पर्वतमा शिवपार्वतीकाे विश्वकै अग्लो मूर्ति स्थापना गरिने
कुस्मा : पर्वत सदरमुकाम कुस्मामा विश्वकै अग्लो भगवान् शिवपार्वतीको मूर्ति स्थापना गरिने भएको छ। ५१ फिटभन्दा अग्लो मूर्ति बनाउन थालिएको हो। मूर्ति निर्माणको उद्देश्य देश तथा विदेशमा प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल गुप्तेश्वर गुफा चिनाउनु रहेको छ। पर्वतलाई चिनाउन हरेक वर्ष ऐतिहासिक धार्मिक मेला आयोजना गर्ने र उक्त मेलाबाट संकलित रकमबाट मूर्ति बनाउन लागिएको हो।
नेपालकै लामो गुप्तेश्वर गुफालाई आधार बनाएर धार्मिक मेला गर्न लागिएको हो। प्रत्येक वर्ष वैशाख १ गतदेखि ११ गतेसम्म आयोजना हुने धार्मिक मेलामा विश्वभरिका हिन्दू धर्मालम्वीलाई भित्र्याउने लक्ष्य राखिएको छ। मेलाका लागि शनिबार कुस्मा बजारमा सम्पन्न भेलाले २१ सदस्यीय मूल समिति गठन गरेको छ। समितिको अध्यक्षमा पृथ्वीनारायण शर्मा चयन भएका छन्। २०७६ जेठ १ देखि ११ गतेसम्म मेला हुनेछ। अर्को वर्षदेखि निरन्तर मेला आयोजना गरिने भएको छ।
पार्वती जन्मेको स्थान पर्वत भएको धार्मिक विश्वासका आधारमा विश्वकै अग्लो शिवपार्वतीको मूर्ति निर्माण गर्न योजना अघि सारिएको युवा पण्डित तथा कथावाचक ईश्वरकृष्ण भुर्तेलले बताए। मूर्तिसँगै पर्वतमा सिसमहल (सिसाको घर) र न्यूनतम १ सय कोठाको धर्मशालासमेत निर्माण गरिने योजना छ। मुक्तिनाथ र दामोदरकुण्ड जाने तीर्थयात्रीका लागि धर्मशाला निर्माण गरिने भएको हो। यी संरचना गुप्तेश्वर गुफाको परिसरमा स्थापना गरिने भएको छ।
संरचना निर्माणका लागि १ सय ५१ जना संस्थापक सदस्य बनाई १ लाख रुपैयाँका दरले संकलन गर्न थालिएको छ। शनिबार पहिलो दिनै कुस्मा बजारका २८ जनाबाट २८ लाख रुपैयाँ संकलनसमेत भइसकेको अध्यक्ष शर्माले जानकारी दिए। १ हजार १ सय जना आयोजक समितिका सदस्य बनाइने भएको छ। कोटीहोम सहितको उक्त महायज्ञमा ५ हजार १ सय जनालाई तुलादानमा चढाउने योजना बनाइएको छ। उक्त मेलाबाट १० करोड रुपैयाँ संकलन गर्ने तयारी गरिएको समेत पण्डित भुर्तेलले जानकारी दिए।
सचिवालय स्थापना गरेर आर्थिक संकलन, आयोजक विस्तार तथा संस्थापक हुनेका लागि रकम संकलन गर्न सुरु गरिने समितिका महासचिव अच्युत तिवारीले जानकारी दिए। बाँकी ६ महिनामा सम्पूर्ण तयारी गरी विश्वकै हिन्दू धर्मालम्बीको सहभागिता गराउने योजनासमेत समितिले बनाएको छ।
पर्वतमै जन्मिएका युवा पण्डित भुर्तेलले प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेका पर्वतका धार्मिक स्थलको विश्वभर प्रचार गरी जिल्लाको समग्र विकास गर्ने उद्देश्य मेला आयोजना गर्न आफैं अग्रसर भएको बताए।
प्रतिक्रिया दिनुहोस !