ब्युरोक्रेसीले थलिएको ताजमहल
सीमित समयमा बनिसक्ने परियोजनाहरू केही नेता-कर्मचारीको व्यक्तिगत लाभका कारण कसरी वर्षौंवर्षसम्म पनि पूरा हुन सकिरहेका छैनन् ? समग्रमा परियोजनाको टेन्डरहरू कसरी प्रभावित बनिरहेको छ भन्ने सन्देश छ।
मुगल सम्राट् शाहजहाँले स्वर्गीय पत्नी मुमताजको सम्झनामा ताजमहल निर्माण गरे। उत्तर प्रदेशको अगरास्थित यमुना नदीकिनारमा सम्राट् शाहजहाँले १७औं शताब्दीमा विशाल संरचना बनाए। जसलाई पूर्णरूपमा तयार गर्न २२ वर्ष लागेको थियो।
शाहजहाँले २१औं शताब्दीमा निर्माण गरेको भएचाहिँ कति समय लाग्थ्यो होला ? जसरी १७औं शताब्दीमा उनले विश्वकै उत्कृष्ट कलाकौशलले ताजमहलको सिंगार गरे, २१औं शताब्दीमा उनले त्यसैगरी आफूले खोजेकोजस्तै स्मारक बनाउन सक्थे ? यिनै प्रश्नहरूमा केन्द्रित छ, भारतको नेसनल स्कुल अफ ड्रामाका निर्देशक चित्तरञ्जन त्रिपाठीद्वारा निर्देशित नाटक ‘ताजमहलका टेन्डर’। यो नाटकले गणतन्त्र स्थापनापछिका शासन सत्ता, नेता, कर्मचारी र समाजमाथि ठूलो व्यंग्य गरेको छ। भारतीय शासन सत्तालाई मात्र होइन, नाटकका प्रत्येक प्लट र डायलग प्रजातन्त्र, बहुदल र गणतान्त्रिक भइसकेको नेपालको शासन सत्तासँग पनि ठ्याक्कै मेल खान्छ।

नाटकको सुरुआत संगीतबाट हुन्छ, जहाँ गणतन्त्रपछि सुरु भएको शासन सत्ता र ब्युरोक्रेसीले विकास निर्माणको कामलाई कसरी थिचोमिथोमा परेको छ भन्ने दर्शाउँछ। गीतले नै पूरा नाटकको ‘थिम’ बोकेको छ। नाटकका बादशाह शाहजहाँले एक दिन दरबारियाहरूलाई बोलाएर स्वर्गीय पत्नी मुमताजको सम्झनामा स्मारक बनाउने प्रस्ताव गर्छन्। जसको नाम ‘ताजमहल’ दिइन्छ। ताजमहल निर्माणको जिम्मा सरकारी निर्माण विभागका मुख्य इन्जिनियर गुप्ताजीलाई सुम्पिइन्छ। त्यहीँबाट सुरु हुन्छ, जालझेल र विभिन्न तानाबाना। सरकारी घोटालाका ‘विज्ञ’को रूपमा दर्शाइएको गुप्ताजीले सारा कर्मचारीतन्त्रलाई नै भ्रष्ट बनाउँछन्।

उनले ‘ताजमहल’ परियोजना सुरु गर्नुअघि त्यसलाई बनाउनका निम्ति छुट्टै कार्यालय (कर्पोरेसन) खोल्न लगाउँछन्। करोडौं घुस दिने ठेकेदारलाई ठेक्का दिन्छन्, बीचबीचमा देखा पर्ने नेता, समाजका अगुवा र आन्दोलनका अभियन्ताहरूलाई प्रलोभनमा पार्छन्। नेता–अभियन्ताहरूलाई पनि ‘कथित’ समाजका अगुवाको रूपमा चित्रण गरिएको छ। उनीहरूले जनताका समस्याभन्दा पनि व्यक्तिगत लाभमा बढी रुचिकर देखिन्छन्।
आठ वर्ष बितिसक्दा पनि ताजमहलको प्रगति शून्य देखेपछि गुप्ताजीको रवैयाप्रति शाहजहाँ दिक्क हुन्छन्। पटक–पटक दरबारमा बोलाएर गुप्ताजीसँग उनले सोधीखोजी गर्छन्। प्रत्येक पटक विभिन्न तानाबाना बुनेर गुप्ताजीले शाहजहाँलाई फकाउँछन्, मनाउँछन्। प्रत्येक पटक शाहजहाँ निरीह बन्छन्। राजकाज आफ्नै हातमा भए पनि शाहजहाँलाई ‘निरीह पात्र’को रूपमा उभ्याइएको छ। गुप्ताजीले पनि उनलाई संवैधानिक कानुन, जनता र समाजको डर देखाइरहन्छन्। उनले शाहजहाँलाई ‘कठपुतली’जस्तै नचाउँछन्। आफ्नो अन्तिम इच्छा पनि पूरा नभइरहँदा शाहजहाँ शारीरिक र मानसिकरूपमै गलिसकेका हुन्छन्। त्यसबेला बज्ने संगीत पनि मर्मस्पर्शी छ। ‘मन्जिले दूर है, फासले बहुत है’ बोलको गीतले साँच्चै शाहजहाँको निरीहता र कमजोरीलाई दर्शाउँछ।

शाहजहाँ कमजोर बनिरहँदा कर्मचारी, ठेकेदार र बिचौलियाहरू भने खुसी हुन्छन्। ताजमहल बनाउने प्रक्रिया लम्ब्याउन गुप्ताजीले परियोजनालाई नै ‘पब्लिक कम्पनी’ बनाइदिन्छन्। जनतामा सेयर बाँडफाँड गरेर उनले स्टक एक्सेन्जलाई पनि आफ्नो नियन्त्रणमा राख्छन्। यी सबै चिज भइरहँदा गुप्ताजीले ठाउँठाउँमा आफ्नो बंगला जोड्छन्। भ्रष्ट गुप्ताजीले नेपालमा पनि ‘फाइभ स्टार’ होटल खडा गरेको प्रसंग नाटकमा छ। एउटा नेताले आफ्नो जमिन खरिद गरेबापत काठमाडौंमा फ्ल्याट किनिदिने प्रलोभन दिएको प्रसंग पनि दर्शाइएको छ।
आठ वर्ष बितिसक्दा पनि ताजमहलको प्रगति शून्य देखेपछि गुप्ताजीको रवैयाप्रति शाहजहाँ दिक्क हुन्छन्। पटक–पटक दरबारमा बोलाएर गुप्ताजीसँग उनले सोधीखोजी गर्छन्। प्रत्येक पटक विभिन्न तानाबाना बुनेर गुप्ताजीले शाहजहाँलाई फकाउँछन्, मनाउँछन्। त्यति नै पटक शाहजहाँ पनि निरीह बन्छन्।
ताजमहल निर्माण त टाढाको कुरा, यस परियोजनाको टेन्डर स्वीकृत हुन नै २५ वर्षको समय लाग्छ। गुप्ताजी उक्त ‘शुभ समाचार’ सुनाउन दरबार पुग्दा शाहजाँले प्राण त्यागिसकेका हुन्छन्। १७औं शताब्दीमा ताजमहल बनाएर विश्वकै ध्यान आकृष्ट गरे पनि २१औं शताब्दीका शाहजहाँले प्रिय पत्नी मुमताज महलका लागि आफ्नो इच्छा पनि पूरा गर्न सक्दैनन्। वर्तमान अवस्थामा सत्ता शासन र ब्युरोक्रेसीले विकास निर्माणको कामलाई कसरी प्रभावित बनाइरहेको छ, सीमित समयमा बनिसक्ने परियोजनाहरू केही नेता÷कर्मचारीको व्यक्तिगत लाभका कारण कसरी वर्षौंवर्षसम्म पनि पूरा हुन सकिरहेका छैनन् ? समग्रमा परियोजनाको टेन्डरहरू कसरी प्रभावित बनिरहेको छ भन्ने सन्देश नाटकले दिएको छ। नाटकको अन्त्यमा एउटा संवाद पनि राखिएको छ, ‘शाहजहाँ जस्ता मान्छेहरू आउँछन्, जान्छन्। तर, ब्युरोक्रेसीमा गुप्ताजीजस्ता अधिकारीहरू सधैं रहिरहन्छन्।’ नाटकका पात्रहरूले प्रत्येक प्लटलाई न्याय गरेका छन्। चाहे त्यो गुप्ताजीका सहायक सुधीर होस् या शाहजहाँका दरबारियाहरू। नाटकको संवाद र संगीत उत्कृष्ट छ। प्रत्येक प्लटलाई लाइटिङले पनि न्याय गरेको छ।

नाटकमा दर्शाइएको प्रवृत्ति नेपालमा पनि मौलाउँदो छ। यहाँका परियोजनाहरू पनि यसैगरी विभिन्न बहानामा पछि पारिएका छन्। नेता र कर्मचारीतन्त्र हाबी हुँदा नेपालका गौरवका योजनाहरू अलपत्र अवस्थामा छन्। पटक–पटक समय थपिँदा पनि विभिन्न सडक सञ्जाल, हाइड्रो, प्रसारण लाइन, रंगशाला, भवन, पुलहरू अलपत्र छन्। ताजमहलका टेन्डरमा जस्तै नेपालमा पनि सीमित व्यक्तिको स्वार्थमा परियोजनाहरू रुमल्लिरहेका छन्।
यस नाटकलाई अजय शुक्लाले लेखेका छन्। उनले भारतीय रेल्वे सेवामा वरिष्ठ अधिकारीको रूपमा कामसमेत गरेका छन्। त्यसबेला उनले एउटा परियोजनाको ढिलासुस्ती देखेर साथीभाइलाई भन्ने गरेका थिए, ‘यदि शाहजहाँ आज जिउँदै भएको भए, आफ्नो जीवनकालमा उनले ताजमहल बनाउन सक्ने थिएनन्।’ आफ्नो यही भनाइलाई उनले पछि नाटकमा रूपान्तरण गरे। जसको नाम ‘ताजमहलका टेन्डर’ राखे। यही नाटकमार्फत उनले सन् १९९९ मा साहित्य कला परिषद् दिल्लीबाट ‘मोहन राकेश सम्मान’ पाए।
यो नाटकले कर्मचारीतन्त्र, फाइल सिस्टम र अफिसियलडमप्रति कडा व्यंग्य गरेको निर्देशक त्रिपाठी बताउँछन्। ‘यो नाटक ती संगठनात्मक बिरामीहरूमा केन्द्रित छ, जसबाट भारतवर्ष नराम्रोसँग पीडित छ। जस्तै भ्रष्टाचार, कामचोर, परिवारवाद, अहंकार र जनताका आवश्यकताप्रतिको संवेदनहीनता’ निर्देशक त्रिपाठी भन्छन्।

