दक्षिणतिर हिमाल हेर्दै दशदिने यात्रा...

दक्षिणतिर हिमाल हेर्दै दशदिने यात्रा...

रञ्जन बस्नेत

‘३ पटकमा त राँगा पनि छिनिन्छ’ भने झैँ थोरङला पास जाने मेरो तेस्रो प्रयास यही कात्तिकमा सफल भयो । २०७१ मै पहिलो पटक प्रयास गरेको थिएँ । त्यसबेला हुडहुड आँधीको प्रभाव र २०७२ मा भुकम्पले गर्दा जान सकिएन ।

थोरोङला पासको यात्रा सुरु गर्दा मसँग अरु तीन जना साथी पनि थिए, राजन सुरज र सविन । त्यसो त, हामी तीनैजनाको तेस्रो प्रयास थियो यो । कात्तिक ५ गते बिहान कलंकीबाट बस छुट्नुअघि थानकोट, नागढुङ्गा, नौविसेको जाम सम्झेर मेरो दिमाग नै केहीबेर जाम भएको थियो । तर १० बजे नै मुग्लिन पुगियो । पहिले झैँ जाम नभएकोमा हामी खुसी थियौँ ।

त्रिशुली नदीको तिरै तिर छिचोलेर मस्र्याङ्दीको किनार पुग्दा राष्ट्रकवि माधव घिमिरेको गीत याद आयो, ‘आजै र राती के देखेँ सपनी...’, जुन नारायण गोपालले गाएका थिए । मस्र्याङ्दी नदी बारे गीतमा उल्लेख गरेपछि गीत गाउनुअघि नै स्वरसम्राट स्वयं मस्र्याङ्दी र दरौँदीको दोभान पुगेका थिए रे । १२ बजे नै पुगियो लमजुङको बेशीसहर । बेशीसहरमा त हामीभन्दा अघि नै पोखराका मित्र सुमन पुगिसकेका रहेछन् ।

चामेतिर

बेशीसहरमा खाना खाएपछि मनाङ जाँदै गरेका अरु पाँचजनासँगै चामेको लागि जीप समातियो । खाङ्सा पुगेपछि अन्नपूर्ण संरक्षण क्षेत्र सुरु भयो । वि.सं. २०४९ साल श्रावण ५ गते स्थापना भएको यो क्षेत्र नेपालको सबैभन्दा ठूलो (७६२९ वर्ग कि.मि.) संरक्षण क्षेत्र हो । अन्नपूर्ण, निलगिरी, तिलिचो, हिमचुली, माछापुच्छ्रे, गंगापूर्ण, माछापुच्छ्रे, लमजुङ हिमाल सरसर्ती देख्दा मनै आनन्दित् । बाटोभरी हिमालको हावाले हाम्रो यात्रा झन् ताजा बनाउँथ्यो ।

संसारकै सबैभन्दा अग्लो ठाउँको ताल हेर्न जाँदै थियौँ हामी । दामोदर कुन्ड, मस्र्याङ्दी र कालीगण्डकी हेर्ने चाहनाले पनि हामीलाई थप उत्साही बनायो । बाहुनडाँडा पुग्दा आफ्नो–बिरानो चिन्न नसकिने गरी साँझ परिसकेको थियो । त्यही ठाउँमा दिउसो फ्रान्सेली एक नागरिकको लडेर मृत्यु भएको रहेछ ! हाम्रा जीप चालकले भने ‘यो सडकमा गाडी चलाउन मुटु चाहिन्छ’ मुटु भएका उनको कुरा सुनेपछि त झन मेरो मुटुले ठाउँ छोडिसकेको थियो ।

पहाडी बाटोमा गाडी चलाउन पोख्त भइसकेका उनले असाध्यै होसियारीपूर्वक राती ९ बजे हामीलाई चामे पुर्याए । हाम्रो लागि चामेको आतिथि सत्कार निकै रोचक र स्मरणीय रह्यो । एक दिन त त्यहीँ भुलियो । उचाईसँग आफूलाई अनुकूल पार्नु पनि थियो । स्थानीय मित्र निलकमलकहाँ बिहानको खाजा खाएपछि उहाँले मनाङको गाला स्याउ पनि खुवाउनुभयो हामीलाई । चामेको सानो बजार घुम्नलाई दिनभर पनि लागेन ।

जनसंख्याको हिसावमा त सम्भवतः सबैभन्दा सानो गाउँपालिका होला चामे । वडा नम्बर ५ का वडाध्यक्ष कैले गुरुङले जम्मा २४ जना मतदातामध्ये १६ मत ल्याएर विजयी भएका रहेछन् ।

चामे विकट छ । हावाले ढुङ्गा नै झार्छ । आकाश नै छोला झैँ पहाडको बीचमा सानो मानवबस्ती रमाइलो चाहीँ छ । मुग्लिन कटेपछि पछ्याएको मस्र्याङ्दी चामेको दाहिने भएर बग्ने रहेछ । बीचमा लमजुङ हिमालबाट आएको सानो खोला पनि छ यहाँ । बाटोमाथि सरकारी कार्यालय छन् । बाटोमुनि झुरुप्प बस्ती । हरेक घर होटेल पनि हुन् । स्थानीयकै प्रयासमा बनेको लघु जलविद्युत योजनाले चामेलाई उज्यालो बनाएको छ ।

मस्र्याङ्दी पारी तातो पानीको धारा र पोखरी छ । चामे जाने प्रायः सबै यो तातो पानीमा नुहाउँछन् । २०६९ सालमा नेपाली सेनाले ट्र्याक खोली सडक निर्माण गरेपछि सडक यातायातसँग जोडिएको हो चामे ।

सडक यातायाताले जोडेको हुनाले मनाङ जिल्लालाई ‘क’ वर्गको दुर्गम जिल्लाबाट ‘ख’ वर्गको दुर्गम जिल्लाको रुपमा घोषणा गरिएको रहेछ । वर्षायाममा बाहुन डाँडामा पहिरो गएर २८ दिन सवारी अवरोध भएपछि फेरि ‘क’ वर्गकै दुर्गम जिल्लाको सूचीमा फर्काइएछ । प्रकृतिले गर्दा प्रशासकको समेत निर्णय बदलिदिएको सुन्दा दंग परियो हामी ।

हामी बसेको होटलमा अघिल्लो दिन पाहुनाहरुले होटल बुकिङ गरे पनि पाहुना चाँही आएनछन् । होटल साहुनी उनीहरुको लागि पकाएको खाना रक्सी बनाउनको लागि तयार पार्दै थिइन् । खाने चामलको रक्सी बनाउनुपरेकोमा ती साहुनी गुनासो गर्दै थिइन् । खासमा यहाँ खाद्य संस्थानले वितरण गरेको चामल चाँही रक्सी बनाउन प्रयोग गरिँदो रहेछ भन्ने थाहा पाउँदा दुख पनि लाग्यो । खाद्य संस्थानले दिने चामल बासी र गुणस्तरहिन भएकाले नै चामेबासी त्यसलाई रक्सी बनाउन बाध्य हुने रहेछन् ।

भोलिपल्ट तीन घण्टा हिँडेर ४२०० मिटर उचाइको लमजुङ हिमालको बेसक्याम्प चढ्यौँ हामी । हाम्रो भूगोलमा कति विविधता छ ! तीन घण्टाको पैदल यात्रामै १५०० मिटरको उचाइ फरक । पहाडको उचाइसँगै हावापानी, वनस्पति र सामाजिक जनजीवनमा पनि विविधता ।

बाटोमा चौरीको बथान उचाइतिर हिँउ परेकाले गलाको घण्टी टिरिङ टिरिङ बजाउँदै तलतिर झर्दै थिए । हामी भने धुपी, सल्लो, भोजपत्र, लालीगुँरास, ओखर, भोटे पिपलका जस्ता बोटले डाकेको जङ्गलमा सुकेर झरेका पातहरु माथि ढपक्क ढाकेको हिउँमा पाइला बजाउँदै उकालो लाग्यौँ । गुराँस र सल्लाको पातमा हिउँ जमेको दृष्य भने हेर्न लायक थियो ।

हामीसँगै हिँडेको अर्को युवा समुह हामीभन्दा झन्डै आधा घण्टा ढिला आइपुग्यो । बेशक्याम्पमा चामेमा बनाएको लोकल रक्सी खाएपछि उनीहरुमध्ये एकलाई त हिमाल नै चढ्ने जोश आएछ ।

यस्तो सुनेर हामी बेस्सरी हाँस्यौँ । एउटा पुरानो जोकको पनि याद आयो । ‘अमेरिकन, चाइनिज, अफ्रिकन र नेपाली नागरिक एउटै प्लेनमा रक्सी खाएछन् । त्यसपछि अमेरिकनले फेसबुक चलाए रे, चाइनिज सुतेछन्, अफ्रिकन फिल्म हेर्न थाले, अनि नेपाली अब तेरो दाईले प्लेन चलाउँछ भनेर पाईलटको कक्षतिर गएछन् !
त्यसपछि त ‘अब तेरो दाईले यसो गर्छ उसो गर्छ’ भन्दै हिमाल चढ्न जोशिएका ती भाइलाई जिस्काउन थालियो । यात्राभर यो हाम्रो थेगो नै भयो ।

चामेका हरेक होटेलमा रक्सी छ । औषधि पसल भने देखिएन । यस्तो सम्झँदा लाग्छ, नेपालीहरुको रमाउने तरिका नै रक्सी खानु हो । एउटा स्वास्थ्यचौकी भने छ ।
मनाङमा हरेक परिवारसँग स्याउका बोट, केही चौरी, कुखुरा, भेडा, चिया पसल । लगभग सबै परिवारसँग सबथोक छ । यस्तो हेर्दा लाग्यो, आयआर्जन गर्ने भन्दा पनि जीविका चलाउने मात्र उनीहरुको उद्देश्य छ ।

एग्रो मनाङ

यहाँको एग्रो मनाङ प्रा.लि. ले भने व्यावसायिक कृषिको एउटा नमुना देखाएको रहेछ । बलौटे माटोमा अन्य उत्पादन हुँदैन तर देख्दै रहर लाग्ने मह भरेर राखेजस्ता रसिला स्याउको बगैँचाले स्याउको माग मात्र हैन पर्यटनमा पनि सुन्दरता थपेको छ । ६० जना यहाँ रोजगार छन् । अर्थात्, ६० जना विदेश जानबाट रोकिएका छन् ।

सबै ठाउँमा धान नै किन रोप्नु पर्यो र ? हावापानी अनुसार व्यावसायिक कृषि गरेर उत्पादन गर्न सके हुन्छ नी । उत्पादनले नेपालको मात्र माग धान्न सके पनि हाम्रो पैसा विदेशिने थिएन । एग्रो मनाङ प्रा.लि. यस्तै सोच लिएर काम गरिरहेको थाहा पाउँदा खुसी पनि लाग्यो ।

भार्ताङ कट्ने बित्तिकै एउटै शिलाको स्वर्गद्वारी पहाड आउँछ । महाभारतको युद्धपछि पाँच पाण्डवहरु जिउँदै स्वर्ग गएको बाटो यही हो भन्ने धार्मिक मान्यता छ । यही ठाउँमा विष्फोटक पदार्थ पड्काउन पाउने वा नपाउने विषयमा विवाद हुँदा बाटो विस्तारमा ढिलाई भएको रहेछ ।

चामेबाट हिँडेको दिन हुम्दे पुगेर गण्डकी होटलमा बस्यौँ । माटोको छानो भएको घरमा न्यानो पार्नको निमित्त डाइनिङमा आगो बालिएको थियो । सानी छोरी केल्साङलाई मोबाइलमा भिडियो देखाउँदै होटलकी संचालक डोल्कर घलेले मिठो खाना खुवाइन् ।

हिमाली लवजमा बोल्ने डोल्करले अलिअलि लज्जा र अलिअलि हाँसो मिसाएर हतारमा खाना मात्र हैन हिमाली संस्कृति र मस्र्याङ्गदी उपत्यकाको सभ्यता पस्केकी थिइन् । छोरीलाई सहरमा लगेर पढाउने उनको रहर मायाले रोकेको रहेछ । भन्न त ‘४ वर्षकी छोरीलाई एक्लै सहर कसरी पठाउनु’ भनिन् । डोल्करको मनमा चाहीँ छोरीको पढाइबारे चिन्ता प्रकट हुन्थ्यो ।

