बहसले खारेका प्रतिभा

बहसले खारेका प्रतिभा

कमलप्रकाश मल्ललाई पछिसम्मै चिनाइरहने प्राज्ञिक काममा उनका प्रस्तावना मात्र पर्दैनन्। थुप्रै हस्तक्षेपकारी लेखरचना तयार गरेर उनले इतिहास/संस्कृति अध्ययनका क्षेत्रमा हलचल ल्याएका छन्।


दुई साताअघि नेपाली इतिहास–संस्कृतिका ख्यातनाम विद्वान् डा. कमलप्रकाश मल्लको निधन भयो। एक दशकयता उनी पार्किन्सन रोगबाट पीडित थिए। अन्त्यतिर ‘मल्टिपल ओर्गन डिस्फङ्सन’को सिकार भए र ८३ वर्षको उमेरमा सदाका निम्ति बिदा लिए।

निधनको दुई साता बितिसक्दा पनि सञ्चारमाध्यममा उनीमाथिको चर्चा–परिचर्चा जारी छ। यसलाई एकजना अग्ला अक्षरजीवीप्रति नेपाली समाजले दर्शाएको कृतज्ञताका रूपमा बुझ्नुपर्छ।

०००

कमलप्रकाश मल्ल राजनीतिक आन्दोलन र सामाजिक अभियानसँग पनि जोडिएका थिए। कुनै बेला उनी माक्र्सवादी दर्शनप्रति रुझान राख्थे। कम्युनिस्ट पार्टीको सदस्य भएर पनि उनले सक्रियता जनाएका थिए। एक समय उनले कम्युनिस्ट नेता पुष्पलालसँग निकट भएर पार्टी संगठनको काम गरेका थिए। पुष्पलाल र कमलप्रकाश दुवैसँग संगत गरेका पुराना कम्युनिस्ट नेता तथा अध्येता अरविन्द रिमालका अनुसार २००८ सालतिर मल्लले अहिलेको चलनचल्तीको भाषामा भन्नुपर्दा पुष्पलालको निजी सचिवालयको सदस्य बनेर गोप्य तवरले पार्टी गतिविधि सञ्चालन गरेका थिए। पछि उनी अखिल–नेपाल विद्यार्थी फेडरेसनमा औपचारिक रूपमै सक्रिय भए (गत नोभेम्बर १९ मा रिमालको फेसबुक खातामा भएको अपडेटबाट)। प्रकारान्तरमा उनले भाषा–संस्कृतिको उत्थानका लागि हुने सामाजिक अभियानप्रति अभिरुचि देखाए। राजनीतिक र सामाजिक आन्दोलनमा सहभागिता जनाए पनि वृद्वत्त कर्मबाट उनी बढ्ता परिचित छन्। नेपालका अब्बल श्रेठीका अध्येताका रूपमा नेपाल अध्ययन गर्नेहरूमाझ उनी चिरस्मरणीय रहनेछन्।

०००

प्रखर संस्कृतिक इतिहासकारका रूपमा चिनिएका मल्लको प्राज्ञिक अभिरुचि निरन्तर परिवर्तन भइरह्यो। किशोरवयमा उनी साहित्यमा बढ्ता अभिरुचि राख्थे। स्कुल तहको अध्ययन सिध्याएर त्रिचन्द्र कलेजमा गएपछि उनले इतिहासप्रति रुचि देखाए। इतिहासका केही कक्षा पनि लिए। तर, विश्व इतिहास पढाउने प्राध्यापकहरूको निरस र विद्यार्थीलाई उत्प्रेरित गर्न नसक्ने खालको अध्यापन शैलीले उनको रुचिमा चिसो पानी छ्यापिदियो। त्यसपछि उनले इतिहास अध्ययनलाई चटक्कै छोडेर क्रमशः अर्थशास्त्र र अंग्रेजी साहित्यको औपचारिक अध्ययन गरे। अन्त्यमा बेलायतबाट लिंग्विस्टिक विषयमा विद्यावारिधि गरेर औपचारिक अध्ययनलाई बिट मारे।

औपचारिक अध्ययनका क्रममा बृहत् अध्ययनको उनको क्षितिज खुलेकै थिएन। सन् १९७९ मा त्रिविको रेक्टर पदबाट सेवानिवृत्त भएपछि बल्ल आफू इतिहास र संस्कृतिको अध्ययनमा केन्द्रित भएको उनी स्वयंले स्वीकारेका छन् (केपी मल्ल, फ्रम लिटरेचर टु कल्चर, सन् २०१७, पृ. ज–ञ)। त्यसपश्चात् गरेको ऐतिहासिक सामग्रीहरूको गम्भीर पठन र परिशिलनले उनलाई नेपाल अध्ययनमा गर्नेहरूमाझ प्रतिष्ठित तुल्याएको छ।

कमलप्रकाश मल्ललाई राम्रोसँग चिन्न उनको किताब ‘रोड टु नोह्वेर’ पढ्न धेरैले सुझाव दिने गरेका छन्। तर, पंक्तिकारलाई साहित्य, भाषाशास्त्रदेखि इतिहास/संस्कृतिसम्म फैलिएको उनको विषद् ज्ञानलाई ‘रोड टु नोह्वेर’ले भन्दा बढ्ता उनको पछिल्लो किताब ‘फ्रम लिटरेचर टु कल्चर’ले प्रतिनिधित्व गर्छ जस्तो लाग्छ। यसमा भाषा, शिक्षा, अंग्रेजी साहित्य, नेपाली समाज/संस्कृतिको इतिहास, प्रागइतिहास, धार्मिक इतिहास, विभिन्न वंशावलीहरू माथिको टिप्पणीलगायत सामग्री संगृहीत छ। आफूले यति धेरै विधामा कलम चलाएको प्रसंगबारे उनले जर्मन समाजशास्त्री म्याक्स वेबरले एकजना पत्रकारलाई ‘चरन क्षेत्र छुट्याइएको गधा होइन म’ भनिदिएको जवाफलाई ठट्यौली पारामा उल्लेख गरेका छन् (फ्रम लिटरेचर टु कल्चर, सन् २०१७, पृ. झ)।

०००

कमलप्रकाश मल्लको बौद्धिक जीवन आफ्ना केही प्रस्तावनालाई प्राज्ञिक टेको उपलब्ध गराउने प्रयत्नमा बित्यो। उनको वैचारिक जीवनलाई राम्रोसँग बुझ्न सर्वप्रथम उनका ती प्रस्तावनातर्फ ध्यान पुर्‍याउनुपर्छ।

पहिलो, उनी नेपालको प्राचीन सिमाना विशाल थियो भन्ने विचारलाई अस्वीकार गर्थे। प्राचीन काल (लिच्छविकाल)का विभिन्न अभिलेखमा ‘नेपाल’ शब्द ठाउँठाउँमा परेकाले उनलाई नेपाल देशको प्राचीनतालाई लिएर सन्देह थिएन। तर, प्राचीनकालमा नेपालको आकार विशाल थियो भन्ने मान्यतालाई चाहिँ उनी ठाडै अस्वीकार गर्थे। प्राचीनकालको नेपाली सीमासम्बन्धी आफ्नो प्रस्तावनालाई पुष्टि गर्न उनले लेखेका थिए, ‘लिच्छविकालका करिब २०० अभिलेख उपलब्ध भएका ठाउँहरूलाई ध्यान दिने हो भने लिच्छविहरूको अधिराज्य पश्चिममा गोरखा अथवा नुवाकोट, पूर्वमा दुम्जा, उत्तरमा चपलीगाउँ र दक्षिणमा टिस्टुङ–पालुङभन्दा पर्तिर फैलिएको देखिँदैन।’ प्राचीनकालमा नेपाल विशाल थियो, केन्द्र अथवा राजधानी कमजोर भएपछि पश्चिममा खस राज्य र दक्षिणमा तिरहुत राज्य स्वतन्त्र भएको हो भन्ने आफ्ना बौद्धिक रिपुहरूको प्रस्तावनालाई उनले अस्वीकार गरेका थिए (धनवज्र वज्राचार्य, गोपालराजवंशावलीको ऐतिहासिक विवेचना, २०६४ मा कमलप्रकाश मल्लको परिचय, पृ. झ; कमल पि. मल्ल, इम्पेकेबल हिस्टोरियोग्राफी इन नेपालः अ रिबटल, सन् १९८४, पृ. २)।

लिच्छविकालीन नेपालको भूगोलबारे निक्र्योल गर्न अभिलेखजस्ता अकाट्य प्रमाणलाई मात्र आधार मान्नुपर्छ भन्ने उनको मत थियो। उनी आफ्नो मतबाट कतिसम्म टसमस गर्दैनथे भने, एउटा सन्दर्भमा उनले ‘लिच्छविकालमा नेपाल कत्रो थियो भन्ने कुनै सीमा–सन्धि वा नापीको तथ्यांक उपलब्ध छैन’ भनेका थिए। त्यति अगाडिको भूगोलबारे नापी तथ्यांकको सहाराबाट मात्र निष्कर्षमा पुग्न सकिन्छ भनेर धेरै हदसम्म असम्भव सर्त तेस्र्याएका थिए

(कमलप्रकाश मल्ल, नेपालका इतिहास–संशोधकहरूको उत्थान र पतन, नेसं १११५, पृ. १९)।

नेपालको प्राचीन सीमासँग जोडिएर आउने नेपाल शब्दको व्युत्पत्तिबारे पनि मल्लले कलम चलाएका छन्। नेपाल शब्दको व्युत्पत्ति भोटबर्मेली भाषाबाट भएको हो भन्ने विद्वत् धारलाई पछ्याउँदै उनले भोटबर्मेली भाषाको शब्द नेपा (ने अर्थात् गाई र पा अर्थात् राख्ने/पाल्ने मानिस)बाट नेपाल शब्दको व्युत्पत्ति भएको हो भन्ने दृष्टिकोण सन् १९८३ मा प्रकाशित लेख ‘नेपाल : आर्कियोलोजी अफ द वर्ड’मार्फत अघि सारेका थिए (फ्रम लिटरेचर टु कल्चर, पृ. २७९)।

नेपाल शब्दको व्युत्पत्तिबारे मल्लको दाबी सही छैन भन्ने पुष्टि भइसकेको छ। यसबारे दिवाकर आचार्यले लेखेको निम्न सन्दर्भ उद्धृत गर्नु वाञ्छनीय हुन्छ, ‘गाईबस्तु राख्ने मानिस भन्ने अर्थमा भोट–बर्मेली भाषामा नेपा शब्द बन्नसक्छ भन्ने मल्लको कल्पना मात्र हो। यस्तो बनिबनाउ नेपा शब्द कुनै पनि भोट–बर्मेली भाषामा छैन।’ (दिवाकर आचार्य, नीपजन र नेपालः एउटा छोठो आद्य–इतिहास, २०७४, पृ. ११)

०००

नेपाल संवत्को औचित्य अद्यापि विद्यमान छ भन्ने मल्लको दोस्रो प्रस्तावना थियो। यही प्रस्तावनालाई बल पुर्‍याउन उनले सन् १९८२ मा ‘द रिलिभेन्स अफ नेपाल सम्वत’ शीर्षकको लेख लेखेका थिए। ठकुरी राजा राघवदेवको पालामा सन् ८७९ देखि प्रयोगमा आएको नेपाल संवत्को इतिहास पुरानो छ, नेपालका अतिरिक्त तिब्बतमा पनि यो संवत् प्रचलित थियो, यो नेपालको मौलिक संवत् भएकाले यसलाई राष्ट्रिय मान्यता दिनु उपयुक्त हुन्छ भन्ने उनको धारणा थियो। भारतमा उत्पत्ति भएको र भारतले नै राजकीय मान्यता दिन अस्वीकार गरेको पराई विक्रम संवतभन्दा आफ्नै मौलिक नेपाल संवत् नेपालका लागि उपयुक्त हुन्छ भन्ने ठहर उनले गरेका थिए। चन्द्रशमशेरले आफू सूर्यवंशी राजपूत भएको ढोंग रच्न नेपाल संवत्लाई विक्रम संवत्मार्फत प्रतिस्थापन गरेकाले त्यसलाई उल्ट्याउनुपर्ने राय उनले व्यक्त गरेका थिए (फ्रम लिटरेचर टु कल्चर, पृ. २०३–२०८)।

दुई साताअघि नेपाली इतिहास–संस्कृतिका ख्यातनाम विद्वान् डा. कमलप्रकाश मल्लको निधन भयो। एक दशकयता उनी पार्किन्सन रोगबाट पीडित थिए। अन्त्यतिर ‘मल्टिपल ओर्गन डिस्फङ्सन’को सिकार भए र ८३ वर्षको उमेरमा सदाका निम्ति बिदा लिए।

मल्लको तेस्रो प्रस्तावना नेपाल भाषासँग सम्बन्धित छ। गोरखाका राजा पृथ्वीनारायणले काठमाडौं उपत्यका विजय गरेसँगै मल्ल राज्यमा खस भाषाको तीव्र फैलावट भएको र यसले नेपाल भाषालाई दोयम दर्जा दिलाएको ऐतिहासिक घटना मल्लले ध्यान दिएको नेपालको सामाजिक इतिहासको अर्को महत्वपूर्ण विषय हो। चन्द्रशमशेरको शासनकाल र राणाकालको उत्तरार्धतिर नेपाल भाषा तथा यसका साधकहरूमाथि भएको दुर्दान्त दमनले नेपाल भाषालाई थप कमजोर बनाएको फेहरिस्त उनले विभिन्न सन्दर्भमा प्रस्तुत गरेका छन् (उदाहरणका लागि हेर्नुस्, फ्रम लिटरेचर टु कल्चर, पृ. १३–३७ )।

०००

कमलप्रकाश मल्लले अघि सारेका प्रस्तावनासँगै संशोधन मण्डलसँगको उनको बहसलाई नकेलाईकन उनलाई समग्रतामा बुझ्न सकिँदैन। संशोधन मण्डलमा आबद्ध उद्भट पण्डितहरूसँग बहस आरम्भ भएपछि यसले उनलाई सघन अनुसन्धानतिर केन्द्रित गर्दै लग्यो। बहसमा हावी हुन उनले अनुसन्धानको दायरालाई निरन्तर फराकिलो बनाउँदै लैजानु पर्‍यो। यस अर्थमा संशोधन मण्डलसँगको बहसले उनको प्राज्ञिक जीवनमा रचनात्मक भूमिका खेल्यो। मल्ल र संशोधन मण्डलका खासगरी महेशराज पन्तबीचको बहस अघि बढ्दै जाँदा मर्यादाको सीमा नाघेर यो गालीगलौजको हदसम्म पुग्नुचाहिँ दुर्भाग्यपूर्ण थियो।

मल्लका माथि उल्लिखित तीनवटै प्रस्तावनामा संशोधन मण्डलले विमति जनाउँदै भण्डाफोर गर्न थालेपछि उनीहरूबीच बहस चर्किएको थियो। संशोधन मण्डलले यस्तो खालको भण्डाफोर अन्य लेखकका रचनालाई लिएर पनि गरेको थियो। सूर्यविक्रम ज्ञवाली, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, यदुनाथ खनाल, चित्तरञ्जन नेपाली लगायतका रचनाहरूको पनि संशोधन मण्डलले उछितो काढेको थियो। परन्तु मल्ल ती लेखकहरूभन्दा बढ्ता तीक्ष्ण र शुरो थिए। त्यसैले पराजय स्वीकारेको छनक दिने गरी लुसुक्क फुत्किन उनले अस्वीकार गरे। मैदानमा टिकेर बहस गर्ने विकल्प उनले रोजे।

संशोधन मण्डलका महेशराज पन्तले प्राचीनकालमा नेपाल विशाल थिएन भन्ने मल्लको दाबीलाई चुनौती दिन कौटिल्य अर्थशास्त्र, समुद्रगुप्तको प्रयाग प्रशस्ती, आयुर्वेदका ग्रन्थ, काश्मीरका कल्हणले लेखेको राजतरंगिणीलगायत ऐतिहासिक सामग्रीको हवाला दिँदै त्यति बेलाको नेपाल झन्डैझन्डै आजकै जत्रो थियो, तसर्थ काठमाडौं खाल्डो मात्र नेपाल होइन भन्ने दाबी अघि सारे

(महेशराज पन्त र ऐश्वर्यधर शर्मा, द टु अर्लियेस्ट कपर–प्लेट इन्सिक्रिप्सन्स फ्रम नेपाल, नेपाल रिसर्च सेन्टर मिसलनियस पेपर्स १२, सन् १९७७, पृ. १–२९; महेशराज पन्त, प्राचीन कालमा नेपालको विस्तारको विषयमा एउटा नयाँ लेख हेर्दा, पूर्णिमा २८ (४), २०६०, पृ. १–१०)। त्यति बेलाको सीमाबारे निक्र्योल गर्न लिच्छविहरूले कुँदाएका अभिलेखका अतिरिक्त अन्य समकालीन सामग्रीले गर्ने संकेतलाई पनि आधार बनाउनुपर्छ भन्ने पन्तसहित संशोधन मण्डलको तर्क थियो।

मल्लले नेपाल संवत्को राष्ट्रिय मान्यताको औचित्यको पक्षमा लेखिरहँदा पन्तले विसं २०३९ मा ‘नेपालसम्वत्को राष्ट्रिय मान्यताको अनौचित्य’ शीर्षकको पुस्तक निकाले। त्यसमा नेपाल सम्वत्का विषयमा उनका फुटकर रचना र अन्तर्वार्ता संगृहीत छन्। नेपाल संवत् काठमाडौं उपत्यकाबाहिर कहिल्यै नचलेकाले यो नेवारहरूको स्थानीय संवत् हो, अहिले नेपाल भनी चिनिने भूभागको अधिकांश ठाउँमा पृथ्वीनारायणको समयअगावै विक्रम संवत् प्रचलित रहेको र व्यावहारिकताका हिसाबले राष्ट्रिय मान्यता पाउने योग्यता नेपाल संवत्मा भन्दा यसमा बढ्ता भएको उनले बताएका थिए। चन्द्रशमशेरले नेपाल संवत्लाई विस्थापित गरेर विक्रम संवत् लादेको भनी मल्ललगायत विद्वान्ले गरेको तर्कको विरोधमा पन्तले कर्णाली प्रदेश; काठमाडौं उपत्यकाका मल्ल राज्य; पाल्पा, तनहुँ, मकवानपुर, चौदण्डी र विजयपुरका सेन राज्यका राजाले जारी गरेका राजाज्ञामा विक्रम संवत् प्रयोग भएको उल्लेख गर्दै लेखेका थिए, ‘चन्द्रशमशेर श्री ३ महाराज हुनुभन्दा झण्डै सय वर्षअगाडि विसं १८६२ मा भएको विर्ताहरण बासट्ठीहरण, चन्द्रशमशेरका ठाइँला बाबुलाई विसं १९४२ मा मार्दा भएको पर्व ४२ साल पर्व भनी कहलिएकाले विक्रमसंवत् जनजिभ्रोमा चन्द्रशमशेरभन्दा अगाडिदेखि नै भिजिसकेको थियो भन्ने कुरामा शंका छैन।’ (उही, पृ. ७)।

नेपाल संवत्लाई देशभर कामकाजको संवत् बनाउन नहुने तर्क गर्दै पन्तले लेखेका थिए, ‘आज हामीले विक्रम संवत्को ठाउँमा नेपाल संवत्लाई राष्ट्रिय स्तरको मान्यता दियौं भने भोलि तराईका हाम्रा बन्धुहरूले नेपाल संवत्को ठाउँमा लक्ष्मणसंवत् आदि स्थानीय संवत्को... र पर्सि भोटमूलका हाम्रा बन्धुहरूले भोटको संवत्को राष्ट्रिय स्तरको मान्यताको माग गर्दैनन् भन्न सकिँदैन। ती दुवै थरीको जनसंख्या नेवार बन्धुहरूको भन्दा निकै बढी छ र तिनीहरूले ओगटेको क्षेत्रफल नेवारहरूले ओगटेको क्षेत्रफलभन्दा निकै नै बढी छ भन्ने पनि यहाँनेर हामीले बिर्सन हुँदैन।’ (उही, पृ. ३)

पृथ्वीनारायणको उदयपछि खस भाषाले नेपाल भाषालाई विस्थापित गरेको सन्दर्भमा पन्तले पृथ्वीनारायणको विजय अभियान आरम्भ हुनुअगावै खस भाषाले मल्ल राज्यमा कामकाजी हैसियत हासिल गरिसकेको प्रमाणहरूबारे विभिन्न लेखरचनामा उल्लेख गरेका छन् (पछिल्लो उदाहरणका लागि हेर्नुस्, महेशराज पन्त, हिन्दू इतिहासकार ? , राजधानी, २८ साउन २०७४, पृ. ७)।

०००

यी विषयमा मल्ल र पन्तबीच बहस बढ्दै जाँदा यसले मर्यादाको सीमा नाघ्दै गयो। मल्लको आलोचना गर्ने क्रममा पन्तले लेखे, ‘तपाईं कहाँसम्म फटाहा कुरा लेख्न पुग्नुभएको छ भने राणाहरूले खालि आफ्नो वंशगौरव बढाई चढाई आफूलाई सूर्यवंशी रजपूत सिद्ध गर्न नेपालमा विक्रमसंवत् चलाएका हुन् भनी तपाईंले त्यहाँ लेख्नुभएको रहेछ... असत्य कुराको प्रचार गरी आफ्नो दूनो सोझ्याउनेहरूलाई संशोधन–मण्डलको कामबाट केही असजिलो पर्न गए झैं तपाईंलाई पनि हाम्रो कामबाट केही अप्ठ्यारो जरुर परेको छ।’ (महेशराज पन्त, के श्री ५ पृथ्वीनारायण शाहको उपदेश संशोधन–मण्डलको विद्वताको अनुपयुक्त नमूना हो त ? , पूर्णिमा १५(२), २०४०, पृ. १९, २५)।

अमर्यादित भाषासहित बहसमा ओर्लिने सवालमा मल्ल पनि कम थिएनन्। एउटा सन्दर्भमा उनले लेखेका थिए, ‘यदि नयराज र उहाँका शिक्षा–दीक्षा र अभिषेक प्राप्त बचेखुचेका तथाकथित ‘स्नातक’ चेलाहरू यो ठान्छन् कि लिच्छविकालीन इतिहास भनेको उहाँहरूको व्यक्तिगत वा परिवारिक विर्ता हो र उहाँले ६० वर्ष अगाडि गरेको ‘खोज’को आधारमा गरेको मुर्खतापूर्ण निर्णय आजपनि ब्रह्मवाक्य झैं सम्पूर्ण नेपाली बौद्धिकहरूलाई मान्य हुनुपर्छ भन्ने ठान्नुहुन्छ भने उहाँहरूको स्थान या त चिडियाखानामा सुरक्षित गर्नुपर्‍यो या म्युजियममा।’ (नेपालका इतिहास–संशोधकहरूको उत्थान र पतन, पृ. ५)। संशोधन मण्डलबाट दिक्षित अर्का विद्वान् ज्ञानमणि नेपाललाई मल्लले ‘एउटा फुटनोट लेख्न पनि नजान्ने’ र ‘भोजपुरको गोगने पाठशालाबाट ‘मध्यमासम्म पढेपछि ठूला पण्डित ठहरिने’ पृष्ठभूमिबाट मध्यकौमुदी सिध्याएर धुरन्धर विद्वान् बन्ने प्रबल आकांक्षा’ बोकेको व्यक्ति भनी हियाएका थिए (उही, पृ. २१)।

मल्ल र संशोधन मण्डलबीच यस्तो खालको बहस चलेकोबारे चर्चा गर्दै गर्दा मल्लको भाषा प्रतिक्रियात्मक थियो भन्ने यथार्थ बिर्सनु हुँदैन। यसको श्रीगणेश संशोधन मण्डलबाट भएको थियो। गल्ती लेख्ने विद्वान्हरूविरुद्ध संशोधन मण्डलले प्रयोग गर्ने भाषा बिझाउने खालको रूखो हुन्छ। आलोचनाको उसको शैली अत्यन्तै आक्रामक छ। यस्तो शैलीले मल्ललाई पनि आक्रामक बनायो र मर्यादाको सीमा नाघेर बहसमा उत्रन प्रेरित गर्‍यो।

आलोचनाको यस्तो शैलीको औचित्यबारे महेशराज पन्तले लेखेका छन्, ‘तिनमा (आलोचनामा) प्रयुक्त भाषाले समीक्षा भइरहेको सामग्रीका सर्जकलाई अक्सर आफू अपमानित भएको महसुस हुन्थ्यो र आममानिसलाई चाहिँ यो सनसनी मच्चाउने उद्देश्यले गरिएको काम होजस्तो लाग्थ्यो। तर कसैलाई अपमानित गर्न अथवा सनसनी मच्चाउन त्यसो गरिएको थिएन। (हाम्रो यस्तो शैली) आलोचना गर्ने भारतीय परम्पराबाट प्रभावित थियो, जसबारे (नेपालको) विद्वत्जगत् परिचित थिएन।’ (महेशराज पन्त, द अप्स एन्ड डाउन्स अफ एन इन्टलेक्चुअल पस्र्युइट : टुवार्डस् अ हिस्ट्री अफ द हिस्टोरिकल जर्नल पूर्णिमा, युरोपियन बुलेटिन अफ हिमालयन रिसर्च ११, सन् १९९६, पृ. ३१)।

०००

कमलप्रकाश मल्ललाई पछिसम्मै चिनाइरहने प्राज्ञिक काममा उनका प्रस्तावना मात्र पर्दैनन्। थुप्रै हस्तक्षेपकारी लेखरचना तयार गरेर उनले इतिहास/संस्कृति अध्ययनका क्षेत्रमा हलचल ल्याएका छन्।

संशोधन मण्डलका गुरु नयराज पन्तले लेखेको मदन पुरस्कार प्राप्त किताब ‘लिच्छविसंवत्को निर्णय’ वास्तवमा ‘लिच्छविसंवत्को अनिर्णय’ शीर्षकमा निस्किनुपथ्र्यो भनेर उनले ठूलो प्रश्न तेस्र्याएका छन् (कमलप्रकाश मल्ल, मानदेव संवत् : एन इन्भेस्टिगेसन इन्टु अ हिस्टोरिकल फ्रड, कन्ट्रिब्युसन टु नेपलिज स्टडिज २३(१), सन् २००५, पृ. १–४९)। मल्लप्रति सद्भाव राख्ने संशोधन मण्डलबाट दिक्षित गौतमवज्र वज्राचार्यले पछिल्लो समय गरेको अनुसन्धानले लिच्छविकालमा प्रचलित मानदेव संवत्बारे मल्लको नभई नयराजकै निष्कर्ष ठीक हुनसक्नेतर्फ संकेत गरेको छ। भोलिका दिनमा यस विवादको निक्र्योल भयो र मल्ल गलत साबित भए भने (जसको सम्भावना प्रबल छ) पनि यस विषयमा उनले गरेको सघन खोजले उनको प्राज्ञिक उचाइलाई किञ्चित कम हुन दिनेछैन।

०००

मल्लको सबैभन्दा ठूलो प्राज्ञिक कर्म मूलतः दुईवटा छन्। पहिलो हो, ‘द गोपालराज वंशावली’को अंग्रेजी अनुवाद र यसको परिचय लेखन्। भ्रष्ट संस्कृत र नेवार भाषामा लेखिएको गोपालराज वंशावलीलाई मूल ग्रन्थबाट उतारी नेपालीमा यसलाई रूपान्तरण गर्ने कामचाहिँ संशोधन मण्डलबाट दीक्षित गुरु नयराजका चेला धनवज्र वज्राचार्यले गरेका थिए। यसलाई अंग्रेजीमा उल्था गर्ने, यसको परिचय लेख्ने र यसलाई प्राज्ञिक स्तर दिलाउने काम मल्लले गरेका थिए (धनवज्र वज्राचार्य र केपी मल्ल, द गोपालराजवंशावली, सन् १९८४, परिचय खण्ड)। मल्लको दोस्रो मुख्य काम हो, ‘अ डिक्सनरी अफ क्लासिकल नेवारी’को सम्पादन। डा. महेशराज पन्तबाट उनका यी कामको चर्को आलोचना नभएको होइन (उदाहरणका लागि हेर्नुस्, महेशराज पन्त, अन रिडिङ द गोपालराजवंशावली, आदर्श : अ सप्लिेमेन्ट टु पूर्णिमा १, सन् २००२, पृ. १७–७६)। तर, कुनै पनि प्राज्ञिक कर्म आलोचनाभन्दा माथि हुँदैनन् भन्ने तथ्यलाई ध्यानमा राख्दा यी दुई कामबाट मल्ल चिरञ्जीवी भइरहनेछन् भन्नेमा दुईमत छैन। स्वयं पन्तले मल्ललाई ‘नेपाली मसीजीवीमा ठूलो ठाउँ ओगटेका’ व्यक्ति भनी स्वीकार गरेकाले (महेशराज पन्त, कमलप्रकाश मल्लको साहित्यदेखि संस्कृतिसम्म, राजधानी, १५ फागुन २०७१, पृ. ७) मल्ल आफ्नो युगका सबैभन्दा अग्ला मसीजीवीमध्येमा पर्थे भनी स्वीकार गर्न अरूलाई गाह्रो हुने ठाउँ छैन।

०००

प्राज्ञका रूपमा मल्लका केही सीमा नभएका होइनन्। संस्कृत भाषामा पकड नभएकाले प्राचीनकाल र मध्यकालको इतिहास अध्ययन गर्दा मूल स्रोत केलाउन उनलाई अप्ठेरो पथ्र्यो। संस्कृत भाषाको ज्ञान नभएकाले इपीग्राफी र आइकोनोग्राफीसम्बन्धी कलामा पनि उनी सिद्धहस्त हुन सकेनन्। त्यसैले ‘द गोपालराजवंशावली’ तयार गर्न उनले धनवज्रलाई अघि लगाउनु परेको थियो। यी तीन विधाका अतिरिक्त मध्यकालका नेवारी लेखोट ‘डिसाइफर’ गर्ने सवालमा पनि मल्लको तुलनामा उनका रिपु महेशराज सिपालु थिए/छन्।

मल्लका रचनामा केही रचनामा उनको समाजिकीकरणको प्रभाव झल्किएको पाइन्छ। उदाहरणका ‘फ्रम लिटरेचर टु कल्चर’ किताबमा संगृहीत उनको लेख ‘द अकुपेसन अफ काठमाडौं भ्याली एन्ड इट्स फलआउट’लाई लिन सकिन्छ। यसमा काठमाडौंबाहिरका मानिसलाई यहाँका नेवारले कोठा भाडामा दिन नहुने कुरा सुझाइएको छ। काठमाडौंका रैथानेहरूको कोणबाट हेर्दा मल्लको चिन्ता जायज ठहर्छ। यस्तो चिन्ता आफ्ना सिर्जनामा अभिव्यक्त हुनु एक्टिभिस्टका लागि उपयुक्त पनि हुन्छ। तर मल्लजस्ता ठूला प्राज्ञको हकमा यसलाई कमजोरी मान्नुपर्छ।

मल्लले नेपाली इतिहास–संस्कृतिको विषद् अनुसन्धानमार्फत नेपाल अध्ययनमा पुर्‍याएको टेवाले उनलाई सदैव स्मरणीय बनाइराख्नेछ। उनीप्रति हार्दिक नमन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.