गबारो किरा लागेर अर्घाखाँचीमा कफी उत्पादन दुईतिहाइले घट्यो
सन्धिखर्क : विश्वमै उत्कृष्ट ब्रान्ड पाएको अर्घाखाँचीको कफी उत्पादनमा पछिल्लो तीन वर्षदेखि कमी आएको छ। तीन वर्ष पहिला १८ टन कफी उत्पादन हुने ठाउँमा गबारो किरा लागेर कफीको बोट मरेपछि अघिल्लोे बर्ष ६ टन मात्र उत्पादन भएको जिल्ला कफी व्यवसायी संघका कोषाध्यक्ष तथा कफी कृषक पुस्करनाथ बन्जाडेले बताए। यो वर्ष पनि लगभग ६ टन नै उत्पादन हुने अनुमान गरिएको छ।
कफी खेती गर्दा बजार सुनिश्चित हुने, मनग्य आम्दानी हुने र सजिलैसंग खेती गर्न सकिने भएपछि अर्घाखाँचीका कृषकहरु पछिल्लो ६ बर्षदेखि कफी खेतीतर्फ आकर्षित भएका थिए। गवारो किराले कफीका बोटमा आक्रमण गरी ध्वस्त पारेपछि पकेट क्षेत्रका रुपमा रहेका किमडाँडा, ठूलापोखरा, वाङ्गला, बल्कोट, धारापानी गाविसहरुमा ,उत्पादनमा कमी आएको हो।
अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात हुने गरेको छ। जिल्ला कफी व्यवसायी संघले कृषकहरुलाई सहयोग गरेर उत्पादित कफी संकलन गरिदिएपछि नेपाली कफीको विदेशमा बजारीकरण हुँदै आएको हो।
विश्वमा नेपालको कफी उत्कृष्ट भएर त्यसको माग बढ्दै गएको छ। कफी खेतीलाई व्यवस्थित बनाएर उत्पादनमा वृद्धि गर्न, कफी कृषकहरु लागेका छन्। १.०९ हेक्टर जमिनमा कफी खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीले जनाएको छ। गवारो किरा नियन्त्रणका लागि प्रयास भइरहेको जिल्ला कृषि ज्ञान केन्द्रका थिरलाल गैरेले जानकारी दिए।
कफीको लागि छहारी व्यवस्थापन र गबारो नियन्त्रण सम्बन्धी सीप सिकाउन सरकार तथा कुनै संघ सस्थाले पहल गरेमा कृषकहरुलाई राहत हुने ठूलापोखराका कृषक कृष्णप्रसाद पाण्डेले बताए। कफीका बिरुवा छहारीमा लगाउनुको सट्टा नाङ्गो र सुख्खा जमिनमा लगाउँदा गबारो लाग्ने सम्भावना बढी हुने कफी सुपर जोनका प्रमुख उमानाथ भण्डारीले बताए।
अर्घाखाँचीमा उत्पादन भएको कफी कोरिया, जापान, अमेरिका लगायतका देशमा बिक्री भैरहेको छ। समुन्द्री सतहदेखि ८ सय मिटरको उचाईमा हुने कफी बढी स्वादीले हुने भएकोले अर्घाखाँचीको कफीले अन्तराष्ट्रिय बजारमा राम्रो ठाउँ पाएको छ।
अर्घाखाँचीमा ०५८ सालदेखि कफी व्यवसायी संघ स्थापना गरी, व्यावसायिक रुपमा कफी व्यवसाय सुरु गरिएको थियो। ०६०/६१ मा जिल्लाका १८ गाविसमा ४१ समूह गठन गरी कफी उत्पादनमा जोड दिँदै एक हजार १६५ सदस्य निर्माण गरिएको बजान्डेले बताए।
प्रतिक्रिया दिनुहोस !