सात कक्षासम्मको विद्यालयमा जम्मा ३ जना मात्र विद्यार्थी रहेछन् । जसमध्ये केल्साङ्ग कक्षा एक की एक मात्र विद्यार्थी । जोसँग पनि झ्यामिने । गीत गाइहाल्ने । नाचिहाल्ने केल्साङ्गका गाला चिसोले फुटेर राता बनेका थिए । भ्राताङका स्याउ जस्तै ।

पहिलेका सात गाविस मिलेर बनेको मनाङ डिस्याङ गाउँपालिकाका प्रमुख कान्छा घलेसँग भेट भयो अर्को दिन । मनाङ जिल्लाको विकास, मनाङ डिस्याङ्ग गाउँपालिकाको विकास, पर्यटन, स्थानीय जनजीवनबारे धेरै कुरा भयो । हुम्देमा पक्कीज रन वे भएको विमानस्थल भए पनि विमान नचलेकोमा चिन्ता व्यक्त गरे उनले । उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले ३३०० मिटरमा जहाज उडाउने अनुमति नदिएकोले विमान सेवाप्रदायक कम्पनीले  सेवाप्रदान नगरेको रहेछ । आखिर अनुमति थिएन भने त्यत्रो लगानी गरेर रन वे किन पीच गर्नु ? स्थानीयको चासो जायज थियो ।

मनाङसम्मको यात्रामा कान्छा घले हामीसँग सहभागी भए । बाटोमा ब्रागाको फाँट आइपुग्यो । अरुण उपत्यकाभित्र पर्ने हेलुवाबेसी जस्तै उपत्यका रहेछ यो । मैले सानोमा देखेको नदी अरुण नदी हो । र सम्म भूभाग हेलुवा बेँसी । अहिले पनि कुनै नदी देख्दा अरुणभन्दा ठूलो कि सानो मनमनै तुलना हुन्छ । जीन्दगीले धेरै अरुण तरिसक्यो तर अरुण नदीसँगको आत्मियता सधैँ उस्तै छ । फाँटको बीचबाट मिलरेप्पा गुफा जाने बाटो रहेछ । प्राचिन समयमा मिलरेप्पा तपस्या गरिरहेको ठाउँमा सिकरी कुकुर र धनुवाण सहित खर्या गोप्पो दोर्जे गुरुङ्ग मृगलाई लखेट्दै पुगेछन् । पछि मेलरेप्पाको चेला बनेछन् । अहिले पनि बुद्ध धर्मालम्वी भिक्षुहरु लामो तपस्या (छाम) बस्नको लागि मिलरेप्पा गुफामा जाने गर्दा रहेछन् ।

उपल्लो मनाङका जनप्रतिनिधि कान्छा गुरुङसँगै बिहानको खाना खाइयो, फापरको रोटी, स्थानीय साग, स्थानीय सिमीको दाल सबै स्थानीय उत्पादन । उत्पादन र खाद्य सभ्यतामा हामी कति धेरै धनी । भौगोलिक बनावट अनुसार विभिन्न किसिमको कृषि उत्पादन हुन्छ । जातजाती अनुसार खानाका विभिन्न प्रकारहरु छन् । हिमाली भेगको थकाली खाना, काठमाडौंको नेवारी खाजा, तराईको ढिकुरी, भक्का र खुर्मा, पूर्वी पहाडतिरको तोम्बा र सुकुटी, अकबरे खुर्सानी, टिमुर, लसुन, अदुवा, जिम्मु, पाखनवेत जस्ता जडिवुटी हाम्रो खानामा मसलाको रुपमा मिसिएका छन् ।

विदेशीहरु नेपालमा हुँदा नेपाली खाना र नेपाली रक्सीको स्वाद लिन चाहन्छन् । हामीले त्यस्ता जैविक उत्पादनहरुको संरक्षणमा कहाँ ध्यान दिएका छौं र ? उत्पादन कम हुँदैछ आयतित खाद्यको प्रभाव बढ्दो छ ।

जे होस् ३५४० मिटरको मनाङमा स्थानीय उत्पादनको गुरुङ खाना खान पाउँदा असाध्यै खुसी लाग्यो । खानापछि मनाङमा रहेको मनाङ साँस्कृतिक संग्राहालयको भ्रमण भेटियो । मनाङ जिल्लाको जीवनशैली र हावापानीले जीवनशैलीलाई पारेको प्रभाव देख्ने । संग्राहालयको भ्रमण सकेर हिउँ नै हिउँले भरिएको गाँगापूर्ण तालको अवलोकन गर्दै हामी त्यो दिन खाङ्गसारतर्फ अघि बढ्यौँ । खाङ्गसार पुग्दा अपरान्नअको ३ बजिसकेको थियो, साथीहरु कुर्दा साँझ पर्न लागिसकेको थियो ।

श्रीखर्कबाट अगाडि बढेपछि जंगलमा नाउरको हुल भेटिए, अनन्दसँग हुलमा चरिहेका, संरक्षित क्षेत्र भएकोले पनि नाउरको संख्या वृद्धि भएको छ । पारी अन्नपूर्ण हिमालका पिकरु बीचमा मस्र्याङ्दी नदी र बाटोसँगैको पहाडमा नाउरको हुल । मैले यति हुलका हुल संख्यामा जंगली जनावर चरिरहेको पहिलो पटक देख्दै थिएँ ।
तिलिचो बेशक्याम्प पुग्ने बेला ५ कि.मि. जति डरलाग्दो भीर आउने रहेछ । हावा चल्यो भने साना ढुङ्गा हावाले उडाएर ल्याउने, ठूलो हावा चल्यो भने मान्छे नै उडाउला जस्तो । कुनै ठाउँमा कुनै कारणले खुट्टा चिप्लियो भने सिधै मस्र्याङ्दी पुगिन्छ । बाटो अप्ठेरो छ, तिलिचो पुग्न जटिल छ । अप्ठेरोकैबीच तालको सुन्दरता थपिएको छ । सबै यहाँ पुग्न सक्दैनन् । त्यही भएर त पुग्नेहरु गर्व गर्छन् ।

मान्छेहरु ३७३४ मिटरको खाङ्गसारसम्म बाइक वा जीपमा यात्रा गर्छन् । सके ४१५० मिटरको तिलिचो बेशक्याम्पसम्मको यात्रा पनि त्यही दिन भ्याउने दाउमा हुन्छन् । उचाइमा यसरी हिँड्नु उचित हैन । काठमाडौंमा त सबैलाई हतार छ । मलाई त कार्यक्षेत्रमा हुने प्रतिस्पर्धा र काठमाडौंमा सवारीको चलाउनु उस्तै लाग्छ । नियम पालना गरेर बस्यो दाँयाबायाँबाट जसले पनि उछिन्छ । खाङसार पुगेपछि मान्छेहरु हतार गर्न छोड्छन् । आफ्नो सुरमा विना प्रतिस्पर्धा हिँड्नुको मज्जा बेग्लै ।

साँझ सात बजेतिर तिलिचो बेशक्याप पुगियो । जम्मा ३ वटा होटलमा ६०० सय जना जति पर्यटकहरु बसेका रहेछन् । त्यसमा पनि ५०० जति त आन्तरिक पर्यटक । खुसी लाग्यो । तर होटलको नियम थियो केटा जति डाइनिङमा सुत्नुपर्ने ।

श्रीमती वा प्रेमिकाहरुसँगै भएकाहरुले उनीहरुकै कोठाको भुईँमा ओछ्यान लगाए । हामी ५०÷६० जना भने डाइनिङको भुईँमै सुत्ने भइयो । होटल रियल तिलिचो भ्यूका मालिकले दुई जनालाई एक वटाका दरले सिरक बाँड्दै आए । सातजनाको टीमका म सबैभन्दा दाहिना थिएँ । मेरो साथी परे सोलुखुम्बु चौरीखर्कका ४८ वर्षीय निमा शेर्पा । प्रायः सबै पर्यटकले आफ्नो झोला बेशक्यापमै छोड्ने हुनाले भोलिपल्ट उनी तिलिचो नजाने रहेछन् । अग्ला हिमाल र तालभन्दा ट्राभल एजेन्सीले दिने दुई÷चार हजार रकम उनका लागि धेरै सुन्दर छन् ।

