चिनियाँ कम्पनीकै कारण चक्रपथमा आकाशे पुल बन्न ढिलाइ

चिनियाँ कम्पनीकै कारण चक्रपथमा आकाशे पुल बन्न ढिलाइ

ललितपुर : चिनियाँ कम्पनीले निर्माण रोकेपछि चक्रपथ सुधार आयोजनाअन्तर्गत आकाशेपुल बन्न ढिलाइ हुने भएको छ । चिनियाँ कम्पनी साङघाई कन्स्ट्रक्सन गु्रपले मंसिर २९ सम्ममा निर्माण सकेर सरकारलाई सडक हस्तान्तरण गरेपछि मात्र आकाशेपुल निर्माण हुने चक्रपथ सुधार आयोजनाका प्रमुख सुजन खनालले बताए ।

८ लेनको चक्रपथ बने पनि आकाशेपुल र जेब्राक्रस नहुँदा दुर्घटनाको जोखिम अत्यधिक बढेको भन्दै स्थानीय रुष्ट छन् । केही साताअघि मात्र सडकको बीचमा डिभाइडर राखिएको र त्यसले गर्दा बाटो काट्न २ किलोमिटर टाढा पुग्नुपर्ने बाध्यता रहेको एकान्तकुनाका केशव पौडेलले जनाए । ‘जेब्राक्रस र आकाशेपुल नभएका कारण जतासुकै बाटो काटिरहेकाछन्’, उनले भने, ‘यसले दुर्घटनाको जोखिम बढाएको छ ।’

आयोजना प्रमुख खनालका अनुसार सडक निर्माण नसकुन्जेल ठेकेदार साङघाई कन्स्ट्रक्सनले अन्य काम गर्ने अनुमति दिएको छैन । उनले भने, ‘ठेकेदार आफ्नो डिजाइनभन्दा एक इन्च पनि यताउता गर्न चाहँदैनन् ।’ चिनियाँ कम्पनीले बनाउनुपर्ने आकाशेपुल निर्माण भइसके पनि सरकारले बनाउने पुलमा अवरोध गरेको उनले जनाए ।

प्रमुख खनालका अनुसार सरकारको भागमा चक्रपथमा ६ वटा आकाशेपुल बनाउने सम्झौता छ । सातदोबाटो, एकान्तकुना र चापागाउँ दोबाटोमा भइरहेको पुल निर्माण चिनियाँ ठेकेदारले रोकिदिएको जानकारी पनि उनले दिए । चीनबाट कम्पनीका प्रतिनिधि आएर हेरेपछि सडक ठीक बनेको वा नबनेको परीक्षण हुने र त्यसपछि मंसिर २९ सम्ममा हस्तान्तरण गर्ने जानकारी आफूले पाएको उनले बताए । ‘उनीहरूले हस्तान्तरण गरिसकेपछि मात्र आकाशेपुल बनाउने अनुमति पाएका छौं, यतिबेला चिनियाँ डेलिगेसनको पर्खाइमा छौं’, उनले भने ।

चिनियाँ कम्पनीले पहिला नै निर्माण सुरु गरे पनि सरकारले ती पुल बनाउने जिम्मा धेरै पछि मात्र लिएको उनको भनाइ छ । ‘हस्तान्तरण गर्नेबित्तिकै काम सुरु गर्नेछौं, ढिला भयो भनेर ठेकेदार पनि गनगन गरिरहेको छन्’, उनले भने, ‘तर काम समयमै सक्छौं । चिनियाँले रोकिदिएको समय थपिदिनुपर्छ भनेका छौं ।’

यतिबेला चक्रपथ फिनिसिङ भइरहेको र हस्तान्तरणपछि मात्र जेब्रा क्रसिङ कहाँ राख्ने निधो हुने उनले जानकारी दिए । चक्रपथमा सवारीचालकलाई अनुशासित बनाउन ठेकेदारले नै डिभाइडर राखेको भए पनि आफूले पनि एकान्तकुनास्थित कार्यालय पुग्न नै कठिन भएको अनुभव गरेको उनले बताए । निर्माण क्रममा घरटहरा हटाउन, रेलिङ बनाउन, कम्पाउन्ड भत्काउन र जग्गा विवादले पनि काममा विलम्ब भएको स्विकार्दै उनले कतिपय ठाउँमा ठेकेदारले नै ढिला गरेको उनको भनाइ छ ।

आयोजनाका इन्जिनियर निरञ्जन शर्माले चिनियाँ कम्पनीको भन्दा धेरै पछि मात्र सरकारले पुल निर्माण थालेको जानकारी दिए । चिनियाँ कम्पनीको डिजाइनमा पनि के कस्ता सुधार आवश्यक पर्छन् त्यसैअनुसार काम गर्दै जाने सहमतिअनुसार यसको सुरुवात भएको उनले जानकारी दिए ।

चक्रपथको १० दशमलव ३९ किलोमिटर कोटेश्वर–कलंकीखण्ड सुधारका लागि सन् २०१२ डिसेम्बर १८ मा चीन र सरकारबीच द्विपक्षीय सम्झौता भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.