चितुवाको डीएनए टेस्ट !

चितुवाको डीएनए टेस्ट !

सन्धिखर्क  : अर्घाखाँचीमा पाँच वर्षमा २४ बालबालिका चितुवाको आक्रमणमा परे । १४ जनाको त ज्यानै गयो । नरभक्षी चितुवाको आतंकबाट सन्धिखर्क, किमडाँडा, अर्घा, खाँचीकोट, ढिकुरा, नुवाकोटलगायत गाउँका स्थानीय त्रस्त थिए । कति त गाउँ छाड्नै बाध्य भए ।

२४ कात्तिकमा ढिकुरा पियालेमा थापिएको पासोमा परेर एउटा चितुवा मारियो । चितुवा मरेपछि स्थानीयको खुसीको सीमा रहेन । तर, ज्यानमारा चितुवा त्यही हो त ? छ्यानब्यान गर्न डीएनए टेस्ट गर्न लागिएको छ ।

डीएनए जाँच्न मरेको चितुवाको रगत र र्‍याल काठमाडौं पठाइएको सहायक वन अधिकृत शीला पोखरेलले बताइन् । गत शनिबार साँझ चितुवाको आक्रमणबाट पियालेमा चार बर्से बालकको ज्यान गएको थियो । जंगलमा बच्चा भेटिएको स्थानको नमूना र बच्चाको रगत समेत परीक्षणका लागि पठाइएको छ ।

अर्घाखाँचीमा चितुवा आक्रमणमा १४ जना मारिएको र १० जना घाइतेको उपचार गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । गत शनिबार समेत बालकको ज्यान लिएपछि चितुवा मार्न प्रहरी परिचालन गरिएको थियो । तर प्रहरीले चितुवा फेला पार्न सकेन । त्यसपछि स्थानीयले बाघखोर बनाएका थिए ।

तीन ठाउँमा फलामे खोर थापिएको थियो । त्यही खोरमा परेको चितुवा उद्धार गर्न खोज्दा मारिएको हो । मरेको पोथीको तौल अन्दाजी ३५ केजी, लम्बाइ एक सय २४ सेन्टिमिटर, उचाइ ६० सेन्टिमिटर र कम्मरको गोलाइ ५४ सेन्टिमिटर रहेको सहायक अधिकृत पोखरेलले बताइन् ।

जिल्लावासी लामो समयदेखि चितुवा आक्रमणबाट पीडित थिए । स्थानीयले चितुवा मारिपाऊँ भनी प्रशासनसमक्ष हारगुहार गरिरहेका थिए । तर न चितुवाको आक्रमण रोकियो, न प्रशासन नै मार्न लागिपर्‍यो । बालबालिका मारिने क्रम भने चलिरह्यो । यसकारण स्थानीय आक्रोशित थिए ।

चितुवा बालबालिकाका लागि आतंक बनेको थियो । केटाकेटी स्कुल जान, घाँसदाउरा गर्न तथा गाईबाख्रा चराउन पनि डराउने गरेको ढिकुराका खिमप्रसाद मरासिनीले बताए । ती ठाउँमा केटाकेटी लिएर पाहुनापाछा आउने अवस्थासम्म थिएन ।

सुरक्षा दिन असफल भएको आरोप प्रशासनले खेपिरहेको थियो । पछिल्लो समय प्रशासनले सशस्त्र, नेपाल प्रहरी र वनका सुरक्षाकर्मीसहित ४५ जनाको टोली परिचालन गरेको थियो । वन कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीय मिलेर चितुवाको खोजी गरिरहेका थिए ।

चितुवाले ठूलो मानवीय क्षति गरेपछि अर्घाखाँचीवासीले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न समेत माग राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.