११ वर्षदेखि छठको अवसरमा रक्तदान
वीरगन्ज : छठ पर्वमा छठघाटको सजावट र व्यवस्थापनमा खर्च गर्ने होडबाजी मात्रै चल्दैन, केही स्थानीय युवाले यही अवसरमा सामाजिक अभियान समेत चलाउँदै आएका छन् ।
वीरगन्ज महानगरपालिका–१० मा रहेको घडीअर्वा पोखरीमा डेढ दशक देखि छठपूजाको आयोजना गर्दै आएको घडीअर्वा स्पोर्ट क्लबले छठघाटको सजावटसँगै रक्तदान कार्यक्रम गर्दै आएको छ ।
११ वर्षयता हरेक छठ पर्वमा उक्त क्लबले रक्तदान कार्यक्रमबाट मानवीय सेवामा सरिक हुँदै आएको हो । छठ पूजाको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम गर्दै आएको घडीअर्वा स्पोर्ट क्लबले छठपूजाकै उपलक्ष्यमा आइतबार पनि रक्तदान कार्यक्रम गर्यो ।
पोखरीको छठघाट परिसरमै आयोजित रक्तदान कार्यक्रममा एक अष्ट्रेलियन नागरिक र तीन महिला सहित एक सय २१ जनाले रक्तदान गरे । अस्ट्रेलियन नागरिक जोन जोडभाल्स्क, वीरगन्जका युवाहरु संदिप ओझा, विष्णु कानु, अनिल साह, सचिता आचार्य, सन्तोष गुप्ता, सुनिल सरार्फ, खुशी श्रेष्ठ, आनन्द साह, राजकुमार गुप्ता, मुन्ना गिरी, पवन साह, प्रेम साह कानु लगायतले रक्तदान गरेका हुन् ।
घडीअर्वा पोखरीमा गरिने छठघाटको आकर्षक र मनोरम सजावटले यहाको छठ पूजाको चर्चा देशभर मात्र होइन विदेशमा पनि पुगिसकको भन्दै स्थानीय खुसी छन् ।