चुरे दोहनले मुहान सुक्यो
सिन्धुली : चुरे दोहनका कारण पानीका मुहान सुक्दै जान थालेपछि आसपासको तराई क्षेत्रमा पानीको चरम संकट निम्तने खतरा बढेको विज्ञले बताएका छन्। तत्काल चुरेक्षेत्रको प्राकृतिक दोहन रोकी भूक्षय न्यूनीकरण गर्न नसके चुरेलाई मुख्य मुहान बनाएर तराईतर्फ बग्ने नदी तथा खोलाको बेसिनको मुख्य मुहान सुक्दा तराईका दर्जनौं जिल्लामा पानीको चरम संकट हुने बताएका हुन्।
जल तथा ऊर्जा आयोगको सचिवालयका लागि अष्ट्रेलियन सरकारको द कमन वेल्थ साइटिफिक एण्ड इन्डष्ट्रिज रिचर्ज अर्गनाइजेसन (सीएसआईआरओ) को सहयोगमा जलस्रोत विकास संस्था र पीइआईले सिन्धुलीको चुरेलाई नै मुख्य मुहान बनाएको उनीहरूको भनाइ छ। कमला नदीको अध्ययन गर्नेक्रममा विज्ञहरुले सिन्धुलीमा भएको एक कार्यक्रममा यस्तो बताएका हुन्। वर्षेनी हुने चुरे फडानी, चुरेमा प्राकृतिक दोहन र त्यसबाट निम्तने भूक्षयका कारण कमला नदीझैं देशैभरका चुरेबाट बग्ने बेसिन मुहानहरू सुक्न थालेको सरकारका पूर्वसचिव एवं जलस्रोत विकास संस्थाका उपाध्यक्ष सोमनाथ पौडेलले बताए।
पौडेलले भने, ‘अध्ययनका क्रममा चुरेहुँदै बग्ने कमलानदीमा कहिलै पानी सुक्दैनथ्यो। तर, पछिल्लो समय चुरे विनासकै कारण कमला नदी बेसिनको मुख्य मुहान सुक्दै जान थालेको पाइएको छ। यसले सिन्धुलीकै कमलाखोंच तथा तराईका दर्जनौं जिल्लामा पानीको गहिरो संकट निम्त्याउन सक्छ।’ कमलाकै बेसिनका कारण सिन्धुली, उदयपुर, सिरहा र धनुषाका हजारौं सर्वसाधारण प्रभावित हुनेछन्। ऊर्जा मन्त्रालयका पूर्वसहसचिव केशवध्वज अधिकारीले देशभरिका नदी बेसिनको मुख्य मुहानहरू चुरे विनासकै कारण सुक्दै गएको दाबी गरे। ‘देशकै आधा भूभाग चुरेबाट बग्ने नदीहरूको पानीमा निर्भर छ। दिनप्रतिदिन चुरेका कारण मुख्य नदी बेसिनका मुहान सुक्दै जाँदा सिंगो तराईमा पानीको चरम अभाव हुन सक्ने खतरा निम्तिएको छ’, उनले भने।
अधिकारीले स्थानीय र केन्द्रीय सरकारले देशैभरका चुरेलाई मुहान बनाएका खोला तथा नदीको अध्ययन गरी ती नदीस्थित बेसिनका मुख्य मुहानको संरक्षण र समयमै विकासको रणनीति बनाएर अघि बढ्नु पर्ने सुझावसमेत दिए।
दातृ निकायको सहयोगमा मुख्ययोजना निर्माणको क्रममा नमुनाका रूपमा कमला बेसिनको विकास रणनीति निर्माण गर्न लागेको भन्दै अनुभवअन्य बेसिनका लागि उपयुक्त हुनेमा उनले जोड दिए। जलस्रोत विकास संस्थाका लागि नेपालस्थित संयोजक तेजेन्द्र जिसीले भने, ‘प्रभावित समुदाय, स्थानीय तह तथा राष्ट्रिय तहमा सरोकारवाला, नीतिनिर्माता लगायतसँग छलफल गरी एकीकृत रणनीतिको मुख्य लक्ष्यका रूपमा जलउत्पन्न प्रकोप जोखिम न्यूनीकरण तथा जीविकोपार्जनमा टेवा पु¥याउन चुरे तथा यसका प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड दिनुपर्छ।’
कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले चुरे विनासले कमला नदीको पानीको मुहान सुक्दै जाँदा सिन्धुलीमा ठूलो चिन्ता छाएको बताए। उनले भने, ‘यसको समाधानका लागि कमला नदीमा तटीय बाँध बाध्ने योजना अघि सारेको र यसका लागि विस्तृत अध्ययनको काम अघि बढाउन एक करोड बजेट छुट्याएको छ।’ दुधौलीका मेयर घनश्याम राउतले चुरे संरक्षण हुन नसकेमा पानीको ठूलो समस्या हुने बताउँदै यसका लागि पहल गर्नुपर्ने बताए। कमला बेसिनको जलस्रोत योजना तथा व्यवस्थापनलाई सुधार र सुरक्षित बनाई बेसिनका प्रभावित जनसंख्याको जीवन र जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यसहित सुरु भएको रणनीति योजना निर्माण २०७६ को जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ।