समाजवाद : अ मिथ अफ सिसिफस
वैश्विक धरातलमा समाजवादी अभ्यासको सीमा अनन्त छ। समाजवादी अनन्तताका स्वरूपहरूलाई खासगरी दुई हिसाबले विश्लेषण गर्न सकिन्छ, राष्ट्रियता र अर्थ–योजनाका रूपमा। भारतीय प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले ६ डिसेम्बर, १९५० को लोकसभामा भनेका थिए, ‘आफ्नो देशका सुरक्षाका सवालमा हामी आफैं सक्षम छौं। अनि नेपालका हिमालयहरूले हाम्रो देशका लागि गतिलो सिमानाका रूपमा काम गरेका छन्। जुन हाम्रा लागि गर्वको कुरा हो।’
नेहरूको यस वाक्यमा कूटनीतिक दूरदर्शिता साथै राष्ट्रियताको छनक पाइन्छ। नेहरूको व्यक्तिगत विशेषताहरू पनि समाजवादी दृष्टिकोणको पेरिफेरीमा रहेको महसुस गर्न पाइन्छ, जसको थोरै प्रतिबिम्ब बीपी कोइरालाको लेखनमा पाइन्छ। अर्का भारतीय प्रधानमन्त्री आईके गुजरालको गुजराल डक्ट्रिनले भला समाजवादी पदचाप बोकेको पाइन्न। तैपनि यसको नेपाल नीति नेपाली योजना, आपसी सहयोग, सद्भाव र अर्थमैत्री थियो। जुन कुरा भेषबहादुर थापाको हालसालै प्रकाशित पुस्तक ‘राष्ट्र–परराष्ट्र’मा महसुस गर्न पाइन्छ।
यसर्थ, भूतकालीन समाजवादमा यथाशीलता र वर्तमानकालीन समाजवादमा गतिशीलताको चरम अभ्यास हुने तथ्य यकिन हुने कुरा माथिका दुई तथ्यले दिशाबोध गर्छन्। सामाजिक चेतसहितको अग्रगमन देशको निरूपाय विकल्प हो। शक्तिशीलतामा आधारित समाज विज्ञानको मेलो वा समाजवाद क्षणिक छ। हिजोआज यो मेलो यो कूटनीतिमा पनि सर्वव्यापी बन्दैछ।
समाजवाद केन्द्रित राजनीतिक अभिलाषा हामीजस्तो मुलुकमा मात्र जीजिविषा रह्यो तर इच्छाशक्तिसहितको अग्रगमन गतिलो आधारशिला बन्न सक्छ, विश्वमै। जसले दिगोपनाको कडी र आधारशिला विकास गर्न सक्छ, मुलुकको दीर्घकालीन कायान्तरण, समृद्धि र रूपान्तरणका लागि। यसका लागि कुनै पनि शक्तिको तारम्यता देख्न सकिएको छैन। यसबाट लगभग के यकिन हुन्छ भने हामीसँग राम्रो राजनीतिक चेत, चेतक र चेतव्यताको अभाव नै छ।
यही मेसोमा ई.पु. ३७५ ताका प्रकाशित आफ्नो पुस्तक ‘रिपब्लिक’मा राजनीतिवारे चिन्तक प्लेटो भन्छन्, ‘राजनीतिक व्यवस्था, सो बारेका मूलभूत चिन्तन र निर्णयहरू, दिगोपनाको कडी, राजनीतिक चेतना, त्यागबारे गणतान्त्रिक राज्यमा बृहत्तर छलफल हुनु जरुरी छ।’ के यो चिन्तन र चेतको अभिभारा कुन चाहिँ राजनीतिक पार्टी र नेताले लिन सक्लान् र ?
विचारशीलता र सिद्धान्तनिष्ठता राजनीतिको पर्याय हो। जसको हिजोआज कमै अभ्यास भएको पाइन्छ। सुशासन र कानुनी राज्यमा यो मनन्योग्य छैन। बहुपक्षीय लोकतान्त्रिक सर्वसत्तावादी मुलुकमा हामी समाजवाद, राष्ट्रवाद अनि स्वतन्त्रतावादका विधिमा आधारित सिद्धान्तको एकतर्फी वकालत र पैरवी गर्दछौं। त्यो पनि क्षणिक लाभका लागि।
नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद, नेकपा (एमाले)को जबज, नेकपा (माओवादी)को प्रचण्डपथ (भनिएको तर अस्वीकृत) तथा नयाँ अनि क्षणिक राष्ट्रिय स्वतन्त्र पार्टीको उदार लोकतन्त्रवाद (नेपाली माटोवाद) आदिले के व्यवहारवादी विकासवादलाई मूर्तरूप दिन सकेका छन् त ? यिनीहरूमा केवल पपुलिज्मको धङधङ्गी मात्रको आभास हुन्छ, त्यो पनि यथास्थितिमै छलाङ मार्ने स्वरूपमा। वास्तवमै पपुलिज्म नेपालमा वाकशक्तिको पर्यायको रूपमा रह्यो, जसमा विनित, अपिल र मञ्चन त झनै शक्तिशाली भइहाले। बुझेको जमात सामाजिक सञ्जालको भित्तामा कोर्न थाल्छ, बुझ्दै गरेको जमात सञ्जाल हेर्नमै व्यस्त हुन्छ भने नबुझ्ने जमातका लगि अतिरञ्जित वाणीहरू त पपुलिज्मको झनै क्याटलिष्ट (उत्प्रेरक) हुने नै भए।
साम्यवाद दीक्षित मुलुकहरू हिजोआज समाजवादी बन्दैछन्। सोही साम्यवादले पनि फरक स्वरूपमा ग्रहण गर्दैछ, परिवर्तनका लागि। सिद्धान्तहरू तोडमोड हँुदैछन्, अनेकन नाममा जुन विश्वव्यापी रूपमा सर्वस्वीकार्य हुनुहुँदैन। सन् १९५९ मा फिडेल क्यास्ट्रोले साम्यवादको आडमा राज गरेको सर्वशक्तिसम्पन्न मुलुक क्युवा पछिल्लो समय जनमत संग्रहद्वारा सन् २०१९ मा लिखित संविधानद्वारा समाजवादी बन्नु पक्का पनि ख्याल ख्याल हैन।
आउँदो समयमा चीनलाई पनि यसै हावाले छुँदैन भनेर भन्न सकिन्न। यसै हावा प्रभावित अन्य मुलुकका रूपमा भियतनाम, लाओस रहेका छन् भने विश्वव्यापीकरणको बढ्दो माहोलले यसलाई थप प्रभाव पार्ने आकलनसमेत गर्न थालिएको छ। दोस्रो विश्वयुद्धको कारण विश्वमा निम्तिएको निर्वेशीकरणका कारण समाजवाद अझ विस्तार हुन गएको तथ्यलाई नकार्न सकिन्न। दोस्रो विश्वयुद्धको परिणामस्वरूप यस वादले अझ थप अंकुरण पायो।
नवसमाजवाद याने कि नियो सोसलिज्म अझ पनि दोबाटोमै छ। यो नवसमाजवादी धार यसबेला सक्षम साबित हुुनसक्छ, जब यसले परम्परागत समाजवादी सिद्घान्तका मूलभूत चुनौतीहरूलाई यथार्थताको धरातलमा सम्मिश्रण गरी व्यावहारिक प्रारूप दिन सक्षम हुनेछ।
के समाजवादी टोपी सबैमा फिट छ ?
हिजोआज नेपाली राजनीतिक वृत्तमा समाजवादी बहस चुलिनु स्वाभाविक हो। किन भन्दा कम विकसित र विकासशील मुलुकका लागि प्रदीप गिरिले भनेजस्तै यो समाजवादी टोपी जुन मुलुकले जसरी लगाउँदा नि हुन्छ। हो, त्यही आधारले यो टोपी व्यापक हँुदैछ। यो टोपी आजको समयमा सत्तावादी कोणबाट मनन हँुदै नेपाली राजनीतिमा सर्वस्वीकार्य भूमिकामा देखा पर्दैछ।
तैपनि नेपालका राजनीतिक दलहरू हरेकले आफूलाई पूर्ण प्रजातान्त्रिक र पारदर्शी ठान्दछन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई ठानेजस्तो। खास रूपले भन्नुपर्दा, सत्तावाद नेपाली राजनीतिक दलका परम उद्देश्य हुन्, यसै कारण पनि हरेक राजनीतिक दलका सिद्धान्त हिजोआज व्यर्थ र व्यस्त छन्, आन्तरिक पुँजी निर्माणका लागि।
नेपालको मूल कानुन संविधानमा उल्लेख भएजस्तै, सैद्धान्तिक प्रारूपमा समाजवाद पाकेको फल जस्तै परिपक्व छ भने व्यावहारिक प्रारूपमा समाजवाद बेल पाक्दा कागलाई हुने हर्ष न विस्मातको अवस्थामा छ। यसर्थ सापेक्षित रूपमा आजकल समाजवादका मूलभूत आयामहरू परिमृज्य छन्, जुन अनुकूल पनि हो।
हिजोआज समाजवादको ‘भेरियन्ट’कै रूपमा सामाजिक लोकतन्त्र भित्रिएको छ, जस्तो दहीको निखार मोहीमा उत्रिएजस्तो। यसबाट पनि के प्रस्ट के हुन्छ भने समाजवादले समयसापेक्ष परिवर्तन र नयाँ अंकुरण खोज्दै छ, त्यो पनि नयाँ संज्ञा, प्रक्रिया र प्रारूपमा। गिरिको समाजवादी टोपीको यो एक ज्वलन्त उदाहरण हुन सक्छ।
भनिन्छ, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले दोस्रो कार्यकाल यही सामाजिक परिवर्तनको मुद्दालाई उजागर र अझ सुदृढ गर्ने प्रतिबद्धतासहित राष्ट्रपतिको चुनाव जितेको मानिन्छ। जसको नारा थियो, ‘चेन्ज वी क्यान विलिभ इन’ अर्थात् परिवर्तन माथि हाम्रो विश्वास छ।
अर्को कुरा के पनि हो भने अमेरिकाले आफू्लाई विश्वको सबैभन्दा ठूलो समाजवादी राष्ट्रको रूपमा पहिचान गराउन चाहन्छ। ओबामा डेमोक्र्याट हुन र डेमोक्र्याटहरू समाजवादी धारका हुन्छन्। यसबाट के पक्का हुन्छ भने ओबामाले चाहेको परिवर्तन (चेन्ज) त समाजवादी धारको रहेछ, जुन हामीले अंगीकार गर्दा समुन्नति निकट पुग्न सकिन्छ कि !
सन् २००४ मा वाल्टर सेल्सले निर्देशन गरेको ‘दी मोटरसाइकल डायरिज’ नामको एक सिनेमा छ, जसमा चे ग्वेभाराको अर्जेन्टिना यात्राको बारेमा गतिलो चित्रण छ। यसमा जनताको समग्र जीवन परिवर्तनका लागि गरेका प्रतिबद्धता र सामाजिक जीवनका आदर्शलाई लगभग हुबहु उतार्न खोजिएको छ। त्यसमा ग्वेभाराको एउटा डाइलग छ।
ग्वेभारा भन्छन्, ‘म कुनै बेला भएको व्यक्तिजस्तो अहिले छैन, फिरन्ते अनि घुमन्ते जीवनले मेरो जीवनमा सोचेभन्दा धेरै परिवर्तन ल्याएको छ।’ युवा जमातसहितको परिवर्तनलाई अंगीकार गर्छु भन्ने एक नेपाली चर्चित दलका महामन्त्री भर्खरै मात्र निलम्बनमा परेका छन्, देश दौडाहाको प्रतिवेदन पेस गर्दा। यहाँ पंक्तिकार पनि चे र निलम्वित महामन्त्रीको सापेक्षित तुलनामा पुग्नेबारे सोचिरहेछ। सोचेभन्दा बढी परिवर्तन चाहने र जनताको राय बुझेर फर्किनेहरूलाई नेपालमा दिने प्रगतिशील पुरस्कार नै निलम्बन रहेछ। सायद माथि ग्वेभाराले सो सिनेमामा दिएको डाइलग नेपाली माटोमैत्री अलिक भएन जस्तो छ। उदार लोकतन्त्रवाद वा (नेपाली माटोवाद)को सिद्धान्तलाई अंगीकार गर्ने सो नयाँ राष्ट्रिय दलले पनि माटोको भाउ बुझेन भने कस्को आस गर्ने ?
नेपालको संविधान २०७२ मा उल्लेख भएबमोजिम नेपाल समाजवाद उन्मुख राजनीतिक आर्थिक प्रणालीमा विश्वाससहित आबद्ध भएको मुलुक हो। जसअनुसार समाजवादमा आधारित शासकीय स्वरूपका आयामका अधिकतम अभ्यास हुनेछ। मुलुकमा समाजवादी एजेन्डालाई कार्यान्वयन गर्न भनिएजस्तो सहज कहाँ छ र दलीय धु्रवीकरणको चरम लेखाजोखा हुने यस मुलुकमा।
अर्कातर्फ, के पनि विश्वास गर्न (भन्न) थालिएको छ भने नेपालजस्तो सामाजवाद उन्मुख मुलुकमा समाजवादी धारको उच्चतम प्रयोग हुन थाल्यो भने मुलुकमा नवपुँजीवादको संकट देखा पर्न सक्छ। यहाँ यो भाष्यसमेत निर्माण गरिएको छ कि समाजवादको उच्चतम बिन्दु भनेकै पुँजीवादी हो।
समाजवादी धार बंगलादेशमा पनि रहेको कुरा त्यहाँ रहेको सोसलिस्ट पार्टी अफ बंगलादेशले अंकित गर्छ। यो बंगलादेशको लेफ्ट विंघ पार्टी हो, जसले माक्र्स, लेनिन, माओ तथा स्टालिनका आदर्शलाई मूलमन्त्र मान्छ। बंगलादेश जस्तो सामान्य जातीय र धार्मिक बहुलता नभएको मुलुकमा साम्यवादी भएर पनि समाजवादी अजेन्डा बोक्नु गज्जब कुरा हो। बंगलादेशमा अशान्ति छ, प्रधानमन्त्री शेख हसिना भागेर भारत पुगिन्। सन् २०२४ को जनवरीका सम्पन्न निर्वाचनमा हसिनाको अवामी लिगले विशिष्ट बहुमत पाएको थियो। विपक्षी दलहरूले बहिष्कार गरेको निर्वाचनमा उनले विशिष्ट बहुमत पाएकी थिइन्।
संयुक्त राष्ट्र संघलगायत बेलायत, अमेरिकासमेतले यो निर्वाचन स्वच्छ र स्वतन्त्र नभएको बताएका छन् भने हसिनाको दाबी छ, निर्वाचन एकदम पारदर्शी, स्वच्छ र निष्पक्ष छ। बंगलादेशको ठूलो विपक्षी दल बंगलादेश नेसनल पार्टी (बीएनपी) की ७८ वर्षीया नेतृ बेगम खालि दाजिया जेलबाट भर्खरै मात्र रिहा भएकी छन्। सायद शेख हसिनाको बाध्यकारी भारत रवानापछि जियाको जेल जीवनको अन्त्य हुनेछ।
विपक्षी दल बंगलादेश नेसनल पार्टी (वीएनपी)लाई शेख हसिना आतंककारी संस्था भन्थिन्। बंगलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुस आन्दोलनकारी विद्यार्थीको अनुरोधमा सल्लाहकार समितिको प्रमुख बनेका छन्। वित्तीय पृष्ठभूमिबाट उदाएका युनुसले राजनीतिक बागडोर सम्हाल्न सक्लान् र ? त्यहाँका आन्दोलनकारी विद्यार्थी समूहले शेख हसिनालाई डेमोक्र्याटिक डिक्टेटर (प्रजातान्त्रिक तानशाहा)को संज्ञा दिएका छन्।
यसै मेसोमा चर्चित लेखक तसलिमा नसरिन ट्विट गर्दै भन्छिन्, ‘इस्लाम कट्टरपन्थीहरूलाई खुसी बनाउन मलाई देश निकाला गरे, तिनीहरूले नै हसिनालाई लखेटे।’ समाजवादी भानिएको मुलुकमा डेमोक्र्याटिक डिक्टेटरसिपको अतिवादी नारा लाग्दै गर्दा, अरू प्रजातन्त्रको पैरवी गर्ने मुलुकहरूमा समाजवादी प्रणालीको अभ्यास गरिएको छ भनेर कसरी भर गर्ने ?
अर्को अर्थमा, प्रजातन्त्र संस्थागत नभइसकेको बंगलादेश जस्तो मुलुकमा वास्तविक (खुद) समाजवादको कल्पना अलिक कठिन छ। पछिल्लो समय भएको बंगलादेशी आन्दोलन भनेको पूर्ण प्रजातन्त्र प्राप्तिका लागि भएको एक स्वरूप पनि हो।
दोबाटोमा नवसमाजवाद
विश्व हिजोआज नयाँनयाँ स्वरूपका समाजवादी कोणहरूको परीक्षण गर्न अभ्यस्त छ। तैपनि विश्वका समाजवादी भनेर चिनिएका मुलुकहरूले विकासका ठोस समाजवादी विकासे मोडेलहरूको स्वरूप तय गर्न नसकेको अवस्था छ।
राष्ट्रिय राजनीतिको नयाँ धार स्वरूप फ्रान्स र बेल्जियम सन् १९३० को दशकमा नवसमाजवाद भित्रिएको विश्वास गरिन्छ। जसको अन्तिम गन्तव्य पुँजीवादी राज्य व्यवस्थामा गएर अड्किएको भन्ने आभास न्युमेक्सीको विश्वविद्यालयका प्राध्यापक स्टेभेन फिलिप क्यामराको एक अनुसन्धानमूलक लेखमा भएको छनक पाइन्छ। जसमा सुधारवादी र अवसरवादीहरूको भेदलाई फरक ढंगले विश्लेषण गरेको पाइन्छ।
स्टेभेनले लेखेका छन्, सुधारवादीहरू पुँजीवादी समाजको समग्र रूपान्तरणमा विश्वास गर्छन् भने अवसरवादीहरू ठोस नतिजामा ध्यान दिई समाज रूपान्तरणकारी लक्ष्यको औचित्यबारे खासै ध्यान दिँदैनन्। लाग्छ, यसले वर्तमान नेपालको समाजवाद केन्द्रित दलहरूको भावनालाई प्रतिविम्बित गर्छ। त्यो पनि फास्ट ट्र्याकमा धनवान् बन्नेहरूका लागि। सायद माक्र्स ज्यँुदै थिए भने यस वर्गलाई द्रुत पँुजीवादी वर्गको संज्ञा दिन्थे होलान्।
विश्व हिजोआज नयाँ नयाँ स्वरूपका समाजवादी कोणहरूको परीक्षण गर्न अभ्यस्त छ। तैपनि विश्वका समाजवादी भनेर चिनिएका मुलुकहरूले विकासका ठोस समाजवादी विकासे मोडेलहरूको स्वरूप तय गर्न नसकेको अवस्था छ। खै कताबाट भन्ने अब चैं वास्तविक समाजवादी यथास्थितिवादको विकासे मोडेलको खाका तयार भयो भनेर। सायद यसै कारण पनि हुन सक्छ, नवसमाजवादले उचित बाटो ठम्याउन नसकेको अवस्था छ।
यसै कारण पनि नवसमाजवाद याने कि नियो सोसलिज्म अझ पनि दोबाटोमै छ। यो नवसमाजवादी धार यसबेला सक्षम साबित हुुन सक्छ, जब यसले परम्परागत समाजवादी सिद्घान्तका मूलभूत चुनौतीहरूलाई यथार्थताको धरातलमा सम्मिश्रण गरी व्यावहारिक प्रारूप दिन सक्षम हुनेछ। नवसमाजवाद क्लासिकल सोसलिज्म (शास्त्रीय समाजवाद) र मोडर्न सोसलिज्म (आधुनिक समाजवाद)का विचारधारा बोक्ने समूहहरू र समकालीन समाजवादको विचारधारा बोक्ने समूहहरूको सेतु बन्न सक्छ। यसका लागि विचार समूहमा घनिभूत ब्रेन स्टोर्मिङ (विचार मन्थन) आवश्यक अवयव वन्न सक्छ।
पछिल्लो कालखण्डमा विकसित यस वादमा परिष्कृतवादी अध्ययन समूहको वर्चस्व देखिन्छ। यो हुनु आवश्यक पनि छ किनकि नवीन विचारधारामा समानान्तर र आक्रामक विचारको अभ्यास हुने गर्छ। लाग्छ, वर्तमान समयका युवाको विचलनतालाई एक हदसम्म रोक्न सक्ने क्षमता यस नवसमाजवादले बोक्न सक्छ।
नवसमाजवादलाई कतै कतै पुँजीवादी विचारधाराको एक मन्द स्वरूप पनि हो भनेर भन्ने जमात पनि मञ्च विकासको आशामा रहेको भाव पनि महसुस गर्न पाइन्छ। जसको उदाहरण र पर्याय म्यासेच्युयट्स विश्वविद्यालयका प्राध्यापक डेभिड एम. कोट्जले आफ्नो पुस्तक दी राइज एन्ड फल अफ नियोलिवरल क्यापिटलिज्मबाट अभिव्यक्त गरिसकेका छन्।
यसमा उनले नियमित धारले चलेको समाजवाद तथा एक्काइसौं शताब्दीको परिकल्पित पृथक् समाजवादका चुनौतीबारे उल्लेख गरेका छन् भने पुँजीवाद र समाजवादको धारको रूपमा कसरी नवसमाजवादका आयामहरू विकसित हुँदैछन् भनेर उल्लेख समेत गरेका छन्।
समाजवादी धारको विकल्प
प्रयोगवादी समाजवादका समृद्धिजन्य आयामहरूको लेखाजोखासहितको निष्कर्ष विकासशील मुलुकहरूमा गरिनु पर्छ। किनकि समृद्धिको बाटो विवेकशील समाजवादी संयन्त्रको मिहिन र गहिरो अभ्यासद्वारा गरिएको उदाहरण बेलायत, अमेरिका, फ्रान्स, नर्वे, क्यानडाजस्ता मुलुकमा देख्न सकिन्छ।
फरक यतिमात्र हो कि सो मुलुकको शासकीय स्वरूपमा समाजवादलाई त्यहाँका राजनेताहरूले कसरी उपयोग गरे भन्ने मात्र हो। हैन भने सीमित साधन र स्रोतमा भर परेको सिंगापुरले कसरी समृद्धिको यात्रा तय गर्न सक्यो त ? राजनीतिक र अर्थ सामाजिक पर्यायको प्रयोग समाजवादमा कसरी उपयोगसिद्ध हुन सक्छ ? यिनको उपयोगमा अनुभवीलाई भन्दा पनि अब्बललाई कसरी दर्जा दिने ? यस्ता कुराले अझ ठाउँ पाउनु जरुरी छ।
प्रख्यात अमेरिकी समाजशास्त्री टाल्कट पार्सनले प्रकार्यवादी सिद्धान्तको जगमा उल्लेख गरे जस्तै समाजवादजन्य उपयोगका सिद्धान्तहरूलाई क्रम, स्थायित्व र सहकारिताका आधारमा यथास्थानमा राख्ने कि चलायमान गराउने भन्ने विषयवस्तुको बोध विकास गराउने जिम्मा मुलुकलाई दिँदा समाज स्वयं दिगो र स्थिर हन्छ।
जुन कोणले जसरी मनन गर्दा पनि लचकदार यस समाजवादी धारका विविध सिराको विकास हुनु स्वाभाविक हो। समाजवादी लचकतालाई नेपाली यन्ताहरूले विश्वव्यापी विकासे मोडेलसँग जोड्न नसक्नु देशकै ठूलो विडम्बना हो।
यसर्थ समाजवादका आयामहरू परिमृज्य भएर नै यसको प्रभाव तपतप चुहिने (ट्रिकल डाउन) हुने भय अनि सम्भावना उत्तिकै छ। यसका लागि कि त बृहत् शैक्षिक उन्नयनमा जोड दिनुप¥यो कि भने मानवीय कार्यबलमा जोड दिन सक्नुपर्छ।
निष्कर्ष
समाजवादी बल अनि आडमा समग्र देश अनि विश्वको कायान्तरण सम्भव छ भन्ने कुरा मिथ अफ सिसिफसमा अल्वेयर क्यामुको शब्द बेतुक (एब्सर्ड)सँग मेल खान्छ। क्यामुले यहाँ बेतुकको मानव अस्तित्व माथि समाजवादी प्रहार गरेका छन्। तर फरक यति मात्र हो कि क्यामुले यहाँ बेतुकी मानव सामूहिकतावादलाई जोड दिएको देखिन्छ भने विकासे समाजवादीहरूले सामूहिक संघर्ष र समानताद्वारा निम्त्याउने आयामलाई अंकित गरेका छन्।
सिरानमै उल्लेख गरिएजस्तै समाजवादी दर्शन हार्ड कि सफ्ट रूपमा समाज विकासमा फिट छ ? कुन आधारशिलाले यसलाई अझ उजागर गर्छ ? यो मनन् गरिनुपर्ने कुरा हो। अर्को सफ्ट उत्प्रेरकको रूपमा देखाप¥यो, मायावी यथार्थ वा म्याजिकल रियालिटी। मायावी यथार्थको गतिशीलताको तेजोवृद्धिपश्चात् समाजवादी कोण खुकुलिन र विविधीकरण हुन थाल्यो, विश्वव्यापीकरणको आडमा।
मायावी यथार्थलाई समुह (मास)ले वास्तविकता झैं अंगीकार गर्न थाल्यो। फलस्वरूप यथार्थवादी समाजवादको विकास हुन पुग्यो। विश्वका एकथरी शक्तिले यथार्थवादी समाजवादलाई मजदुर वर्गको अभीष्ट उन्नतिको आधारशिलाको रूपमा लिने गरेको पाइन्छ। यसैकारण पनि हिजोआज समाजवादलाई सफ्टपावरको रूपमा विकास गर्ने कोसिस गरिँदै छ।
समाजवादी विचार, दर्शन र वादका कुरा गर्दा कार्ल माक्र्सको नाम स्वाभावतः आइहाल्छ। यसबारे थप चर्चा सन् २०११ मा बेलायती दार्शनिक तथा लेखक टेरी इगल्टनले लेखेको पुस्तक ‘ह्वाई माक्र्स वाज राइट’ मा भएको पाइन्छ, जहाँ इगल्टनले माक्र्सद्वारा कल्पनाकृत साम्यवादी प्रजातन्त्र र माक्र्सवादी आइडोलोजीअनुसार पुँजीवादको विकास र सामाजिक वर्गको स्थानान्तरणका बारेमा लेखेका छन्। यसमा इगल्टनले माक्र्सका समकालीन असमानता, असमान सामाजिक स्थानान्तरण, वर्ग संघर्ष, आर्थिक संकटलाई कठोरभन्दा पनि समाजवादी संयन्त्रको प्रयत्नद्वारा आवश्यकताका अनुरूप लचिलो बनाउन सकिन्छ भन्ने कुरामा जोड दिएका छन्। जुन हिजोआज विश्वव्यापीकरण पश्चात् झन्झन् लोकप्रिय बन्दैछ।
जुन कोणले जसरी मनन् गर्दा पनि लचकदार यस समाजवादी धारका विविध सिराको विकास हुनु स्वाभाविक हो। समाजवादी लचकतालाई नेपाली यन्ताहरूले विश्वव्यापी विकासे मोडेलसँग जोड्न नसक्नु देशकै ठूलो विडम्बना हो। जुन वाद बोक्ने दलहरू पनि विकासमा यथास्थितिवादमै रमाउने हुन्, चाहे ती नयाँ हुन् या पुराना।
खास रूपमा भन्नैपर्दा, विकासका लागि नेपाली जनताले वादको मुख ताकेको पाइन्न। संविधानमा लिपिबद्घ भएको समाजवादको आडमा विकासे फोहरा छुटाउन सकियो भनेमात्र यस वाद र संविधानको सार्थकता रहन्छ। यसै कारण पनि प्रजातन्त्रका माध्यमबाट हुने विकासे मूल प्रवाहीकरणमा राज्यशक्तिको अडिग पहिचान हालको आवश्यकता हो।
प्रतिक्रिया दिनुहोस !