बल्ल तिलिचाे

यात्राको पाँचौ दिन पाँच बजे हामी संसारको सबैभन्दा अग्लो स्थानमा रहेको सुन्दर तिलिचो तालतर्फ उक्लियौँ । बाटो छोटो भए पनि ५००० मिटरको उकालो कहाँ सजिलो हुन्छ र ? अप्ठेरो नै सम्झनलायक हुन्छ । तिलिचो पुग्ने बेलाको २२ घुम्तीको उकालो त्यस्तै सम्झनलाय छ । सात नबज्दै तिलिचो ताल पुगियो । सबै थकान एकैसाथ मेटाउने सुन्दरता । पर्यटकहरु तालको सुन्दरता क्यामेरमा कैद गर्न व्यस्त थिए । कोही सेल्फी खिच्दै थिए । अहिले त सेल्फी मात्र हैन बोथी (फोटो खिच्ने मान्छेको पनि फोटोमा आकृति आउने) खिच्दै थिए । प्रविधिले मानिसलाई कृत्रिमतामै रमाउने बनाएको छ । मान्छेहरु पहाड र तालको सुन्दरता हेरेरभन्दा पनि फेसबुक र ईन्स्टाग्राममा आएको लाईक र कमेन्ट हेरेर रमाउने भएका छन् ।

तिलिचो किनारमा टोलाउने भन्दा पनि फोटो खिच्नेहरुकै भीडभाड बढी थियो । तालको पूर्वपट्टी भगवान शिव र गौतम बुद्धको मुर्ती भर्खरै स्थापना गरिएको रहेछ । धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना भगवान शिवलाई बौद्ध धर्मको खादा लगाइदिएको अनि भगवान गौतम बुद्धको प्रतिमामा रातो टीका । जाति र धर्मको साँघुरो परिवेशभन्दा माथि उठेर सबैले भगवानसँग आशीर्वाद मागिरहेका थिए ।

करिव १ घण्टा तिलिचो बसाइपछि बेशक्यापमा खाना खाएर त्यस दिन थोराङला पासतर्फको याक खर्कमा बास बस्न पुगियो । थोराङ्गला पास बाटोमा नेपाली भन्दा विदेशी पर्यटक बढी हुने । नोभेम्बर सुरु भइसक्दा पनि हिमालमा त्यति धेरै हिउँ परेको थिएन । थोराङ हिमालबाट आउने जर्साङ खोलाको किनारै किनार ३ घण्टा हिँडेर कतै याक बथानलाई बाटो दिँदै त कतै नाउरका हुल तर्साउँदै ४८५० मिटर उचाइको हाईक्याम्पमा पुग्यौँ ।

हाईक्याम्पमा पेम्वा दाईको एकमात्र होटल छ । करिब ५०० पर्यटक अटाउन सक्ने । क्याक्पको दायाँ एउटा चुली छ । धार्मिक आस्थाले बनाइएका मानेहरु ठडिएका छन् । टाढा पहाडसम्म लुङ्दर (ध्वजा) टाँगिएका छन् । उचाइसँग मिल्नको लागि हामी पनि त्यो पहाडतर्फ लाग्यौँ । बाटोमा मुनाल चराको बथान चरिरहेका रहेछन् । हामी पुगेपछि बेग हानेर उँडे । हिउँ फुसफुसाउँदै थियो । जाडो नाकको टुप्पोमा केन्द्रित भइसकेको थियो । उत्तरमा हाम्रो सिमाना हिमाल हो । तर यो ठाउँबाट हिमालहरु दक्षिणतिर देखिन्छन् । पर्यटक, गाईड र भरिया जम्मा गरेर ४०० जति मानिसहरुको भीड थियो होटलभित्र । मानौँ भोली लडाईँको अन्तिम दिन हो ।

हाईक्याम्पभन्दा माथिको बाटो त्यति धेरै उकालो रहेनछ । यात्रामा ८२ वर्षीय जापानी नागरिक र ७५ वर्षीय वेलायती नागरिक पनि भेटिए । ईच्छाशक्ति भएपछि उमेरले कहाँ छेक्छ र !