000
यसबीच, काठमाडौंको जमलमा ६ दिन चलेको नेपाल–भारत रङ महोत्सव बुधबार ‘ताजमहलका टेन्डर’ नाटक मञ्चनसँगैै सकिएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र भारतको राष्ट्रिय नाट्य विद्यालयसँगको सहकार्यमा गत माघ २३ गतेबाट सुरु भएको नेपाल–भारत रङ महोत्सव ६ दिन चलेको थियो। उद्घाटन सत्रमा सुनील पोखरेलको निर्देशन रहेको ‘...गच्छामि’ नाटक प्रदर्शन गरिएको थियो। यो नाटकले शाक्यमुनि सिद्धार्थ गौतमको यात्रालाई चित्रण गरेको छ, जसले ज्ञानको खोजीमा सांसारिक जीवन त्यागेका थिए। ‘यो नाटक हाम्रो अज्ञानको परिणाम हो। यसको मूल लेखक एउटै छैन। बुद्धसम्बन्धी विभिन्न पुस्तक नाटकका आधार हुन्’ निर्देशक पोखरेल भन्छन्।
दोस्रो दिन दिया मास्के निर्देशित ‘कथा कस्तुरी’ प्रदर्शन गरियो। यो नाटकले नेपाली लोककथा र परम्पराहरूमा यसको भूमिकाको अन्वेषण गर्नुका साथै मानिसले आफ्नो दैनिक जीवनमा सामना गर्ने चुनौतीबारे देखाउन खोजिएको छ।
तेस्रो दिन नम्रता केसी निर्देशित ‘जून परीकथा मात्र होइन’ प्रदर्शन गरियो। ‘यो नृत्य नाटिका चाहना र प्रेमको प्रतिफल हो। जहाँ हामी समकालीन कथा कथनको परम्परा र महिला पात्रहरूप्रतिको हाम्रो धारणालाई समृद्ध बनाउँछ,’ केसीले भनेकी छन्। त्यस्तै चौथो दिन भारतीय नाटक ‘माई रिमैं का से कहुँ’ प्रदर्शन भयो। जसलाई अजय कुमारले निर्देशन गरेका छन्। यो नाटकमा एउटी महिलाको इच्छा, उसका भावनाहरू र सामाजिक मर्यादाबीचको द्वन्द्व देखाइएको छ।
त्यस्तै, पाँचौं दिन राजेश सिंह निर्देशित भारतीय नाटक बाबुजी प्रदर्शन गरियो। ‘यो नाटकले समाजका ती हरेक व्यक्तिको प्रतिनिधित्व गर्छ, जो स्वतन्त्र भएर आफ्नो सर्तमा बाँच्न चाहन्छन्। यो नाटकले सामाजिक र पारिवारिक जिम्मेवारीलाई पनि बचाइराख्न चाहन्छ,’ नाटकबारे निर्देशक सिंह भन्छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नाटक महोत्सवले दुई देशको कला क्षेत्रको प्रवद्र्धन भएको बताए। समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल र भारतबीच सदियौंदेखि कला–संस्कृति क्षेत्रमा सम्बन्ध रहँदै आएको बताए।
त्यस्तै, प्रतिष्ठानकी कुलपति निशा शर्माले यसरी सहकार्यमा महोत्सव गर्दा कला संस्कृति आदानप्रदान हुने बताइन्। उनले भनिन्, ‘नेपाल–भारत रङ महोत्सवलाई एकअर्कासँग सिक्ने अवसरका रूपमा हेरिएको छ, एकअर्काको नाटक हेरेर त्यसबाट नयाँ सीप र कला सिक्न सकिन्छ, त्यो अवसर जुरेको छ।’
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पहिलो पटक आयोजना भएको नेपाल–भारत रङ महोत्सवले दुई देशको सम्बन्धलाई गहिरो र प्रगाढ बनाएको बताए। यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए।
राष्ट्रिय नाट्य विद्यालयका सचिव प्रदीपकुमार महन्थीले सन् १९९९ देखि भारतव्यापी आयोजना हुँदै आएको महोत्सवको २६औं संस्करणदेखि नेपाल र श्रीलंकामा समेत विस्तार गरेर अन्तर्राष्ट्रियकरण गरिएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस !