आमा
आमा...
तिमी खुसी छौ
हैन र ?
तिमीले चाहेको
व्यवस्था आएको छ।
आमा !
हुन त तिमी ७ सालमा
आफ्नो पति गुमाउँदा पनि
आँसु पिएर बालबच्चाको
भविष्य उज्ज्वल हुने कल्पनामा
कालो युगको
अन्त्य हुने खुसीले
मौन भयौं रे !
तर,
तिम्रा पतिलाई
रुखमा झुन्ड्याएपछि
आएको प्रजातन्त्रलाई पनि
त बीचमै खोसियो
हैन र ?
आमा !
सुनेको थिएँ
प्रजातन्त्र पुन प्राप्तिका लागि
आन्दोलनको नेतृत्व गर्दा
देशविद्रोहीको संज्ञासँगै
तिम्रो जेठो पनि
सहिद भयो रे !
त्यसमा पनि तिमी,
छोराले देशका लागि
बलिदान दियो भनेर
आँसु समेत बगाइनौ रे !
तर,
तिम्रोे जेठोले बलिदान
गरेर पुनस्र्थापना गरेको
प्रजातन्त्रले पनि
जनताको हकमा
शासन गर्ने व्यवस्थाको
रूप लिन सकेन नि
हैन र ?
आमा !
जनयुद्धको क्रममा
तिम्रो माहिलो पनि
मारियो भन्ने अस्पष्ट
खबर सुनेको थिएँ।
हो र ?
त्यसमा पनि तिमी
एउटी बेसहारा आमा
तर पनि हजारौं आमाले
सहारा पाउने,
देशमा दिगो शान्ति
स्थापना हुने
सबै वर्गको उत्थान
हुने आशामा
मौन भयौ रे !
तर,
तिम्रो माहिलोले
दिगो शान्तिका लागि
बलिदान दिए पनि
देशमा हत्याहिंसाको
शृंखला त अझै पनि
रोकिएन नि
हैन र ?
आमा !
म त विश्वासै गर्न सक्दिनँ
तिम्रो कान्छो पनि
निरंकुश शाहीसत्ता विरोधी
दोस्रो जनआन्दोलनमा
गणतन्त्र स्थापनाका लागि
क्रूर शासकको गोली
छातीमा थापेर
सहिद भयो रे !
त्यसमा त तिमी
अब यो व्यवस्थाले पक्कै
हाम्रो पक्षमा न्याय गर्छ
भनेर पति र सबै
छोराहरू गुमाउँदा
पनि मौन भयौ रे !
तर, आमा तिमीले
सोचेजस्तो र
युगले खोजेजस्तो
यो व्यवस्थाले पनि
जनताको हकमा
न्याय गर्न नसकेपछि अचेल
तिमीलाई कस्तो लागिरहेको होला...?
प्रतिक्रिया दिनुहोस !