आफ्नै बुतामा लक्ष्मी दाहिना पार्नेहरूको कथा

आफ्नै बुतामा लक्ष्मी दाहिना पार्नेहरूको कथा

जेफ बेजोस 

अमेरिकी प्रविधि व्यवसायी जेफ बेजोस अहिले संसारका सबैभन्दा धनी व्यक्ति हुन्। संसारमा एक सय अर्ब डलर सम्पत्ति नघाउने पहिलो व्यक्ति हुन् उनी। उनको सम्पत्ति १ सय ३८ अर्ब डलर छ। उनी सन् १९६४ मा जन्मिएका थिए। उनका बुबा टेड योर्गेन्सन साइकल पसल चलाउँथे। आमा ज्याकलिनले टेडसँग सम्बन्ध विच्छेद गरेर क्युबाली आप्रवासी माइक बेजोससँग सन् १९६८ मा विवाह गरेपछि यो परिवार न्यू मेक्सिकोबाट टेक्सस सर्‍यो। 

प्रिन्स्टनबाट सन् १९८६ मा इलेक्ट्रिकल इन्जिनियरिङ र कम्प्युटर साइन्समा बेजोसले स्नातक गरे। प्रिन्स्टनमा छँदा भर्खर शैशवकालमा रहेको कम्प्युटर साइन्स र इन्फर्मेसन टेक्नोलोजीप्रति उनी आकर्षित भए। त्यसपछि सन् १९९४ सम्म उनले वालस्ट्रिटमा काम गरे। त्यही साल घुम्ने क्रममा सियाटल पुगेका बेला एउटा ग्यारेजमा उनले अमेजनको स्थापना गरे। यो कम्पनीले पहिले अनलाइनमार्फत पुस्तक बेच्थ्यो। पछि अन्य वस्तु तथा सेवा थपिँदै गए। अमेजन अहिले संसारकै सबैभन्दा ठूलो अनलाइन सेल्स कम्पनी बनेको छ। अमेजनको १६ प्रतिशत सेयर बेजोसको नाममा छ। उनले सन् २०१३ मा २५ करोड डलरमा ‘द वासिंङ्टन पोस्ट’ पत्रिका किनेका छन्। 

उनी ब्लू ओरिजिन नामक अन्तरिक्ष यात्रासम्बन्धी कम्पनीका संस्थापकसमेत हुन्। यो कम्पनीले अन्तरिक्षमा यात्रु लैजाने यान बनाइरहेको छ।

मार्क जुकरबर्ग 
फेसबुकका संस्थापक मार्क जुकरबर्ग सन् १९८४ मा चिकित्सक परिवारमा जन्मेका थिए। उनकी आमा करेन केम्पनर मनोचिकित्सक हुन् भने बुबा एडवर्ड जुकरबर्ग दन्तचिकित्सक हुन्। उनले हार्वर्ड युनिभर्सिटीमा अध्ययन गरेका थिए। सन् २००४ मा आफ्ना सहपाठीहरूसँग मिलेर १९ वर्षे जुकरबर्गले फेसबुक सुरु गरे। यो साइट पहिले क्याम्पसभित्र मात्र प्रयोग हुन्थ्यो। तर, केही समयमै यो विश्वव्यापी बन्यो। सन् २०१२ मा फेसबुक प्रयोगकर्ताको संख्या एक अर्ब नाघ्यो। त्यही साल उनले कम्पनीलाई पब्लिक बनाए। 

जुकरबर्ग धनी मात्र छैनन्, प्रभावशाली पनि छन्। बितेको दशकमा संसारको राजनीतिक अवस्था बदल्न फेसबुकको महŒवपूर्ण हात रह्यो। अरब जगत्मा सामाजिक सञ्जालकै कारण क्रान्ति भए। सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा फेसबुकको भूमिकालाई लिएर कडा आलोचना भयो। फेसबुकले झुटो समाचार फैल्याएर मतदातालाई दिग्भ्रमित पार्न भूमिका खेलेको आरोप लागेपछि जुकरबर्ग संकटमा परे। प्रयोगकर्ताको तथ्यांकलाई अनधिकृत रूपले प्रयोग गर्ने, बेच्ने गरेको समेत पुष्टि भयो। उनले अमेरिकी कंग्रेससमक्ष बयानसमेत दिए। पछिल्लो समय फेसबुकको सेयरमा गिरावट आइरहेको छ। 

अहिले जुकरबर्गको सम्पत्ति ५७ अर्ब डलर छ। उनी कम उमेरका अर्बपतिमध्ये एक हुन्। उनीसँग फेसबुकको १७ प्रतिशत सेयरको स्वामित्व छ। यद्यपि, जुकरबर्ग दम्पतीले आफ्नो जीवनकालभित्रै फेसबुकको ९९ प्रतिशत सेयर दान दिने घोषणा पनि गरेका छन्। 

ज्याक मा 

सफलता हात पार्न चाहनेका लागि ज्याक मा प्रेरणाका स्रोत हुन्। कठिन संघर्ष गरेर उनी अहिले चीनका सबैभन्दा धनी व्यक्तिमध्ये एक बनेका छन्। सन् १९६४ मा चीनको हाङ्जाउमा जन्मेका माले सानैदेखि अंग्रेजी सिक्न थाले। उनी अंग्रेजीभाषी पर्यटकहरूसँग संवाद गर्दै अंग्रेजीमा पोख्त हुने प्रयास गर्थे। त्यस्तै एक पर्यटकसँग उनले पत्रमित्रता गाँसे, जसले उनलाई ‘ज्याक’ नाम दिए। 

मालाई क्याम्पस पढ्न पनि निकै मुश्किल पर्‍यो। प्रवेश परीक्षा पास गर्नै उनलाई चार वर्ष लाग्यो। लगातार फेल भए। उनले सन् १९८८ मा हाङ्जाउ टिचर्स इन्स्टिच्युटबाट अंग्रेजीमा बीए उत्तीर्ण गरे। उनले ३० ठाउँमा जागिरका लागि आवेदन दिए तर सबैले उनलाई अस्वीकार गरे। ‘हाम्रो शहरमा केएफसी आउँदा त्यसमा पनि जागिर खान गएँ,’ माले एक अन्तर्वार्तामा भनेका छन्, ‘हामी २४ जना गएका थियौँ। २३ जनाले जागिर पाए, मैले मात्र पाइनँ।’ त्यसपछि उनी हाङ्जाउ दियान्जी युनिभर्सिटीमा लेक्चरर भए। 

सन् १९९५ मा उनी अमेरिका गए, त्यहाँ उनले इन्टरनेटबारे थाहा पाए। इन्टरनेटमा चीनबारे कुनै जानकारी नदेखेपछि उनले एउटा वेबसाइट खोले। सन् १९९५ मा २० हजार डलर जुटाएर साथीहरूसँग मिलेर खोलेको वेबसाइट बनाउने कम्पनीले पनि समयमै प्रगति ग¥यो। चार वर्षपछि हाङ्जाउ फर्केर उनले १७ जना साथीको सहयोगमा अलिबाबा कम्पनी स्थापना गरे। अहिले अलिबाबा ई–कमर्स व्यवसायमा विश्वकै ठूलो कम्पनीमध्ये एक हो। माको कूल सम्पत्ति अहिले ३५ अर्ब डलर छ। उनले चिनियाँ मनोरञ्जन उद्योगमा पनि लगानी गरेका छन्। उनले अलिबाबाको कार्यकारी अध्यक्ष पद अर्को वर्ष छोड्ने घोषणा गरिसकेका छन्। 

सेल्डन एडेल्सन 

क्यासिनो साम्राज्यका बादशाह हुन्, सेल्डन एडेल्सन। उनी अमेरिकाको लस भेगास स्यान्ड्स नामक कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी हुन्। सम्पूर्ण क्यासिनो व्यवसायको आधाभन्दा बढी हिस्साका मालिक हुन् उनी। तर, ५५ वर्षको उमेरमा मात्र उनी यो व्यवसायमा प्रवेश गरेका थिए। 

सन् १९३३ मा आप्रवासी आमाबाबुबाट जन्मेका थिए, एडेल्सन। उनकी आमा बेलायतबाट बोस्टन आइपुगेकी यहुदी थिइन्। उनका बुबा ट्याक्सी चलाउँथे। १२ वर्षको उमेर उनले काकासँग दुई सय डलर सापटी लिए र बोस्टनमा पत्रिका बेच्ने लाइसेन्स किने। १६ वर्षको उमेरमा उनले काकाबाट १० हजार डलर ऋण लिएर क्यान्डी बेच्ने मेसिन बनाउन थाले। उनी न्युयोर्कको सिटी कलेज भर्ना भए तर पास भएनन्।

अदालतसम्बन्धी रिपोर्टर बन्ने उनको प्रयास पनि असफलतामा टुंगियो। अन्ततः सेनामा भर्ती भए। सेवानिवृत्त भएपछि एडेल्सनले झिनामसिना व्यवसाय गरे। सन् १९६० को दशकमा उनले चार्टर टुर व्यवसाय सुरु गरे र पैसा कमाए। जीवनमा ५० भन्दा बढी व्यवसाय गरेका एडेल्सनको कुल सम्पत्ति हाल ३५ अर्ब डलर छ।

सन् १९८८ मा एडेल्सन र उनका साझेदार मिलेर लस भेगासको स्यान्ड्स होटल एन्ड क्यासिनो किने। त्यसयता यो व्यवसायमा उनले ख्याति कमाएका छन्। सन् २००४ मा मकाउमा उनले स्यान्ड्स मकाउ खोले। अहिले यहुदी संस्थाहरूका लागि सबैभन्दा ठूला दाता हुन् उनी। उनले रिपब्लिकन पार्टीलाई पनि ठूलो चन्दा दिँदै आएका छन्। 

एलन मस्क 

यतिबेला विभिन्न कारणले समाचारको शीर्षक बनिरहेको नाम हो, एलन मस्क। उनी एक सफल उद्यमी, द्रष्टा र लगानीकर्ता हुन्। उनी अन्तरिक्ष यान निर्माता कम्पनी स्पेस एक्सका प्रमुख कार्यकारी तथा मुख्य डिजाइनर हुन्। त्यस्तै, विद्युतीय कार तथा ऊर्जा कम्पनी टेस्लाका पनि प्रमुख कार्यकारी हुन्। उनले पेपल स्थापना गरेका थिए। 

सन् १९७१ मा जन्मेका मस्क १७ वर्षको उमेरमा दक्षिण अफ्रिकाबाट क्यानडा सरेका थिए। दुई वर्षपछि उनी अमेरिका पुगे। उनले अर्थशास्त्र र भौतिकशास्त्र अध्ययन गरे। उनले जिप टू नामक सफ्टवेयर कम्पनी खोलेका थिए, जसलाई सन् १९९९ मा कम्प्याक कम्पनीले ३४ करोड डलरमा किन्यो। उनले सन् २००२ मा स्पेस एक्स खोले। 

अहिले पृथ्वी र अन्तरिक्ष दुवैतिरको यातायातमा क्रान्ति ल्याउन जुटेका छन्, मस्क। यद्यपि, उनको परिकल्पनाको कहिलेकाहीँ मजाक उडाइने गरेको छ। सन् २००३ मा स्थापित उनको टेस्ला कम्पनीले विद्युतीय गाडी बजारमा ल्याउने भएको छ भने स्पेस एक्सले अन्तरिक्षमा पर्यटक लैजाने योजना बनाएको छ। त्यस्तै, सौर्य ऊर्जा प्रवद्र्धनका लागि सोलारसिटी नामक कम्पनी पनि खोलेका छन्। त्यसबाहेक उनका अन्य कैयौँ परियोजना छन्। मस्कका कतिपय योजना अविश्वसनीयसमेत लाग्छन्। उनले दिगो ऊर्जाका माध्यमबाट विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्नु तथा मंगलग्रहमा मानवबस्ती बसाएर मानवजाति लोप हुने खतरा कम गर्नु आफ्नो लक्ष्य भएको बताएका छन्। 

रोमन अब्रामोभिच 

रुसमा जन्मेका रोमन अब्रामोभिचले दुई वर्षको उमेरमै आमाबुबा गुमाएका थिए। उनलाई हजुरआमा र काकाले हुर्काएका थिए। हुर्केपछि उनी सोभियत सेनामा भर्ती भए। उनले सन् १९८७ मा ओल्गा लिसोभासँग विवाह गरे। विवाहमा प्राप्त महँगो उपहारलाई उनले व्यवसायमा लगाए। पहिले उनी सडकमा सामान बेच्थे र स्थानीय कारखानाको मेकानिक पनि थिए। 

सोभियत संघमा भइरहेको निजीकरणको फाइदा उठाएर अब्रामोभिच धनी बने। उनले आफ्ना व्यवसायलाई वैधानिक बनाए। उनकी पत्नीले खेलौना बनाउने कम्पनी खोलिन्। लगत्तै उनीहरूले सबै खाले व्यवसायमा हात हाले। सुंगुरपालनदेखि तेल खानीसम्ममा उनीहरूको लगानी रह्यो। सन् १९९२ देखि १९९५ का बीचमा अब्रामोभिचले पाँच वटा कम्पनी खोले। सन् १९९५ मा उनले राष्ट्रपति बोरिस यल्तसिनका सहयोगी बेरेजोभ्स्कीसँग मिलेर विशाल तेल कम्पनी सिब्नेफ्टमा नियन्त्रण कायम गरे। सो कम्पनीको सेयर अकासिँदा उनीहरू अर्बपति बने। सिब्नेफ्टको ७३ प्रतिशत सेयर उनले १३ अर्ब डलरमा सन् २००५ मा बेचे। 

अहिले उनी स्टिल कम्पनी एभराजका सेयर होल्डर हुन्। इंग्लिस प्रिमियर लिगको चर्चित क्लब चेल्सीका मालिक पनि हुन् उनी। उनको कुल सम्पत्ति ११ अर्ब डलर छ। 

जोउ चुन्फेई 

जोउ चुन्फेई चिनियाँ उद्यमी हुन्। चीनको हुनान प्रान्तमा सन् १९७० मा गरिब परिवारमा उनको जन्म भएको थियो। उनी पाँच वर्षको हुँदा उनकी आमाको मृत्यु भयो। १६ वर्षको उमेरमा उनी सेन्जेन बसाइँ सरिन् र घडी कारखानामा काम गर्न थालिन्। कारखानामा उनको पदोन्नति हुँदै गयो।

जागिरबाट अलिअलि गर्दै उनले तीन हजार डलर बचत गरिन्। त्यसैलाई लगानी गरेर आफूले काम गरेको कारखानानजिकै उनले सन् १९९३ मा एउटा वर्कसप खोलिन्। त्यहाँ घडीका पाटपुर्जा बनाइन्थ्यो। 

सन् २००३ मा मोटोरोलाले जोउलाई सेलफोनको काँचको स्क्रिन बनाइदिन आग्रह गर्‍यो। त्यसबेला मोबाइल फोनको स्क्रिनमा प्लास्टिकको सट्टा काँच राख्ने चलन सुरु भएको थियो। चुन्फेईले स्विकारिन्। लगत्तै अन्य सेलफोन कम्पनी पनि उनको ढोका ढकढक्याउन पुगे। त्सपछि उनले लेन्स टेक्नोलोजी नामक टचस्क्रिन बनाउने कम्पनी खोलिन्। सो कम्पनीले एचटीसी, नोकिया, सामसुङजस्ता ब्रान्डबाट अर्डर पाउन थाल्यो।

सन् २००७ मा आइफोनको टचस्क्रिन बनाएपछि त यो व्यवसायमा चुन्फेईको कम्पनी ख्यातिप्राप्त बन्यो। उनको कम्पनीले अहिले एप्पल, सामसुङ, हुवावेजस्ता कम्पनीलाई टचस्क्रिन आपूर्ति गर्छ। उनको कम्पनीमा करिब ९० हजार मानिस काम गर्छन् र त्यसको कारखाना ३२ स्थानमा छ। उनको कुल सम्पत्ति अहिले करिब पाँच अर्ब डलर छ। 

डायन हेन्ड्रिक्स 

सन् १९४७ मा अमेरिकाको विस्कन्सिनमा किसान परिवारमा जन्मेकी थिइन्, डायन हेन्ड्रिक्स। सन् १९६५ मा उनले हाइस्कुल पूरा गरिन्। लगत्तै उनले विवाह गरिन् तर पतिसँग सम्बन्ध विच्छेद भयो। सन् १९७५ मा केन हेन्ड्रिक्ससँग उनको भेट भयो। उनीहरूले विवाह गरे र व्यावसायिक साझेदार पनि भए। सन् १९८२ मा उनीहरूले ऋण लिएर एबीसी सप्लाई नामक कम्पनी खोले। यसले भवन निर्माणका लागि आवश्यक सामग्री बेच्छ।

एबीसी सप्लाईको व्यवसाय तुरुन्तै चम्कियो। यसले अमेरिकाभर अनेकौँ सामान बेच्छ। यो छाना छाउन आवश्यक पर्ने सामग्री बेच्ने सबैभन्दा ठूलो कम्पनीमा गनिन्छ। डायन यो कम्पनीकी अध्यक्ष हुन्। उनले हेन्ड्रिक्स होल्डिङ कम्पनीमार्फत लगानी पनि गरिरहेकी छन्। उनले २२ कम्पनीमा लगानी गरेकी छन्। अहिले उनको कुल सम्पत्ति छ अर्ब डलरभन्दा बढी छ। हेन्ड्रिक्स सात सन्तानकी आमा र १७ नातिनातिनाकी हजुरआमा हुन्। 

