सरकारले समयमै उद्धारका लागि अनुमति नदिँदा पर्यटकको मृत्यु
काठमाडौं : गृहमन्त्रालयका कर्मचारीले समयमै उद्धारका लागि अनुमति नदिँदा बुधबार डोल्पामा एक पर्यटकको मृत्यु भएको छ। पासपोर्ट नम्बर एचके १२२४७३ भएका क्यानेडियन नागरिक र्यान्डल फेरिस बेकरको मृत्यु भएको प्रहरीले जनाएको छ।
सरकारले अनुमति दिन ढिला गरेपछि डोल्पाका प्रमुख जिल्ला अधिकारी र डीएसपीको समन्वयमा बुधबार दिउँसो २:३० बजे सिम्रिक एयर पोखराबाट उद्धारका लागि घटनास्थल पुगेको थियो। तर सिम्रिक एयर उद्धारमा पुग्नुभन्दा पहिले नै पर्यटकको मृत्यु भइसकेको सिम्रिक एयरका अप्रेशन डाइरेक्टर क्याप्टेन एन्डीले जानकारी दिए।
क्याप्टेन एन्डीका अनुसार उद्धारमा सरकारले ढिला गरी अनुमति दिँदा विदेशी पर्यटकको मृत्यु भएको यो तेस्रो पटक हो। उद्धारका लागि अथक प्रयास गरेपनि पर्यटकलाई बचाउन नसक्दा पीडा महसुस भएकाे उनले बताए। एक घण्टाअघि उद्धारका लागि पुग्न सकेको भए उनलाई बचाउन सकिने चिकित्सकले बताएका छन्।
माथिल्लो डोल्पामा घुम्न गएका क्यानेडियन नागरिकको अचानक मृत्यु भएको प्रहरीको भनाइ छ। उनको शे-फोक्सुण्डो गाउँपालिकामा पर्ने चार हजार तीन सय १० मिटर उचाइमा रहेको शे-गुम्बामा मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) अवदेश विष्टले जानकारी दिए। उनको गुम्बामै मृत्यु भएको विष्टको भनाइ छ।
डीएसपी विष्टका अनुसार उनको शव साँझ पोखरा पुर्याइएको छ। प्रहरीका अनुसार उनी कहिले र कुन उदेश्यले नेपाल आएका हुन भन्नेबारे आधिकारीक जानकारी आइसकेको छैन।