पोखरा प्रिमियर लिग : चितवन राइनोज फाइनलमा
पोखरा : चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवनले फाइनलमा स्थान बनाएको हो। यसअघि नै शीर्ष स्थानमा रहँदै पोखरा पल्टन फाइनलमा पुगिसकेको छ। फाइनल खेल मंगलबार हुनेछ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं रोयल्सले दिएको ९५ रनको सामान्य लक्ष्य चितवनले १८.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा पोखरासँगको भेट पक्का गरेको हो। काठमाडौंलाई सस्तैमा समेट्न चितवनका विदेशी खेलाडी सन्नी पटेलले चार ओभरमा नौ रन खर्चेर तीन विकेट लिए।
चितवनका लागि स्मित पटेलले ३८ रनको योगदान दिए। हरिशंकर साहले २६ र आरिफ शेखले अविजित २० रन बनाए। काठमाडौंले दिएको सामान्य चुनौती पछ्याएको चितवनको सुरुआत भने राम्रो रहेन। स्कोरबोर्डमा दुई रन हुँदा पहिलो विकेट गुमाएको चितवनले केवल ३१ रनमा तीन विकेट खेर फालेकोे थियो। काठमाडौंका लागि सुशन भारीले चार ओभरमा १८ रन खर्चेर तीन विकेट लिए भने पवन सर्राफले एक विकेट हात पारे।
काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र जोड्न सकेको थियो। काठमाडौंका कुनै पनि खेलाडी लामो समयसम्म क्रिजमा टिक्न सकेनन्। टोलीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा ३० रन बनाए। यस्तै जयकिसन कोल्सवालाले २५ रन बनाए। उनीहरूबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
चितवनका लागि म्यान अफ दी म्याच सन्नी पटेलले तीन विकेट लिए। अर्का भारतीय खेलाडी स्मित पटेल र भुवन कार्कीले दुईदुई विकेट हात पारे। यस्तै करण केसी र कप्तान पारस खड्काले एकएक विकेट लिए।
प्रतिक्रिया दिनुहोस !