछि नेकपाले सरकारको समीक्षाबारे एउटै बैठक पनि डाकेको छैन। सरकारको समीक्षालाई पनि एजेन्डा बनाएर बोलाउन खोजिएको स्थायी समिति बैठक पछि धकेलिएको–धकेलियै छ। पछिल्लो बैठक पनि अनिश्चितकालका लागि स्थगित छ।

केन्द्रीय समिति बैठक एकपटक मात्र जेठ ३ मा परिचयात्मक कार्यक्रमका लागि बसेको थियो। स्थायी समिति २१ साउनमा एकपटक बस्यो। त्यसले सरकारको समीक्षा गरेन। त्यसयता स्थायी समिति बैठक ५ पटक मिति तोकिने र स्थगित हुने भइरहेको छ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने नेकपाका शीर्ष नेताका फरक–फरक अभिव्यक्ति देशको आवश्यकताअनुसार जरुरी रहेको बताउँछन्। ‘सरकारभित्र र बाहिर रहने नेताका अभिव्यक्ति फरक देखिनु स्वाभाविक हो, त्यो जरुरी पनि छ,’ श्रेष्ठले भने, ‘जीवन्त पार्टीमा फरक कोणबाट आवाज उठेमात्र त्यसले सरकार र नेतालाई सच्चिने सम्भावना दिन्छ।’ एकनासको अभिव्यक्ति र कार्यशैली भनेको यान्त्रिक पार्टीमा मात्र हुने उनले जिकिर गरे। उनले भने, ‘ओलीले जे बोल्यो, त्यही बोल्ने मात्र खोज्न थाल्यौं भने यान्त्रिकता हुन्छ, जिउँदो पार्टीमा आलोचनाका आवाज उठाउन सक्नुपर्छ। माधव नेपाल, वामदेवदेखि नारायणकाजीहरूले उठाएको आवाज जरुरी छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.