पोल्याना चू 

पोल्याना चू हङकङकी सबैभन्दा प्रसिद्ध महिला उद्यमी हुन्। उनी किंग्सटन फाइनान्सियल ग्रुप, गोल्डेन रिसोर्ट ग्रुप र सिन्सेयर वाच नामक कम्पनीकी कार्यकारी प्रमुख हुन्। सन् १९५८ मा जन्मेकी उनी १८ वर्षको उमेरमा बुबासँगै अमेरिका गइन्। सानफ्रान्सिस्कोमा पढ्दै गर्दा भेट भएका निकोलस चूसँग उनको विवाह भयो। उनीहरूले रियल स्टेटका क्षेत्रमा काम गर्न थालेका थिए। उनको एक मात्र सन्तानको नाम किंग्सटन हो। सन् १९९२ मा चुको परिवार हङकङ फर्कियो।  
हङकङको बढ्दो बजारको मौका छोपेर सन् १९९३ मा उनले किंग्स्टन फाइनान्सियल ग्रुप स्थापना गरिन्। उनको परिवार होटल तथा क्यासिनो व्यवसायमा थियो। तर, उनले पुँजी बजारमा लगानी गर्ने जोखिम मोलिन्। सन् २०१० सम्ममा उनी हङकङको सफल उद्यमी बनिसकेकी थिइन्। किंग्स्टन अहिले हङकङको शक्तिशाली वित्तीय कम्पनी मानिन्छ। उनको कुल सम्पत्ति तीन अर्ब डलर छ। 

ओप्रा विन्फ्रे 

सञ्चारमाध्यममा एकदमै परिचित नाम हो, ओप्रा विन्फ्रे। सन् १९५४ मा मिसिसिपीमा जन्मेकी थिइन् उनी। एक किशोरी आमाले उनलाई जन्म दिएकी थिइन्, जो पतिसँग अलग भइसकेकी थिइन्। परिवारकै सदस्यको यौन दुव्र्यवहारमा परेकी विन्फ्रे १३ वर्षको उमेरमा घर छोडेर भागिन्। गर्भवती भएकी ओप्राले १४ वर्षको छँदा एक बच्चालाई जन्म दिइन्, जसको शैशवावस्थामा नै मृत्यु भयो। उनी आमासँग बस्न घर फर्किन्, आमाले बुबाकहाँ पठाइदिइन्। त्यहाँ उनको जीवन बदलियो। कलेज पढ्नका लागि उनले पूर्ण छात्रवृत्ति पाइन्, एउटा सुन्दरता प्रतियोगिता जितिन् र रेडियो कार्यक्रम चलाउन थालिन्। अन्ततः उनी टीभीमा आइन्। त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। उनको नाम संसारका हरेक कुनाका मानिसले थाहा पाएका छन्। 

उनले सन् १९७० को दशकमा बाल्टिमोरमा टीभीमा समाचार वाचन गरिन्। सन् १९८४ मा उनी सिकागो सरिन्, जहाँ उनले टीभीमा बिहानी कार्यक्रम चलाइन्, जुन अत्यन्त लोकप्रिय बन्यो। त्यही कार्यक्रमलाई सन् १९८६ मा ‘द ओप्रा विन्फ्रे सो’ नामाकरण गरियो। त्यसपछि उनले हार्पो स्टुडियोज खोलिन्। त्यसैमा उनले २५ वर्ष आफ्नो सो चलाइन्। उनले टक सोबाटै वर्षमा ३० करोड डलरसम्म कमाइन्। यो स्टुडियोअन्तर्गत अहिले बुक क्लब, म्यागजिन, केबल नेटवर्क, फिल्म निर्माणजस्ता काम पनि भइरहेका छन्। 

उनले सन् १९८५ मा फिल्ममा अभिनय सुरु गरिन्। पहिलो फिल्म ‘द कलर पर्पल’ का लागि नै उनी ओस्कर मनोनयनमा परिन्। सन् १९९८ मा उनले टोनी मोरिसनको प्रसिद्ध उपन्यासमा आधारित फिल्म ‘बिलभेड’मा पनि अभिनय गरिन्। उनले पाँच पुस्तक सहलेखनसमेत गरेकी छन्। उनको कुल सम्पत्ति अहिले २.७ अर्ब डलर छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.