करिब एक घण्टा ४५ मिनेटको हिँडेपछि ६४८२ याकवाङ (बुढो याक) र ६१४४ मिटरको थोराङ पिकबीच मनाङ र मुस्ताङ जिल्लाको सीमानामा रहेको थोराङ ला (तिव्बती भाषामा ला भनेको पास) पास पुगियो । पहाडको सुन्दरता भन्दा पनि आफ्नो बहादुरीमा गर्व गर्दै मान्छेहरु फोटो खिच्दै फर्कन्थे । फोटो खिच्नलाई केहीबेर लाइन बस्नुपथ्र्यो । ५४१६ को उचाइमा एउटा सानो चियापसल रहेछ । सायद संसारको सबैभन्दा मिठो चिया त्यही पसलमा थियो ।

मुस्ताङपट्टी भने सीधा ओरालो रहेछ । ४ घण्टा एकोहोरो ओरालो लागेपछि बल्ल मुक्तिनाथ आइपुगिने । मुक्तिनाथ हिन्दु र बौद्ध धर्म दुवैको समान आस्थाको केन्द्र हो । हिन्दुहरु मुक्तिनाथलाई मुक्ति क्षेत्रको रुपमा लिन्छन् । मुक्तिनाथका १०८ धाराको पानीले मुख धोएर मुक्तिनाथ र भगवान गौतम बुद्धको सालिकलाई श्रद्धापूर्वक प्रणाम गरी ओरालो लाग्यौँ ।

होटल साहुको व्यवहार

१२ बजेतिर मुक्तिनाथ बजारमा एक होटलमा कालिगण्डकी उपत्यकाको सभ्यतालाई गिज्याउँदै होटल साहुनीले आफ्नो कुरुप व्यवहार प्रदर्शन गरिन् । सुरुमै हामीलाई नेपाली कि विदेशी भनेर केरकार गरियो । नेपाली भनेपछि मन नलागी नलागी मुख खुम्च्याउँदै भित्र बस्न दिइन् ।

विदशी पाहुनालाई भगवान सरह मान्नु हाम्रो संस्कार हो तर पाहुनालाई भगवान सरह मान्नु भनेको घरकालाई अपमान गर्नु पनि त हैन ! नराम्रो ठान्दै भित्र पसियो । होटलभित्र नवलपरासीबाट मुक्तिनाथ दर्शन गर्न आएका ३ जना केटीहरुलाई खाजा छिटो गरिदिन माग्दा असाध्यै तुच्छ शब्द प्रयोग गरेर गालि गरिन् । होटलमा हरेक कुराको मुल्य मेनुको भन्दा झन्डै दोब्बर ।

‘जोमसोमै बजारमा १२ बजे हावा सरर’ १२ बजे मात्र हैन १२ बजेपछि पनि हावा सरर रहेछ यहाँ । खुब हावा चलिरको थियो । कागवेनी पुगेपछि कालीगण्डकीको किनार आइपुग्यौँ । नामै त कालीगण्डकी त्यसमाथि खोलामा बालुवा निकालेपछि पानी झन् धमिलो थियो । जोमसोम बजार अब संसारका सबै सहरहरुसँग तुलना गर्न सकिने भइसकेछ । बालुवाको क्रसर उद्योग खुलिसकेछ । कालीगण्डकीमा फोहर फ्याँक्न थालिसकिएछ । प्लाष्टिकका बोटलहरु जम्मा हुन थालिसकेछन् ।

सिमेन्टका पक्की घरहरु खोला किनारका अव्यवस्थित बस्ती । खानाको गुणस्तरको त के कुरा र अरु पनि धेरै विकास ।  खाली एक गुणमात्र बाँकी त्यो हो जोमसोम, जोमसोम रहन बाँकी । भोलीपल्ट पोखरा आएर नजिकैबाट हेरेका हिमालहरुलाई फेरि टाढाबाट हेर्ने रहर थियो । तर पर्वतमा सडक निर्माणका क्रममा बाटो जाम भएर त्यो रहर पूरा हुन पाएन । कतै कच्ची बाटोमा मातेको मान्छे जस्तै हल्लिँदै, कतै वायुपंखी वेगमा दौडँदै २४ घण्टाको बस चढेर जोमसोमबाट सीधै काठमाडौं आइयो । १० दिनको अन्नपूर्ण यात्राभरी हिउँमा बनाएमा पदचापहरु मेटिए होलान् । तर मनमा बनेका अनुभुति अमिट रहने छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.